‘न्यायाधीशहरूमा त्रास उत्पन्न भयो’

सर्वोच्च अदालतका न्यायाधीस हरिकृष्ण कार्कीले वर्तमान अवस्थामा न्यायाधीशहरूमा त्रास उत्पन्न भएको बताएका छन् । अदालतमा मुद्दासँगै त्यसको पक्ष र विपक्षका जुलुस र प्रदर्शन हुने भएकाले न्याय सम्पादनमा नै समस्या हुने गरेको उनी बताउँछन् ।

‘न्यायाधीशले मिसिल र कानुन हेर्ने कि, जुलुस हेर्ने,’ उनले भने, ‘यस्तो अवस्थामा कसरी न्याय दिने ?’ न्याय क्षेत्रमा हुनसक्ने विचौलियाको विगविगी रोक्नका लागि न्यायाधीशहरू सुझाव संकलनका क्रममा मंगलवार कर्णाली प्रदेशमा आएका हुन् । सोही कार्यक्रममा न्यायाधीश कार्कीले पछिल्लो अवस्थाले न्याय सम्पादनमा चुनौती थपिएको बताएका छन् । उनले न्यायपालिकामा विकृति र अनियमितता तथा विचौलियाबाट हुनसक्ने क्रियाकलाप र त्यसको रोकथामका लागि चाल्नुपर्ने प्रभावकारी उपायहरूको बारे सुझाव संकलन थालिएको जनाए । मंगलवार वीरेन्द्रनगरमा पत्रकारसँग अन्तरक्रिया गरी सुझाव संकलन गरिएको छ । सोही अवसरमा बोल्दै न्यायाधीश कार्कीले न्यायपालिकाले दबाब र हुलको प्रभावमा परेर नभइ तथ्य र प्रमाणका आधारमा न्याय दिइने बताए  ।

प्रकाशित मितिः   २१ माघ २०७७, बुधबार ०९:२२