जनशक्तिविहीन अस्पताल

कोरोना संक्रमणले अहिले पनि मुलुक आक्रान्त छ । संक्रमण रोकिने संकेत छैन । दिनप्रति दिन संख्या थपिँदै छ । पछिल्ला दिनहरूमा संक्रमण थप बढाउने खालका जोखिमयुक्त गतिविधि बढेका छन् । तर कोरोना उपचारका लागि भनेर बनाइएका अस्पतालहरूले चिकित्सक पाएका छैनन् । यो कर्णाली प्रदेशको विडम्बना हो । संक्रमणको जोखिम बढ्दै गएपछि संघीय सरकारले गएको भदौ अन्तिमतिर अस्पताल नभएका स्थानीय तहमा उपचार सहज गराउन अस्थायी कोभिड अस्पतालका लागि बजेट उपलब्ध गराउने निर्णय गरेको थियो । पाँच बेडको कोभिड अस्पतालमा एक जना चिकित्सक (मेडिकल अधिकृत आठौं तह) सहित दुई जना स्टार्फ नर्स र एक जना कार्यालय सहयोगी रहने व्यवस्था गरिएको छ । तर डाक्टर नआउँदा कर्णालीका धेरै स्थानीय तहमा कोरोना अस्पताल सञ्चालन हुन सकेका छैनन् ।

कर्णालीका ६६ वटा स्थानीय तहमा अस्थायी कोभिड अस्पताल स्थापना र सञ्चालनका लागि भनेर प्रतिपालिका १० लाख रूपैयाँ बजेट उपलब्ध गराइएको छ । बजेट तथा कार्यक्रम पठाएको तीन महिनाभन्दा बढी समय भइसक्दा समेत अधिकांश स्थानीय तहले अस्पताल सञ्चालनमा ल्याएका छैनन् । सञ्चालनमा आएका केही अस्पतालमा भने डक्टर छैनन् । सुर्खेतको पञ्चपुरी नगरपालिकामा एकसाता अघि कोभिड अस्पताल सञ्चालनमा ल्याइएको छ । त्यहाँ पनि अहिलेसम्म एक जना डाक्टर छैनन् । पालिकाले पटक–पटक विज्ञापन गर्दा पनि डाक्टर नगएका हुन् । सरुवा रोग नियन्त्रण अस्पतालका रूपमा विकास गर्न लागिएको भए पनि चिकित्सक नै आउन नमान्ने समस्या देखिएको छ । सुर्खेतमा मात्र होइन कालीकोटका पनि अधिकांश स्थानीय तहमा सञ्चालित कोभिड अस्पतालमा डाक्टर छैनन् । शुभकालिका गाउँपालिकाले डाक्टरसहित स्वास्थ्यकर्मी आह्वान गरे पनि एक जना स्टाफ नर्सले मात्र दरखास्त दिएको पाइएको छ । स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाले डाक्टर पाउनै मुस्किल छ । यस्तै जुम्लाको तातोपानी गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि एक चिकित्सक (मेडिकल अधिकृत आठौं तह) सहित दुई जना स्टाफ नर्सको दरखास्त आह्वान ग¥यो । स्टाफ नर्समा दरखास्त परे पनि चिकित्सकमा भने दरखास्त परेन । गाउँपालिकाले दुई पटकसम्म दरखास्त आह्वान गर्दा पनि चिकित्सक सम्पर्कमा नआएपछि तल्लो तहका स्वास्थ्यकर्मीहरूकै भरमा कोभिड अस्पताल सञ्चालन गरिएको छ ।

सञ्चालनमा आएका अस्पतालले चिकित्सक नपाउने अवस्था एकातिर छ भने कतिपय स्थानीय तहले अस्पताल सञ्चालनमा ल्याउन नै सकेका छैनन् । केही स्थानीय तहमा अस्थायी कोभिड अस्पतालका लागि बजेट समेत आएको छैन । कोरोना नियन्त्रणका लागि सुरुवातमा राज्यले जुन संवेदनशीलता देखाएको थियो, पछिल्लो समय त्यो देखिदैन । अस्पताल सञ्चालनमा ल्याउन नसक्नु त्यसैको एक उदाहरण हो । सरकारले स्थानीय तहमा अस्थायी कोरोना अस्पताल बनाएर कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने योजना ल्याए पनि भौतिक संरचना र डाक्टरको अभावमा अधिकांश पालिकामा अस्पताल सञ्चालनमा आउन नसकेका हुन् । यो जनस्वास्थ्यमाथिको खेलबाड हो । आवश्यक सतर्कतासहित स्वास्थ्य संरचनाहरूको विकास र जनशक्तिको व्यवस्थापनमा राज्य गम्भीर बन्नैपर्दछ ।

प्रकाशित मितिः   ५ माघ २०७७, सोमबार १०:३४