तीन जिल्लामा बृहत् खानेपानी आयोजना
कर्णाली प्रदेशका तीन जिल्लामा ठूला बृहत् खानेपानी आयोजना सुरू भएका छन् । जुम्ला, कालीकोट र मुगुमा तीन ठूला बृहत् खानेपानी आयोजनाको काम थालिएको हो । जसबाट तीन जिल्लाका ८३ हजार बढी जनसंख्या लाभान्वित हुनेछन् । ती बृहत् खानेपानी आयोजना संघीय सरकारले अघि बढाएको हो । खानेपानी तथा ढल व्यवस्थापन विभाग, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लाले जुम्लाको बृहत् धौलीघाट खानेपानी, कालीकोटको बृहत् चुलीमालिका खानेपानी र मुगुको सोरुकोट बृहत् खानेपानी आयोजनाको काम सुरु गर्ने तयारी थालेका छन् ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लाका प्रमुख महेश न्यौपानेका अनुसार कालीकोट र मुगुको आयोजनाहरू ठेक्का प्रक्रियामा गइ कामको सम्झौता भइसकेको छ । जुम्लाको साविक कर्णालीको सबैभन्दा ठूलो बृहत् धौलीघाट खानेपानी आयोजना पनि ठेक्काको तयारीमा छ । कार्यालय प्रमुख न्यौपानेका अनुसार कालीकोटस्थित खाँडाचक्र नगरपालिका १, २, ३ र ४ का १४ हजार सात सय ८६ जनसंख्या लाभान्वित हुनेगरी चुलीमालिका खानेपानी आयोजनामाको आ.व. २०७६/०७७ मा ठेक्का भइ ऋषि शक्ति पराजुली जेभीसँग सम्झौताको काम अगाडि बढेको छ । सो सम्झौता १३ करोड ७१ लाख ३१ एक सय १२ रूपैयाँ रहेको छ ।
यसैगरी, मुगुको सोरु गाउँपालिका वडा नम्बर १, २, ३ र ६ का १० हजार तीन सय चार जनसंख्या लाभान्वित हुने सोरुकोट बृहत् खानेपानी आयोजना पनि सम्झौता भएको छ । उक्त आयोजनाको ठेक्का भिमेश्वर गेल्वा धुलीखेल जेभी धुलीखेल काठमाडौंले मूल्यांकनको आधारमा पाएको र सम्झौता अगाडि बढेको हो । यसको लागत १० करोड ४० लाख ८८ हजार एक सय नब्बे रूपैयाँ छ । दुवै आयोजना २४ महिनामा काम सक्ने गरी यही माघ ७ गते सम्झौता भएको हो ।
प्रदेशकै बृहत् आयोजना मानिने अर्को जुम्लाको धौलीगाड खानेपानी आयोजना पनि हो । सरकारले दुई अर्ब २५ करोड बजेट यस अघि विनियोजन गरे पनि स्थानीयस्तरमा एक प्रतिशत बजेट जम्मा गर्न नसकेपछि रोकिएको थियो । उक्त परियोजनाको काम पनि यस पटक अघि बढ्ने भएको छ । आयोजनाबाट चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका, गुठीचौर गाउँपालिकाका गरी ५८ हजार पाँच सय जनसंख्या र आठ हजार पाँच सय घरधुरी लाभान्वित हुनेछन् ।
प्रकाशित मितिः १२ माघ २०७७, सोमबार ०९:४८
साझा बिसौनी ।