तीन दिन भित्रमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सहमति

तीन दिन भित्र संविधान संशोधन प्रस्ताव दर्ता गर्न सरकार र मधेस केन्द्रित दलको संयुक्त लोकतान्त्रिक गठबन्धन सहमत भएको छन् ।
बालुवाटारमा बुधबार बिहान बसेको सरकार र गठबन्धन पक्षको बैठकले प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गरी दुई तीन दिन भित्रमा व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव पेस गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्षी एमालेसँगको सहकार्यमा संविधान संशोधन प्रस्ताव पेस गर्ने निर्णय गरेको हो ।
बैठकमा कांग्रेस, मा‌ओवादी केन्द्रलगायत सरकारमा सहभागी दलका नेताहरु तथा गठबन्धन पक्षका नेताहरुको सहभागिता थियो ।

प्रधानमन्त्रीले छठपछि लगत्तै संविधान संशोधन विधेयक दर्ता गर्ने प्रतिवद्धता व्यक्त गरे पनि नागरिकतालगायतका विषयमा मुख्य दलहरुबीच देखिएको विवादका कारण अहिलेसम्म विधेयकको मस्यौदाले अन्तिम रुप पाउन सकेको छैन ।

संविधान संशोधनका लागि दुई तिहाइ आवश्यक पर्ने भएकोले एमालेको सहमति र सहयोगबिना विधेयक पारित गर्न संभव नभएकोले पनि सरकार पक्ष एमालेलाई समेत विश्वासमा लिएर विधेयक दर्ता गराउने प्रयास जारी राखेको छ। सोमबारको बालुवाटार वार्ता निश्कर्षबिहिन भएपछि पनि प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका नेताहरुले एमालेसँग अनौपचारिक तहमा छलफल गरिरहेका छन् ।

पटकपटक प्रतिवद्धता व्यक्त गरे पनि विधेयक दर्ता नभएपछि मधेसी मोर्चासहितको गठबन्धनले १५ दिनको अल्टिमेटम दिदै संविधान संशोधन नभए फेरि सडकमा आउने चेतावनी दिएको छ । मधेसी दलहरुको यो चेतावनी र दबाबपछि सरकारले संविधान संशोधनको गृहकार्यलाई तीव्रता दिएको छ ।