त्रिपालबाट घरमा

साढे पाँच सय घर निर्माण, फर्किदै बाढीपीडितको खुसी

साढे पाँच सय घर निर्माण, फर्किदै बाढीपीडितको खुसी


वीरेन्द्रनगर नगरपालिका–५ सरस्वती टोलकी भविसरा सुनारको परिवार विगत ६ वर्षदेखि त्रिपालमुनी बस्दै आएको थियो । वि.स. २०७१ सालमा खोर्के खोलामा आएको बाढीले घर बगाएपछि उनको परिवारले वर्षाैं पालमुनी बितायो । बाढीले भविसराका वरिपरि रहेका करिब ३५ घर पूर्ण रूपमा क्षती गरेको थियो । ती परिवारहरू पनि खुला आकाशमुनी बसिरहेका थिए ।

लामो समयसम्म कष्टकर जीवन गुजारेका बाढीपीडितलाई अहिले प्रदेश सरकारले घर निर्माण गरिदिएको छ । ‘सरकारसँग धेरै पटक हार–गुहार गरियो । घर निर्माणका लागि पैसा दिएपछि अहिले घर बनाएर बसेका छौं । बल्ल सरकार भएको अनुभूति भएको छ,’ उनले भनिन् । ढिलै भएपनि सरकारले देखिनेगरी काम गरेको उनले बताइन् । खोर्केखोला आसपासको बस्तीमा त्रासले भने अझै नछोडेको उनी बताउँछिन् । ‘हामीलाई अझै बाढी आएर बगाउने हो कि भन्ने डर छ,’ उनले भनिन्, ‘सरकारले तटबन्धनको व्यवस्था पनि गरिदिए ढुक्क हुनेथियो ।

स्थानीय ललितबहादुर शाहीले सरकारको कामले बाढीपीडितहरूले त्रिपालबाट घरमा फर्किन पाएको बताए । उनी भन्छन्, ‘वर्षाैंदेखि पीडामा रहेका उनीहरूको खुसी पनि फर्किएको छ ।’ उनले पीडितहरूलाई सोही ठाउँमा घरभन्दा पनि सुरक्षित स्थानमा जमिन चाहिएको बताए । यसो गरिँदा मात्रै यहाँको बस्ती सुरक्षित हुने शाही बताउँछन् । ‘केही नदिनुभन्दा घर निर्माणका लागि सरकारले पैसा दिनुले पनि तत्कालको समस्या टरेको छ,’ उनले भने, ‘तर, त्रास भने कायमै छ ।’ सरकारले पुनर्बास रोज्नेहरूलाई भने बेवास्ता गर्दै आएको शाहीले आरोप छ ।

प्रदेश सरकारले बाढीपीडितलाई रकम उपलब्ध गराएपछि पालमुनी जीवन बिताइरहेकाहरूले घर पाएका छन् । घर बनेसँगै आफूहरूको खुसी पनि फर्किएको पीडितहरू बताउँछन् । सुर्खेतका सात वटा स्थानीय तहमा गरी हालसम्म बाढीपीडतका पाँच सय ३१ वटा घर निर्माण भइसकेका छन् । जमिन भएका तर घर निर्माण गरी बस्नका लागि रकम नभएका बाढीपीडितहरूका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले स्थानीय सरकारमार्फत रकम वितरण गरेको हो । प्रतिघर परिवार तीन लाख रूपैयाँका दरले बाढीपीडितहरूलाई तीन किस्तामा रकम उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

वीरेन्द्रनगर नगरपालिकाका तीन सय २४ बाढीपीडित घरपरिवारमध्ये हालसम्म दुई सय ३३ परिवारले घर निर्माण गरिसकेका छन् । पहिलो किस्ता एक लाख ५० हजार, दोस्रो किस्ता एक लाख रूपैयाँ पीडितहरूलाई बुझासकिएको छ । अब अन्तिम किस्ता ५० हजार लिनका लागि घर निर्माण गरेको प्राविधिक रिपोर्ट हुनुपर्ने वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । दुई सय ५४ जनाले पहिलो किस्ता लगेपनि २१ जनाले भने कार्यविधि अनुसार काम नगरेकोले दोस्रो किस्ता प्राप्त गर्न नसकेको नगरपालिकाका वातावरण तथा विपद् अनुगमन उपशाखा प्रमुख यामलाल गिरीले बताए ।

यस्तै, लेकवेशी नगरपालिमा १२ वटा घर निर्माण भएका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खरेलका अनुसार नगरका विभिन्न स्थानमा घर पूर्ण क्षती भएका र जमिन भएका पीडितहरूले घर निर्माणका लागि दोस्रो किस्ता समेत लिइसेका छन् । तेस्रो किस्ताको लागि प्राविधिक रिपोर्ट तयार भइरहेको उनले बताए ।

बराहताल गाउँपालिकामा ४४ परिवारले घर निर्माण गरेका छन् । जम्मा ९६ परिवारले घर निर्माणका लागि निवेदन दिएको भएपनि जमिन भएका ४६ परिवारले मात्र पहिलो किस्ता प्राप्त गरेका हुन् । कार्यविधि अनुसार दोस्रो किस्ताका लागि काम नभएका कारण ४४ परिवारले मात्रै दोस्रो किस्ता प्राप्त गरेको पालिकाका सूचना अधिकारी दानबहादुर साउदले बताए । उनका अनुसार कार्यविधि अनुसार काम गर्दा कतिपय मापदण्ड पूरा नभएकाहरूले घर निर्माणका लागि रकम प्राप्त गर्न नसकेका हुन् ।

यस्तै, भेरीगंगा नगरपालिकामा एक सय ६० परिवारलाई घर निर्माणका लागि रकम दिइएको छ । गुर्भाकोट नगरपालिकामा ३३ जनाले पहिलो किस्ता प्राप्त गरेको भएपनि दोस्रो किस्ता दिन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार दोस्रो किस्ताको लागि कार्यविधिअनुसार पहल भएको छ । चौकुने गाउँपालिमा पीडित ६ परिवारमध्ये तीन परिवारको घर निर्माण भइसकेको छ ।

यस्तै, पञ्चपुरी नगरपालिकामा दुई सय १४ बाढीपीडित परिवारमध्ये ८४ परिवारका लागि घर निर्माण भएका छन् । थप १६ परिवारले चालु आर्थिक वर्षमा पहिलो किस्ता प्राप्त गरेको र अन्यको जमिन नभएका कारण घर निर्माणका लागि रकम वितरण गर्न नसकिएको नगरपालिकाले जनाएको छ ।

बाढीपीडिका घर निर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चालु आर्थिक वर्षमा चार करोड ९५ लाख रकम स्थानीय तहहरूलाई दिइसकेको मन्त्रालयका विपद् व्यवस्थापन शाखा प्रमुख कृष्ण रोकायले बताए । उनले पाँच सय ९१ परिवारलाई अन्तिम किस्ता ५० हजारका दरले र जमिन नभएका ७९ परिवारलाई एक लाख ५० हजारका दरले रकम निकासा गरेको जनाए । मन्त्रालयबाट पुनः ५४ जना जमिन भएकालाई समेत पहिलो किस्ताबापतको एक लाख ५० हजार रूपैयाँ निकासा गरेको छ ।

प्रकाशित मितिः   २५ पुष २०७७, शनिबार ०९:४०