संस्मरण

सम्झनामा ठूल्दाई

ठूल्दाइः कहाँ छस् ?
मः अफिसमा ।
ठूल्दाइः ज्वालाबाट फोन आको थियो ?
मः कहिले ?
ठूल्दाइः हिजो–आज ?
मः छैन त ।
ठूल्दाइः मलाइ फोन आ‘को थियो, कति पैसा छ त्यहाँ
तिर्नुपर्ने ? तेरो र मेरो नाममा दुईवटा खाता छ कि ? हिसाब दुई ठाउँमा छ कि हेर्नु ।
मः हुन्छ म हेरौला । मैले दुई पटक पैसा दिएको छु, अब फेरि पैसा भयो भने दिन्छु ।
ठूल्दाइः ल ल हिसाब दुई ठाउँमा परेको छ कि एउटैमा छ राम्रोसँग हेर्नु ।
मः हुन्छ 

मेरो ठूल्दाइ रामबहादुर बिसी र म बीच वि.सं. २०७६ माघ २ गते बेलुका करिब ७ बजे आसपासमा भएको यो नै अन्तिम संवाद हो । यो केवल संवाद मात्र थिएन, यो त ठूल्दाजुले भाइमाथि गर्नुभएको माया, प्रेम, रेखदेख अनि जिम्मेवारी पनि थियो ।

तर विडम्बना उक्त संवाद भएको भोलिपल्ट माघ ३ गतेको बिहानीसँगै ठूल्दाइले कहिल्यै कुरा नगर्ने गरी र कहिल्यै माया, प्रेम र आत्मीयता नसाट्ने गरी हामी सबैलाई छोडेर यो संसारबाट बिदा लिनुभयो, जुन अकल्पनीय, असोचनीय तर यथार्थ थियो ।

ठूल्दाइले यो भौतिक संसारबाट बिदा लिनुभयो । तर हाम्रो मनबाट कहिल्यै बिदा हुनुहुने छैन । यसै साता (माघ २२ गते) उहाँको वार्षिक तिथि पर्नु र मेरो जन्म दिन पनि एकै दिन पर्नु यो संयोग मात्र नभएर दाजु र भाइ बीचको अघोर माया, प्रेम र आत्मीयता पनि हो भन्ने मैले बुझेको छु । जो कसैलाई यस्तो संयोग मिलेको हुँदैन ।

यो संयोगसँगै मेरो ठूल्दाइको सम्झनामा मैले कुनै न कुनै काम गर्नुपर्छ भन्ने अठोट पनि लिएको छु । जुन अठोटले ठूल्दाइले देखेको सपना त पूरा हुन नसक्ला तर पनि उहाँले देख्नु भएको समाज सेवा गर्ने सपनालाई केही हदसम्म पूरा गर्नेछ भन्ने अपेक्षा लिएको छु ।

त्यो कालो दिन

हरेक वर्षको माघ ३ गते हाम्रो परिवार र हाम्रा शुभचिन्तकहरूका लागि कालो दिन भएको छ । यो दिननै हो हाम्रो परिवारको एक कर्मठ, इमान्दार, लगनशील अभिभावक र नेतृत्वकर्ता मेरो ठूल्दाइले यो संसारबाट बिदा लिनुभएको । कसरी सम्झुँ म त्यो दिन, जुन दिन र जुन क्षणको कल्पना समेत म गर्न सक्दिन ।

सधैं झैं म बिहानै उठेर मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अध्यापन गराउनका लागि गएकोे थिएँ । क्याम्पसमा पढाएर करिब नौ बजेतिर म घरमा फर्किसकेको थिएँ । म कर्णाली प्रदेश प्रमुखज्यूको सचिवालयमा मिडिया हेर्नेगरी जिम्मेवारीमा रहेकाले खाना खाएर १० बजे कार्यालय पुग्नु मेरो नियमित क्रियाकलाप भित्र पर्दथ्यो । त्यसैले म खाना खाने तयारी गर्दै थिएँ, यतिकैमा जेठा भिनाजुको फोन आयो । फोनमा कुराकानी भए अनुसार प्रदेश अस्पताल कालागाउँ आउन भन्नुभयो । मैले म खाना खाँदैछु, खाना खाएर आउँछु भने तर किन भनेर कुनै कारण सोधिनँ ।

घरमा जीवनसँगिनी आरजुलाई हस्पिटल जानुपर्ने भयो रे भनेर त्यसतर्फ लागेँ । जाँदै गर्दा फेरि भिनाजुको फोन आयो ‘त्रिभुवन कहाँ पुग्यौं ?’ मैले भनेँ, ‘म बाटोमा छु ।’ ‘ल ल आउ’ उहाले छिटो आउन भन्नु भयो । मैले फेरि पनि कारण सोधिनँ ।

जब म हस्पिटल पुगेँ सबै आ–आफ्नै कुरा गरिरहेका थिए । म पनि नजिकै पुगँे । मलाई कसैले केही पनि भनेनन् । मात्र यति सुनेँ, ‘घटना नहुनु पर्ने थियो, घटना घट्यो अब कसरी अगाडि बढ्ने ?’ तर पनि मैले के घटना भनेर सोधिनँ । मनमा भने अनेकौ शंका र डर लागिरहेको थियो । आखिर जे नहुनु थियो त्यही भएको रहेछ । भगवानले ठूल्दाजुलाई लगिसकेका रहेछन् । म भावविह्वल भएँ । कसैलाई केही भन्ने सोच नै भएन । सबैका कुरा एकछिन

सुनिमात्र रहेँ ।

लगत्तै म इमरर्जेन्सी वार्डतर्फ गएँ । जहाँ मेरो ठूल्दाई चिरनिन्द्रामा हुनुहुन्थ्यो । मैले दाजुलाई एकोहोरो हेरिमात्र रहेँ । मनमनै धेरै कुरा गरेँ दाजुसँग । सधै सञ्चो–बिसञ्चो सोध्ने दाजु एकोहोरो सुनिमात्र रहुन भयो, बोल्नु भएन र उहाँ अब कहिल्यै बोल्नुहुने छैन । दाजुसँग धेरै कुरा गर्न बाँकी नै थियो जुन कुरा मैले एकोहोरो गरिरहेँ । दाजुसँग उत्तर र प्रतिक्रिया धेरै पटक मागे तर मैले त्यो अब कहिल्यै पाउँदिन । ठूल्दाजुलाई शिरदेखि पैतलासम्म नियाँले । तर मसँग “हुने हार दैव नटार” भन्ने उक्ति भन्दा केही बाँकी थिएन । मनमनै भगवानलाई निकै सरापँे, निकै गाली गरे अनि मनमनै ठूल्दाजुलाई भनँे, ‘सायद हामी भाइबहिनीहरूमध्ये सबैभन्दा पहिले जानको लागि होला तपाईं सबैभन्दा पहिले जन्मिनुभएको ।’

गह आँशुले भरिएका थिए । गला अवरुद्ध हुन खोज्दै थियो । मनलाई गाठो पारेर इमरर्जेन्सी वार्डबाट बाहिर निस्किएँ, अनि एउटा कुनामा गएर भक्कानो फुटाएर गहभरी भरिएका आँशुका ढिक्कालाई कुनै रोकावट बिना दाजुसँगको कुराकानी, माया मोह, जिम्मेवारी सबै कुरा सम्झदैं रोइरहँे, केवल रोइरहेँ । पीडाको त्यो क्षण सबैभन्दा पहिला आँखालाई मात्र थाहा हुँदो रहेछ जहाँ यतिकै पनि आँखाबाट आँशु बगिदिने रहेछ । आँशु यसरी बाहिरिए कि जुन रोकेर पनि रोक्न सकिने अवस्थामा म थिइनँ । मेरो यो वेदना र छटपटाहटलाई देखेर बहिनी (माइलो बुवाकी छोरी) अमृता पनि मसँगै आएर रुन थालिन, कराउन थाली । यतिबेला इमर्जेन्सीमा एक खालको सन्नाटा छाइरहेको थियो । यो दृश्य देखेपछि ठूलो भिनाजुले सम्झाउन खोज्नुभयो । सम्झाउने अरु आफन्तहरू पनि थिए । सम्झाउनेले सम्झाउने र मैले रुने बाहेक त्यहाँ अन्य कुनै उपाय पनि थिएन । त्यतिबेला लाग्थ्यो चारैतिर अन्धकार छाइरहेको छ ।

अघिल्लो दिन बेलुकादेखि नै आकाश मडारिएको थियो । बादल लागेको थियो । पानी परिरहेको थियो । त्यो मौसमले ३ गते पनि निरन्तरता दिइरह्यो । आकाशलाई बादलले छोपेर कालो भएको थियो । बादल मडारिरहेको थियो । मानौ मौसमले पनि त्यो दिन नरमाइलो मानिरहेको थियो अनि छिन छिनमा रोइरहेको थियो । अनि त्यही दिन मोबाइल र इन्टरनेटले पनि काम गरेको थिएन । जसले गर्दा घटनाको बारेमा सूचना फैलाउन अलि कठिन भइरहेको थियो । लाग्थ्यो मौसम, सञ्चार अनि इन्टरनेटले पनि त्यो दुःखद घटनामा बिलौना गरिरहेका छन् ।

मेरो भाइबहिनीमा म उमेरले सानो भए पनि पढेलेखेका कारण अलि बढी भरोसा, अलि बढी माया अनि अलि बढी जिम्मेवारी मप्रति थियो, परिवारको । एकातिर परिवारमा यति ठूलो बज्रपात कहिल्यै परेको थिएन भने अर्कोतिर परिवारका सबै सदस्यलाई खबर गर्नुपर्ने जिम्मेवारी पनि मलाई नै थियो । यो सबै जिम्मेवारी एकै पटक पूरा गर्नु मेरा लागि पहाड फोर्नु जत्तिकै थियो । मैले “मुटु माथि ढुङ्गा राखेर” भए पनि यो सबै भूमिका निर्वाह गर्नुको कुनै विकल्प थिएन ।

वृद्धावस्थामा पुग्नुभएका बुवा–आमालाई घटनाको बारेमा यथार्थ जानकारी नदिएर नै करिब ६० किलोमिटर पश्चिम विद्यापुरबाट वीरेन्द्रनगर बोलाउनु पर्ने थियो । यदि यो खबर म बाहेक अरु कसैले गरेमा वा अरुले बुवा आमालाई फोन गरेर तुरुन्तै सुर्खेत आउनु भन्ने सन्देश गरेको भए बुवा आमामाथि अर्को अप्ठ्यारो अवस्था आउन सक्ने सम्भावनालाई मैले राम्ररी बुझेको थिएँ । तसर्थ पनि यो सबै काम सोच विचार गरेर गर्नुको मसँग अर्को विकल्प थिएन । त्यसैगरी वीरेन्द्रनगर–३, तातापानी घरमा रहनुभएका भाउजु र छोराहरूलाई पनि घटनाको बारेमा जानकारी दिनु अर्को महŒवपूर्ण जिम्मेवारी थियो । यो सबै काम मैले नै गर्नुपर्ने थियो । अरुले गर्दा फेरि अर्को घटना हुने हो कि भन्नेमा म र हाम्रा शुभचिन्तकहरू सचेत र सजग बन्दै थियौं ।

म पत्रकारिता र सञ्चार क्षेत्रसँग जोडिएको हुनाले समन्वय र सञ्चारका लागि अलि सहज रूपमा भूमिका निर्वाह गर्न सक्ने क्षमता म मा अलि बढी नै थियो । म माथि ठूल्दाजुलाई गुमाइसकेको चोट र असह्य पीडा त छदैंथियो । त्यसमाथि थप अन्य घटना नहोस् भन्नेमा थप चिन्ता र चासो थियो ।

यतिबेलासम्म करिब ११/१२ बजेको हुनुपर्छ । मैले सबैभन्दा पहिला जीवनसंगिनी आरजुलाई खबर गरेर ममीलाई (सासुआमा) लिएर तुरुन्त हस्पिटल आउन भनँे । साँच्चै मेरो सासुआमा एउटा जिउँदो भगवान हुनुहुन्छ । हाम्रो जीवनमा आइपरेको घटनालाई उहाँले गर्नुभएको सहजीकरण र उहाँमा भएको क्षमता सधैं मेरो सम्झनामा सम्मानका साथ रहेनछ । उहाँ अलि बढी भगवानप्रति आस्था राख्ने भएकाले होला, जे जस्तो घटना आफ्नो अगाडि आइपर्छ त्यसलाई कमभन्दा कम क्षतिमा कसरी समाधान र सामना गर्ने क्षमता उहाँमा अलि बढी छ । सकेसम्म कसैलाई पनि दुःख नदिऊँ भन्ने भावना उहाँको सबैभन्दा बलियो पक्ष हो जस्तो मलाई लाग्छ । मैले उहाँको सहयोग लिनु मेरा लागि सबैभन्दा सहजता थियो । उहाँमार्फत नै यो घटनाको बारेमा भाउजुलाई जानकारी दिनु सबैभन्दा उपयुक्त हुन्छ होला भन्ठानेर यसको जिम्मेवारी मैले मेरो सासुआमालाई दिएँ । किनभने उहाँसँग मानिसलाई समय परिस्थिति अनुसार सम्झाई बुझाई गर्ने क्षमता थियो । यतिबेलासम्म मेरो ठूल्दिदी पनि हस्पिटलमा आइसक्नु भएको थियो । अनि क्रमशः भाउजुका भाइहरू दीपक र घनश्यामलाई पनि यो कुराको खबर भइसकेको थियो । हामीलाई असैह्य पीडा भए पनि, पीडामाथि थप पीडा नहोस् भनेर “मुटुमाथि ढुङ्गा राखेर” काम गरिरहेका थियौं ।

अब बुवाआमालाई जानकारी दिनुमात्र होइन वीरेन्द्रनगरमा बोलाउनु मेरा लागि “फलामको चिउरा चपाउनु सरह” थियो । एकातिर बुवा आमालाई घटनाका बारेमा तुरुन्तै वास्तविकता थाहा नदिनु अर्कोतिर जसरी पनि वीरेन्द्रनगरमा बोलाउनु । यो कार्यलाई निकै चुनौतीका बाबजुत निर्वाह गर्नुको मसँग अर्को विकल्प थिएन । किनभने म एउटा घटनामाथि अर्को घटना नहोस् भन्नेमा धेरै नै सजग भएर काम गरिरहेको थिएँ । यही काम अरु कसैले गर्दाखेरी कतै कुरा फुत्किएर बुवा आमाले पहिले नै थाहापाउनु हुन्छ कि भन्ने पीडाले मलाई थप चिन्तित बनाएको थियो ।

बुवा–आमालाई वीरेन्द्रनगरमा ल्याउन सहज पक्कै थिएन । किनभने २०४९/०५० सालतिर चौकुने गाउँपालिकाको गुटुसम्म पुगेको यातायातको सुविधा, मान्छेको चोला फेरिसक्यो तर त्यो बाटोले अझै स्वरूप परिवर्तन गर्न सकेको छैन । यस्तो बेलामा मैले सुर्खेत पश्चिमका नेता, सांसद, मन्त्री सबैलाई निकै धिक्कारेँ । करिब दुई दशक भन्दा बढी समयसम्म पनि सुर्खेत पश्चिमको बाटोको स्तरोन्नति हुन सकेको छैन ।

बुवाआमालाई वीरेन्द्रनगरमा ल्याउनका लागि कि भने उतै भएका कुनै एम्बुलेन्सलाई भन्नुपर्ने थियो कि वीरेन्द्रनगरबाट नै गाडी पठाउनुपर्ने थियो । मैले पहिलो विकल्पलाई प्राथमिकता दिएँ । वीरेन्द्रनगरबाट गाडी पठाउँदा करिब साढे दुईदेखि तीन घण्टा लाग्दथ्यो अनि फर्किंदा पनि त्यति नै समय गर्दा करिब ६ घण्टामा बुवाआमा वीरेन्द्रनगर आइपुग्नु हुन्थ्यो तर पश्चिमतिर नै एम्बुलेन्स पाइएको खण्डमा करिब तीन घण्टामा बुवाआमा आइपुग्ने भएकाले मैले पहिलो विकल्प अनुसार उतै भएका स्वास्थ्य चौकीका एम्बुलेन्स चालकलाई फोन गरँे । सिमसिम पानी पनि परिरहेको थियो । बाटोको समस्या उस्तै थियो । यी चुनौतीलाई सामना गरेर बुवाआमालाई समयमा नै वीरेन्द्रनगर बोलाउनु मेरा लागि थप चुनौती थियो ।

मैले गुटु स्वास्थ्य चौकीको एम्बुलेन्स ड्राइभरलाई फोन गरँे । ड्राइभर दाई पनि गुटुकै भएकाले हाम्रो घरपरिवार सबैलाई राम्रोसँग चिन्दथे । उनले गाडी हिलोमा फसेकाले निस्कने सम्भावना नभएको बताए । तर पनि प्रयास जारी भएकाले निस्किहाल्छ कि भने । यसले गर्दा मलाई त्यो गाडीको भर पर्नु खासै आवश्यक लागेन । अनि अर्को गाडीको जोहो गर्न लागेँ । अरु गाडीको जोहो गर्दै थिएँ । संयोग नै भन्नुपर्छ एम्बुलेन्सलाई हिलोबाट बाहिर निकालेर ड्राइभर दाइले मलाई फोन गर्नुभयो । मैले उहाँलाई बुवा आमालाई जसरी पनि सुर्खेत लिएर आउनु मात्र भने अरु केही पनि भनिनँ । मैले बुवाआमासँग कुरा गर्न नपाउँदै एम्बुलेन्स त १० मिनेटमा नै विद्यापुर घरमा पुगिसकेको रहेछ । मैले बुवालाई ठूल्दाई लड्नुभयो अलि अवस्था खतरा छ तुरुन्त वीरेन्द्रनगर आउनुस् भनेँ । आमालाई पनि साथमै ल्याउन अनुरोध गरेँ । तर बुवाले कस्तो छ, कति चोट लागेको छ भनेर सोधि खोजी गर्नुभयो । मैले “मुटुमाथि ढुंगा राखेर” भए पनि चोट अलि बढी छ बेहोसमा हुनुहुन्छ भनँे । बुवाले त्यसो भए भोलि आउँछौं भन्नुभयो । मैले अलि खतरा भएर आजै आउन भनेको हो भनेँ । बुवाले आमा आउँछे म भोलि आउँछु भन्नुभयो । मैले बरु तपाई आउनुस् आमाले मान्नुभएन भने भोलि आउनुहुन्छ भनेँ । किनभने मैले एकैपटक जबर्जस्ती गर्दा बढी शंका भएर अर्को घटना हुने होकि भन्नेमा म बढी सजग थिएँ । फेरि फोन गरेँ । आखिर भोलि फेरि गाडीमा गारो हुन्छ एम्बुलेन्समा एकै पटक आए भइहाल्यो नि भनेर बुवालाई सम्झाएँ । उहाँहरू बल्लतल्ल हिँड्न राजी हुनुभयो । यतिबेलासम्म अघि नै एम्बुलेन्स विद्यापुर घरमा आइपुगेको थियो । संयोगवश अछाममा अध्यापन गराउने माइला दाजु (तीर्थ) पनि विद्यापुर आउनुभएको रहेछ । मैले उहाँलाई फोन गरेर बुवा आमालाई एम्बुलेन्समा जसरी पनि पठाउनुस् र तपाई कसैको बाइक बनाएर आउनुस् भनेँ । उहाँले मैले भनेअनुसार नै गर्नुभयो । बुवाआमाको मन न हो । गाडीमा हिँडिसकेपछि बारम्बार के छ, कस्तो छ भनेर सोधीखोजी गरिरहनु भयो । मैले अवस्था अलि गम्भीर भएको कुरा मात्र दर्शाएँ । किनभने मैले त्यो परिवेशमा झुठो बोल्नुको विकल्प पनि थिएन ।

करिब साढे चार पाँच बजेतिर बुवाआमा आइपुग्नुभयो । मैले सहजै बुवा आमालाई हेर्न सकिनँ । बुवाआमाले वास्तविकता थाहा पाउनुभयो भने के होला भन्ने मात्र सोचिरहँे । अनि मैले अरु कसैलाई भनेर बुवाआमालाई अब हस्पिटलमा होइन तातापानी घरमा लैजान भनेँ । सोही अनुसार बुवाआमालाई घरमा लग्ने काम भयो । यतिबेलासम्म देश, विदेशमा रहनुभएका आफन्त र शुचिन्तकहरूको फोन आउने र खबर बुझ्ने क्रम चलिरहेको थियो । नजिकका आफन्तहरू प्रदेश अस्पताल आउने क्रम पनि चलिरहेको थियो । टाढा रहनुभएका आफन्तहरू जिल्ला आउन थालिसक्नुभएको थियो ।

सबै घटनाक्रम जे जस्तो अवस्थामा थियो त्यसलाई त्यही अवस्थामा बुझ्नु र सहनुको हामीसँग अर्को विकल्प थिएन । प्रायः सबैजसो मानिस वीरेन्द्रनगरमा आइसकेपछि बाँकी काम अब विद्यापुर घरमा गएर गर्ने कि यतै वीरेन्द्रनगरको घरमा गर्ने भन्नेबारे सल्लाह भयो । सबैसँगको सल्लाह अनुसार सबै काम वीरेन्द्रनगरको घरमा नै गर्ने निश्कर्ष निस्कियो । सोही सल्लाह बमोजिम भोलिपल्ट माघ ४ गते सबै प्रक्रिया पूरा गरेर ठूल्दाजुलाई अन्तिम श्रद्धाञ्जली दिँदै हिन्दु संस्कार अनुसार सबै काजक्रिया पूरा गर्ने काम भयो ।

मान्छे किन यति धेरै स्वार्थी, किन यति धेरै रिस अनि किन यति धेरै निर्दयी बनिरहेको छ ? आखिर एक दिन त हामी सबैले यो धर्ती छोड्न नै पर्ने हो । यो कुरालाई बुझेर पनि किन बुझ पचाइरहेको छ ? किन मानिस धर्तीमा नहुँदा पनि उसैको नाममा मोलमोलाई गरिरहेको छ ? उसैको नाममा यति धेरै स्वार्थी बनिरहेको छ ? कसले कसरी कतिबेला धर्ती छोड्छ त्यो कसैलाई थाहा नै छैन । जो जसले जसरी यो भौतिक संसारबाट बिदा लिन्छ त्यो त एउटा कारण मात्र रहेछ । कोही हवाईजहाज दुर्घटना भएर मृत्युवरण गर्छन् कोही त्यही दुर्घटनामा परेर पनि बाँच्छन् । कोही घरको आँगनमा लडेर मृत्युवरण गर्छन् कोही गाडी दुर्घटना भएर मृत्युवरण गर्छन् । मृत्युवरण गर्दा हुने दुर्घटना त एउटा कारण मात्र रहेछ । नत्र जो जतिबेला पनि यो धर्तीबाट मृत्युवरण गर्न सक्ने रहेछ । के बालक, के युवा, के वृद्धवृद्धा । सबैलाई यो धर्तीबाट टाढा जानका लागि केही न केही निहुँमात्र चाहिएको छ । केही न केही बहाना मात्र चाहिएको छ । जसरी एउटा दुर्घटनामा परेर मेरो ठूल्दाजुले मृत्युवरण गर्नुभयो ।

म ठूल्दाजुको सम्झनामा केही न केही राम्रो काम गरौँ भन्ने अठोटका साथ लागेको छु । तर केही मानिसहरू अहिले पनि स्वर्गमा जानुभएको ठूल्दाजुको निर्जीव शरीरमाथि मोलमोलाई गरिरहेको सुनिरहेको छु । के यस्तो गतिविधिले मेरो ठूल्दाजुको आत्माले शान्ति पाइरहेको होला ? के दाजुको आत्माले यही गर्न भनिरहेको होला ? के ठूल्दाजुको आत्माले आफू स्वर्गमा गएपछि बाँकी रहेका सबै परिवारबीचको आत्मीय सम्बन्ध तहसनहस होस् भन्ने चाहनुभएको छ होला ? जानेर हो या नजानेर हो, आफै हो यो अरुको उक्साहटमा हो, हाम्रो परिवारमाथि कसले किन यसरी हस्तक्षेप गरिरहेको छ ? ज–जसले जे–जे स्वार्थका लागि जे–जे काम गरिरहेको छ, त्यसले ठूल्दाजुको आत्मालाई कदापि शान्ति हुनेछैन । बरु उहाँको आत्माले पोल्नेछ । म त बस यति भन्छु– मेरो ठूल्दाजुको भौतिक शरीरले यस्तो कदापी चाहनुभएको छैन । यस्तो कार्य गरेकोमा तपार्इंहरूलाई ठूलो पश्चाताप शिवाय अरु केही हुने छैन । बरु मेरो ठूल्दाजुको सपना साकार पार्ने तपाईंको निःस्वार्थ मन छ भने आउनुहोस् दाजुको नाममा परोपकारी काम गरौं । मिलेर अघि बढौं जसले गर्दा दाजुको आत्माले शान्ति पाओस् ।

ठूल्दाजुको सपनालाई साकार पार्ने अभियानमा परोपकारी काम गर्नका लागि परिवारजन, आफन्तजन, इष्टमित्र, शुभचिन्तक सबैमा सकारात्मक सोच पलाओस् । प्रथम वार्षिक तिथिको अवसरमा ठूल्दाजुको आत्माले शान्ति पाओस् । फेरि एक पटक उहाँको आत्माको शान्तिको कामनासहित हार्दिक श्रदाञ्जली ।

-त्रिभुवन बिसी

प्रकाशित मितिः   २४ माघ २०७७, शनिबार ०८:५१