‘ओलीसँग मिलेर जान सकिन्न’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग अब एक भएर जान नसकिने बताएका छन् । उनले नेकपाका दुई समूह अब पुन एकताबद्ध हुने सम्भावना नरहेको औंल्याएका हुन् ।

शुक्रवार वीरेन्द्रनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता नेपालले ओली पार्टीको विधान र पद्धतिमा नहिँडेको आरोप लगाए । ‘ओलीलाई सुधार गर्नु भनेको बालुवालाई पेलेर तेल निकाल्नु जस्तै हो,’ उनले भने, ‘उनीसँग सहकार्य सम्भव नै छैन ।’ ओलीले सुध्रिने संकेत समेत नदेखाएको उनले बताए । ‘उहाँमा झन्झन् अहम र अहंकार बढ्दै गएको छ,’ उनले भने । नेता नेपालले ओलीलाई पार्टीको साधारण सदस्य नरहने गरी पार्टीबाटै हटाउने तयारी भइरहेको समेत दाबी गरे ।

पार्टीको आधिकारिता पार्टी आफ्नो समूह भएको बताएका उनले बहुमत सदस्य आफूहरूसँगै रहेको जिकिर गरे । ‘सूर्य चिन्ह हाम्रो हुन्छ । संवैधानिक निकायहरूले पनि हाम्रै पक्षमा निर्णय गर्छ,’ उनले भने । ओलीले शक्ति र सत्ताको आडले देशलाई संकटतिर धकेलेको उनको आरोप थियो ।

प्रकाशित मितिः   १० माघ २०७७, शनिबार ११:४३