कोरोना संक्रमितको मृत्यु
कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका–८ का ७४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । उनलाई पुस ७ गते स्वास्थ्यमा समस्या देखिएपछि प्रदेश अस्पतालमा उपचारका लागि ल्याइएको थियो ।
स्वास्थ्य अवस्था सुधार नभएपछि उनलाई आईसीयुमा राखेर उपचार गरिएको थियो । उनको बुुधवार मृत्युु भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले पुष्टि गरे । चिकत्सिकहरूका अनुसार उनलाई खोकी लाग्ने, सास फेर्न कठिनाइ हुने र पिसाब रोकिने समस्या देखिएको थियो ।
योसँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ । हालसम्म सुर्खेतका १६, दैलेखका ६, डोल्पा, कालीकोट र रुकुम–पश्चिमका एक÷एक जना र अन्य प्रदेशका दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
यस्तै, प्रदेशमा आठ जना कोरोना संक्रमित थपिएका छन् । बुधवार ७२ जनाको कोरोना परीक्षण गर्दा आठ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । योसहित कर्णालीमा कोरोना संक्रमितको संख्या सात हजार चार सय तीन पुगेको छ । बुधवार संक्रमण पुष्टि हुनेमा सुर्खेतका चार, रुकुुम–पश्चिका दुई, दैलेख र अन्य प्रदेशका एक÷एक जना हुन् ।
यसैबीच, बुधवार देशभर चार सय नौ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा एक सय ४४ जना महिला र दुई सय ६५ जना पुरुष रहेका छन् । हालसम्म देशभर संक्रमितको कुल संख्या दुई लाख ६३ हजार एक सय ९३ पुगेको छ । सक्रिय संक्रमितको संख्या पाँच हजार एक सय ३३ छ भने क्वारेन्टाइनमा तीन सय ४२ जना रहेका छन् ।
त्यस्तै कोरोनाबाट निको हुनेको संख्या दुई लाख ५६ हजार एक सय ६१ पुगेको छ । बुधवार ६ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार आठ सय ९९ रहेको छ ।
प्रकाशित मितिः २३ पुष २०७७, बिहीबार ०६:०२
साझा बिसौनी ।