‘आयुर्वेदका लागि कर्णाली उपयुक्त’

कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले योग, ध्यान र आयुर्वेदका लागि कर्णाली प्रदेश उपयुक्त भूमि भएको बताएका छन् । प्रदेश प्रमुख कलौनीले नियमित योगाभ्यास गर्ने बानीले स्वस्थ रहन मद्दत गर्ने भन्दै सबैलाई योग तथा ध्यानको अभ्यास गर्न सुझाएका हुन् । राष्ट्रिय योग दिवसको अवसरमा प्रदेश आयुर्वेद औषधालय सुर्खेतले बिहीवार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘योग, ध्यान तथा आयुर्वेदको लागि कर्णाली उपयुक्त छ ।’

स्वस्थ जीवनका लागि योगको महŒव रहेको बताउँदै उनले शरीर स्वस्थ राखी रोग प्रतिरोधात्मक क्षमता बढाउन योगाभ्यास आवश्यक हुने जनाए । ‘कर्णाली समृद्धिको आधार नै यहाँको जडिबुटी हो,’ उनले भने, ‘यहाँ पाइने जडिबुटीको सङ्कलन, प्रशोधन र व्यापारबाट मात्र आर्थिक समृद्धि हुन सक्छ ।’ प्रदेश प्रमुख कलौनीले जडिबुटीको संरक्षण, सङ्कलन, प्रशोधन र व्यापारमा समेत जोड दिनुपर्ने औंल्याए । कर्णाली आयुर्वेद र जडिबुटीको धनी प्रदेश भएकाले यहाँ पाइने विभिन्न प्रजातिका जडिबुटीको सदुपयोग हुनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मितिः   २ माघ २०७७, शुक्रबार ०६:०१