प्रदेश प्रमुखलाई अख्तियारको प्रतिवेदन

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयले कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगले मंगलवार आर्थिक वर्ष २०७६/०७७ को प्रतिवेदन प्रदेश प्रमुुख समक्ष बुझाएको हो । संवैधानिक आयोगहरूले केन्द्रमा राष्ट्रपति र प्रदेशमा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन बुझाउनुपर्ने कानुनी व्यवस्था छ ।

प्रदेश प्रमुखको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रदेश प्रमुख कलौनीलाई आयोगका सुर्खेत कार्यालय प्रमुख नारायणप्रसाद रिसालले प्रतिवेदन हस्तान्तरण गरेका हुन् । सोही अवसरमा मन्तव्य राख्दै प्रदेश प्रमुख कलौनीले आयोगले तीन वटै तहका सरकारलाई दिएको सुझाव मनन् गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । ‘राष्ट्रिय आकांक्षा प्राप्ति र भ्रष्टाचारमुक्त समाज बनाउनमा आयोगको प्रतिवेदन सहयोगी बन्ने छ,’ उनले भने । अख्तियारी दुरूपयोगका उजुरी सहज रूपमा आयोगसम्म आउने वातावरणका लागि प्रविधिमैत्री प्रणालीलाई जोड दिइनुपर्ने उनको भनाइ थियो ।

प्रतिवेदन पेश गर्दै आयोगको सुर्खेत कार्यालयका प्रमुख रिसालले कर्णालीमा गत आर्थिक वर्षमा आयोगको कार्यालयमा विभिन्न प्रकृतिका एक हजार ८० उजुरी परेको बताए । उनका अनुसार जसमध्ये ६ सय १३ उजुरी फछ्र्यौट भएका छन् भने चार सय ६७ उजुरी फर्छ्र्यौट हुन बाँकी छन् ।

प्रकाशित मितिः   २९ पुष २०७७, बुधबार ०९:३४