पाठेघर खस्ने समस्या भयावह

स्वास्थ्यकर्मी भन्छन्, रोग लुकाउँदा झनै बल्झिन्छ

स्वास्थ्यकर्मी भन्छन्, रोग लुकाउँदा झनै बल्झिन्छ

दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ की टीकावती सापकोटा नौ सन्तानकी आमा हुन् । उनी ७२ वर्षकी भइन् । एउटा छोरा र आठ बहिनी छोरीकी आमा टीकावतीले १५ वर्षको उमेरमा विवाह गरेकी हुन् । पहिलो सन्तान छोरीलाई जन्मिएपछि उनले छोराको आशमा आठ बहिनी छोरी जन्माइन् । ‘कान्छोे सन्तान छोरो हो । छोरा जन्माउने आशमा धेरै सन्तान जन्मिए,’ टीकावतीले भनिन् । बालविवाह गरेकी टीकावतीको केही वर्षयता स्वास्थ्य अवस्था राम्रो छैन । उनको पाठेघर खसेको छ । विगत पाँच वर्षदेखि पाठेघरमा रिङ्ग राखिएको छ ।

‘मेरो पाठेघर खसेको ३२ वर्ष भयो,’ उनी भन्छिन्, ‘जुम्ल्याहा सन्तान जन्माउँदा मेरो पाठेघर खसेको रहेछ ।’ उनका सातौ र आठौं सन्तान जुम्ल्याहा जन्मिएका हुन् । ‘उसबेला परिवार नियोजनका साधन पनि नपाइने । सानै उमेरमा विवाह गरियो । वर्षौटे बच्चा जन्मिए,’ टीकावतीले भनिन् । गर्भवती र सुत्केरी भएको समयमा समेत उनले कहिल्यै आराम गरिनन् । खेतीपाती र घाँस दाउरा गरिरहनुपर्ने बाध्यता थियो । उतिबेला स्वास्थ्यमा हेलचक्य्राइँ गरेकी टीकावती अहिले भने नियमित चेकचाँज गर्छिन् । उनले परिवार नियोजन कार्यालय सुर्खेतबाट पाठेघरमा रिङ्ग राख्दै आएकी छन् ।

खार्पुनाथ गाउँपालिका–१ हुम्लाकी ल्वानी जैसी ३४ वर्षकी भइन् । उनको समेत पाठेघरको समस्या छ । दुई वर्षदेखि पाठेघरको उपचार गर्न अस्पताल धाउँदै आएकी जैेसी बुधवार परिवार नियोजन सुर्खेतमा भेटिइन् । ‘तीस वर्ष नपुग्दै पाठेघरमा समस्या देखियो । उपचारका लागि यहाँ आएकी हुँ,’ उनले भनिन् । बालविवाह गरेकी जैसीका दुई सन्तान छन् । उनले एक पटक गर्भमा रहेको बच्चा औषधी खाएर फाल्न खोजेकी थिइन् । त्यही भएरै पाठेघर बिग्रिएको डाक्टरहरूले बताएको उनले सुनाइन् ।

वीरेन्द्रनगर नगरपालिका–२ की कमला विक ५५ वर्षमा लागिन् । ६ सन्तानकी आमा उनले १६ वर्षको उमेरमा विवाह गरेकी हुन् । उनको पनि पाठेघर खस्ने समस्या छ । पाठेघर खसेकै कारण पारिवारिक हिंसा खेप्नु परेको उनी बताउँछिन् । ‘एक वर्षदेखि रिङ्ग राखेकी छु । श्रीमान्ले समेत राम्रो व्यवहार गर्नुहुन्न,’ उनले भनिन् । सानै उमेरमा बच्चा जन्माउनु परेको र सुत्केरीमा राम्रो स्याहार नपाएका कारण समस्या भोग्नु परेको उनले बताइन् ।
यी केही प्रतिनिधि पात्र हुन् । उनीहरूजस्तै पाठेघर (आङ) खस्ने समस्या भएका महिला थुप्रै छन् । जो शारीरिक मात्र होइन मानसिक यातना समेत भोग्न बाध्य छन् । बालविवाह, सुत्केरी भएको समयमा खानपानको कमी, गाह्रो काम गर्ने र सरसफाइमा ध्यान नदिँदा ग्रामीण भेकका अधिकांश महिलामा पाठेघरको समस्या निम्तिने गरेको चिकित्सकहरू बताउँछन् । चिकित्सकहरूका अनुसार खासगरी सानै उमेरमा विवाह गरी धेरै बच्चा जन्माउनेहरूको पाठेघर खस्ने तथा पाठेघरको क्यान्सर हुने समस्या देखिने गरेको छ ।

परिवार नियोजन कार्यालय सुर्खेतकी स्टाफ नर्स उषा केसीले धेरैजसो ग्रामीण भेकका महिलाहरूमा पाठेघरको समस्या देखिने गरेको बताइन् । ‘ग्रामीण क्षेत्रका महिलाहरूमा बढी समस्या छ । पाठेघर खस्ने महिलाको प्रजनन् स्वास्थ्यसम्बन्धी मुख्य समस्या हो,’ नर्स केसीले भनिन् । परिवार र समाजसँग आफ्नो समस्या भन्न लाज र इज्जत जाने डरले रोग लुकाउँदा यसले थप जटिलता निम्तिने उनी बताउँछिन् ।

पाठेघर खस्ने समस्याका कारण महिलाहरूले हेलामा समेत बस्नुपरेको छ । अशिक्षा र गरिबीको कारण अधिकांश महिला पाठेघर समस्याको उपचार नगरी रोग पालेर बस्छन् । जसका कारण पछि स्वास्थ्यमा थप जटिलताहरू आउने गरेका छन् । चिकित्सकहरूका अनुसार बच्चा जन्मिएकाहरूमा मात्रै पाठेघर खस्ने समस्या नभइ गर्भवती नभएका युवतीमा पनि समस्या आउन सक्छ ।

मुख्यतया सानै उमेर विवाह गर्ने, जन्मान्तर नराखी बच्चा जन्माउने, कुपोषण र गर्भवती तथा सुत्केरी बेलामा अत्याधिक बोझिलो काम गर्ने महिलामा पाठेघर खस्ने समस्या बढी देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । सरकारले पाठेघर खस्ने समस्याको निःशुल्क उपचारको व्यवस्था गरेको भए पनि अधिकांश महिलाहरूलाई जानकारी छैन । आर्थिक अभावका कारण पनि धेरैजसो महिलाहरू रोगको पीडा लुकाएर बस्न बाध्य छन् । पाठेघरको समस्या खासगरी ग्रामीण क्षेत्रका महिलाहरूमा धेरै पाइन्छ । तर अप्रेसन सेवा ग्रामीण क्षेत्रमा नहुँदा त्यहाँका बिरामी उपचार सेवाबाट वञ्चित छन् ।


भीआईए जाँचमा धेरै पोजेटिभ

पाठेघरको मुखमा क्यान्सर भएको वा भविष्यमा हुन सक्ने क्यान्सर पत्ता लगाउन गरिने जाँचमा दैनिक आधा दर्जन पोजेटिभ केश भेटिने गरेका छन् । परिवार नियोजन कार्यालय सुर्खेतमा दैनिक भीआईए जाँच गर्दा ५/६ जनामा पोजेटिभ देखिने गरेका हुन् । नर्स केसीका अनुसार भीआईए जाँच गर्दा पाँचवर्ष पछिसम्म पनि पाठेघरमा क्यान्सर हुन सक्ने सम्भावना पत्ता लगाउन सकिन्छ । उनले एचपीभी भाइरसका कारणले पाठेघरको क्यान्सर हुने बताइन् । गत चार वर्षमा परिवार नियोजन सुर्खेतमा १८ हजार दुई सय ४४ जनाले भीआइए जाँच गराएका छन् । वीरेन्द्रनगर नगरपालिकाले समेत नगरका १६ वटै वडामा भीआईए जाँच गर्नका लागि पाँच लाख बजेट विनियोजन गरेको छ । नगर स्वास्थ्य शाखाका डम्बरी कँडेलका अनुसार हालसम्म तीनवटा वडामा तीन सय ६५ जनामा गरिएको परीक्षणमा १४ जनामा एचपीभी पोजेटिभ देखिएको छ । नगरपालिकाले १६ वटै वडामा भीआईए जाँच गर्ने तयारी समेत गरेको उप–प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

प्रकाशित मितिः   ९ माघ २०७७, शुक्रबार ११:२७