किसानलाई कृषि औजार सहयोग
च्याउ खेती गरिरहेका किसानलाई कृषि औजार सहयोग गरिएको छ । किसानलाई पराल बफाउने र डल्ला पार्ने मेशिन उपलब्ध गराइएको हो । बुधवार संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), अन्तरनिर्भर समाज सुर्खेत र वीरेन्द्रनगर नगरपालिकाको साझेदारीमा मनिकापुर कृषि सहकारी संस्थामार्फत किसान इमानसिंह बस्नेतलाई दुई वटा मेशिन सहयोग गरिएको छ । अब गाइडलाइन बनाएर अरू किसानहरूलाई पनि २५ प्रतिशत छुटमा सहयोग गरिने बताइएको छ ।
यूएनडीपीका सजनी चौधरीले च्याउ खेती गरिरहेका किसानलाई उत्पादन वृद्धि गर्नका लागि सहयोग गरिएको बताइन् । उनले कोरोनाका कारण रोजगार गुमाएका वा खर्च जुटाउन नसकेकालाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको जानकारी दिइन् । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले कृषि उत्पादनलाई वृद्धि कसरी गर्न सकिन्छ भनेर नगरपालिकाले साझेदारी र आफै पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको बताए । उनले नगरपालिकाले हाल कृषि, रोजगारलगायतका कार्यक्रमहरू सञ्चालन गरिएको जनाए ।
वीरेन्द्रनगर नगरपालिका–१० का अध्यक्ष रत्नबहादुर बिसीले वडाले कृषिलाई प्राथमिकता दिएको बताउँदै नगरपालिका र संस्थाको साझेदारीमा किसानलाई व्यवसायिक बनाउने कार्यक्रमहरू सञ्चालन भएको जानकारी दिए ।
प्रकाशित मितिः ८ माघ २०७७, बिहीबार ०९:५१
साझा बिसौनी ।