सिद्धार्थको कारोबार एक अर्ब ७६ करोड
वीरेन्द्रनगरमा रहेको सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्थाले १९औं वार्षिक साधारणसभा गरेको छ । संस्थाले आइतवार वार्षिक साधारणसभा सम्पन्न गरेको हो । संस्थाले आर्थिक वर्ष २०७६/०७७ मा एक अर्ब ७६ करोड बराबरको कारोबार गरेको छ । अघिल्लो वर्ष दुई अर्बको कारोबार गरेको सहकारीले यसपटक कोरोना महामारीका कारण १४ दशमलव ८७ प्रतिशतले कारोबारमा कमी आएको जनाएको छ । अघिल्लो आर्थिक वर्षभन्दा संस्थाले मुनाफा पनि कम गरेको छ । यो वर्ष ५ दशमलव ३५ प्रतिशतले मुनाफामा कमी आएको संस्थाका कोषाध्यक्ष धनबहादुर सलामी मगरले जानकारी दिए ।
संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष टोपबहादुर टंगाली मगरले शेयर सदस्यहरूको मागअनुसार जिल्लाका विभिन्न ठाउँमा सम्पर्क कार्यालयहरू पनि सञ्चालनमा ल्याइएको जनाए । यसवर्ष कोरोनाका कारण संस्थागत विकास र आर्थिक कारोबारमा ह्रास आएको भन्दै उनले आगामी दिनमा योजनाबद्ध रूपमा काम गरिने बताए । संस्थाका लेखा तथा सुपरीवेक्षण समिति संयोजक भीमबहादुर गरंजा मगरले आर्थिक कारोबार चुस्त दुरुस्त भएको बताएका थिए ।
साधारणसभामा बोल्दै राष्ट्रिय सहकारी बैकका सञ्चालक हरिहरनाथ योगीले महामारीले थलिएका सहकारी संस्थालाई माथी उकास्न चुनौति रहेको बताए । उनले सहकारीलाई प्रविधि मैत्री बनाउनुपर्नेमा जोड दिएका थिए ।
प्रकाशित मितिः २० पुष २०७७, सोमबार ०९:००
साझा बिसौनी ।