‘एकतामाथि गद्दारी भयो’
नेपाल कम्युनिष्ट पार्टी ‐नेकपा) प्रचण्ड–माधव समूहका नेता योगेश भट्टराईले पार्टी एकतामाथि शीर्ष नेतृत्वबाट गद्दारी भएको बताएका छन् । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलनमा गद्दारी गरेको उनले बताएका हुन् ।
आइतवार सुर्खेतको वीरेन्द्रनगमा प्रचण्ड–माधव समूहका युवाहरूले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले प्रधानमन्त्री ओलीले आफनो व्यक्तिगत स्वार्थका लागि कम्युनिष्ट एकतामाथि नै गद्दारी गरेको आरोप लगाए । उनले भने, ‘ओलीले व्यक्तिगत स्वार्थका लागि कम्युनिष्ट आन्दोलनलाई नै विभाजन गर्न खोजेका छन् । कमरेड ओलीलाई यादहोस्, हिजो केशरजंग रायमाझीले गद्दारी गर्दा कम्युनिष्ट आन्दोलन झनै एकताबद्ध भएको थियो ।’ उनले यतिबेला मुलुक गम्भीर मोडमा पुगेको भन्दै युवाहरूलाई विवेक पु¥याउ आग्रहसमेत गरे ।
‘म युवा साथीहरूलाई आग्रह गर्न चाहन्छु । तपाईंको जन्म ओली र प्रचण्ड–माधवका लागि भएको होइन । विवेक पु¥याउनुहोस्, सही गलत छुट्याउनुहोस्,’ नेता भट्टराईले भने । उनले यतिबेलाको लडाइँ मुलुककै लागि जीवन र मरणको भएको बताए । उनले वैशाखामा तोकिएको चुनाव कुनै हालतमा नहुँने जिकिर गरे ।
‘प्रतिनिधिसभा र संविधान असफल भयो भने मुलुकलाई विखण्डन गर्न चाहाने संघीयता विरोधी शक्तिहरू सल्बलाउँछन् र मुलुकलाई ठूलो युद्धमा धकेल्ने कू चेष्टा हुनसक्छ,’ उनले भने ।
दलसम्बन्धी व्यवस्था अनुसार निर्वाचन आयोगले आफूहरूलाई नै चुनाव चिन्ह (सूर्य) दिने उनको दाबी छ । ‘आधिकारिक पार्टी हामी नै हौं । सूर्य चिन्ह हाम्रै हो,’ उनले भने, ‘म यहीँबाट निर्वाचन आयोगलाई सोध्न चाहन्छु, चार सय ३७ जनाको संख्यामा तीन सय संख्या बहुमत हो कि अल्पमत हो ?’ आयोगले आफूहरूलाई नै आधिकारिता दिनेमा ढुक्क रहेको उनको भनाइ थियो ।
नेता भट्टराईले अझैं समय नबितेको भन्दै प्रधानमन्त्री ओलीलाई गल्ती महसुस गरेर फर्किन समेत सुझाए । ‘यदि तपाईं गल्ती स्वीकार्नु हुन्छ र अब फेरि एकताबद्ध भएर जाउँ भन्नुहन्छ भने अझै केही बिग्रेको छैन,’ ओलीलाई लक्षित गर्दै उनले भने, ‘तपाईं सूर्य चिन्हबाट चुनाव लड्न पाउनुहुन्छ ।’
प्रकाशित मितिः २७ पुष २०७७, सोमबार ०६:०१
साझा बिसौनी ।