नेकपाका सांसदले लेबी तिर्न नपर्ने

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‐नेकपा)का कर्णाली प्रदेशसभाका सदस्यले पार्टीलाई बुझाउँदै आएको लेबी अबदेखि तिर्न नपर्ने भएको छ । सोमवार बसेको नेकपा कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले सांसदहरूले पार्टीलाई लेबी तिर्न नपर्ने निर्णय गरेको हो ।

तत्कालको संक्रमणकालीन अवस्थामा सांसदहरूले पार्टीमा लेबी तिर्न नपर्ने गरी निर्णय भएको दलको बैठकमा सहभागी एक सांसदले बताए । नेकपाका स्थायी कमिटी सदस्य तथा नेकपा कर्णाली प्रदेशका इञ्चार्ज जनार्दन शर्माको प्रमुख आतिथ्यतामा बसेको दलको बैठकमा प्रचण्ड–नेपाल पक्षधर २१ जना सांसदहरू सहभागी थिए । केही दिन पहिले ओली समूहबाट प्रचण्ड–नेपाल समूहमा गएका सामाजिक विकासमन्त्री दल रावल भने स्वास्थ्यका कारण बैठकमा उपस्थित भएका थिएनन् । प्रदेशसभामा प्रचण्ड–नेपाल समूहका २२ जना सांसद् छन् । नेकपा ओली समूहका सांसदहरू भने दलको बैठकमा उपस्थित भएनन् । नेकपाको आन्तरिक विवादका कारण अहिले पार्टी फुटको संघारमा छ । दुवै समूहले छुट्टाछुट्टै बैठक तथा भेलाहरू गर्दै आएका छन् । नेकपाका प्रदेशसभा सांसदहरूले निर्वाचित भएदेखि मासिक पारिश्रमिकको १० प्रतिशत रकम पार्टीलाई बुझाउने गरेका थिए । दलको बैठकले तत्काल उक्त लेबी तिर्न नपर्ने गरी निर्णय गरेको हो ।

‘मासिक पाँच हजारका दरले लेबी तिर्ने गरिएको थियो । अब तिर्न नपर्ने निर्णय भएको छ,’ नेकपाका एक सांसदले भने । बैठकले आगामी माघ ८ गते माधवकुमार नेपाल कर्णाली प्रदेश आउने कार्यक्रमलाई सफल पार्न कामको बाँटफाँड समेत गरेको छ । प्रधानमन्त्री केपी शर्मा वलीले गरेका निर्णयलाई असफल बनाउनका लागि सबै सांसद्हरू एकजुट हुन निर्देशनसमेत भएको सांसदहरूले बताएका छन् ।

दलको बैठकमा प्रदेशको मन्त्रिपरिषद् हेरफेरका विषयमा पनि छलफल भएको थियो । नेता शर्माले काठमाडौं पुगेपछि यस विषयमा शीर्ष नेताहरूसँग छलफल गरेर टुङ्गोमा पुगिने आश्वासन दिएका थिए । यद्यपि, दलको बैठकका निर्णयहरू भने सार्वजनिक गरिएको छैन ।

यसैबीच, संविधानलाई जीवित राख्न आफूहरू प्रयासरत रहेको नेकपा स्थायी कमिटी सदस्य शर्माले बताएका छन् । सोमवार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले प्रधानमन्त्री ओलीको कदमलाई असफल बनाउन संविधानलाई जीवित बनाउनुपर्ने बताएका हुन् । उनले ओलीको असंवैधानिक कदमकाविरुद्ध सबै लाग्नुपर्ने बताए । ‘प्रधानमन्त्री ओलीले चालेको कदम विनाशकारी र राष्ट्रघाती हो,’ उनले भने, ‘अब ओलीकाविरुद्ध सबै एकजुट हुनुपर्छ ।’ नेता शर्माले संविधानमै नभएको अधिकार ओलीले प्रयोग गरेको आरोप लगाए । नेकपा पुनः एकताबद्ध हुने सम्भावना रहेको औल्याउँदै उनले यसका लागि आफूहरू लागिरहेको बताए । ‘पार्टी फुटेको छैन । एकताबद्ध भएर जाने सम्भावना अझै छ,’ उनले भने ।

प्रकाशित मितिः   २८ पुष २०७७, मंगलवार ०६:०१