दुर्घटनामा पाँच जना घाइते

गाडी दुर्घटना हुँदा पूर्वराज्यमन्त्रीसहित पाँच जना घाइते भएका छन् । नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको बा २१ च ४७४६ नम्बरको गाडी सोमवार दिउँसो १२ बजेतिर दुर्घटनामा परेको हो । बाँसगढी नगरपालिका–१ स्थित मौरीखोला र उन्तिसखोलाको बीचमा गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा पूर्वजलस्रोत राज्यमन्त्री विनोदकुमार शाह, उनकी श्रीमती लक्ष्मी शाह, दैलेखको विन्द्रासैनी नगरपालिका–२ का सूर्यबहादुर शाही, आठबीस नगरपालिकाका पदम माझी र चालक विनय भण्डारी घाइते भएका छन् । लक्ष्मी शाह जिल्ला समन्वय समिति दैलेखकी उपप्रमुख हुन् ।

प्रहरी चौकी चेपाङका प्रहरी नायब निरीक्षक जय प्रकाश भट्टले घाइतेहरूको अवस्था खतरामुक्त भएको बताए । ‘पूर्वमन्त्री साह, उनकी श्रीमती र चालकको अनुहारमा चोट लागेको छ’, उनले भने । गाडी सडकबाट करिब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   २१ पुष २०७७, मंगलवार १२:३३