तिम्रो–मेरो भेट होइजा, पुसको रात होइजा
गाइज

‘साथी चुरोट खाइस क्या हो ?’ हाई फाइब क्याफेको टेबल नम्बर सातमा बसेको आइतेलाई कोठाभित्र छिर्ने बित्तिकै थर्काउने शैलीमा बोली रहिना ।
‘हो हो । चुरोट नै पिएको छु । यता हेर गिलासमा ब्ल्याक लेभल पनि छ । खान्छेस् ? अनि तैले शिखरै हानिस् कि क्या हो हे.हे… ।’
‘किन ?’ रहिनाले प्रश्न गरी ।
‘धुँवा त तेरो मुखबाट पनि आइरहेको छ नि । चिसोमा बिहान बिहान हिँड्यो भने मुखबाट वाफ आउँछ भन्ने कुरा कसरी बिर्सिस् यार ? सुर्खेतमा त यस्तो छ । जुम्लामा त मुखमै सल्लाका दाउराले आगो बालेजस्तो हुन्छ ।’
‘हो त है । कस्तो फुस भइछु म पनि’ रहिनालाई ग्लानी हुन्छ ।
‘हेलो गाइज !’ ढोकानेरबाट टेबल नम्बर साततिर हात हल्लाउँदै झुमा, बक्राम र महाशंकरको मिक्स आवाज आउँदा आइते र रहिना ‘हाइ’ गर्छन् ।
‘हैट चिसो पनि कस्तो है । यो वर्ष जस्तो चिसो त कहिल्यै भएन होला । साह्रै आपत पा¥यो । यस्तो देख्दा त तराई नै ठीक जस्तो लाग्छ हो’ बक्राम चिसा हातलाई बाफले तताउँदै कापेको स्वरमा बोल्छ ।
‘अहिलेको जस्तो चिसो र पोहरका जस्ता धान कहिले भएनन् । भन्छन् केरे, हाम्रोतिर । बक्राम बर्दिया सम्झिरहेको छ, हेहे’ झुमाले बक्रामलाई व्यङ्ग्य गरी उम्किएको माछो ठूलो हुन्छ भन्ने शैलीमा ।
‘अँ साँच्चै जुम्लामा जाडो कत्तिको छ ?’
‘माइनस आठसम्म होला’ आइते रहिनाको प्रश्नको जवाफ दिन्छ ।
‘हैट माइनस आठमा त हावा पनि जम्छ होला है’ महाशंकर आश्चर्य प्रकट गर्छ ।
‘होइन जति बढी जाडो छ उति बढी हावा चल्छ । हवा पनि एकदम सुख्खा हुन्छ । जम्ने त पानी मात्र हो । यदि हावामा पानी हुने भए जम्थ्यो कि ? तर जुम्लाको हावामा पानी नै हुन्न ।
त्यहाँको हावामा सापेक्षिक आद्रता कम हुने हुनाले हिउँदमास हामी जुम्लीहरूका हात, खुट्टा, ओठ फुट्छन् । अनुहारको छाला फाट्छ ।
अचेल जाडो मौसमलाई लक्षित गरेर बजारमा बहुराष्ट्रिय कम्पनीहरूले विभिन्न उत्पादनहरूको पूर्ति बढाएका छन् । ओठ फुट्नबाट बच्न लिप गार्ड, छालालाई मुलायम बनाउन भ्यास्लिन, जाडोमा पनि गोरो र सुन्दर हुने क्रिमहरू प्रशस्त छन् र तीनको माग पनि बढेको छ । यस्ता वस्तुहरूको माग बढाउन थरीथरीका विज्ञापनहरूले सञ्चारमाध्यमहरूमा कब्जा जमाएका छन् ।
विज्ञापनकै प्रभावले यतिबेला सबै उमेर समूहका मानिसहरू प्रायः कस्मेटिक सामानहरू प्रयोग गरिरहेका छन् । हामी पनि कस्मेटिक भइसकेका छौं ।
तर पहिले पहिले भने यसको परम्परागत उपचार पद्धति थियो । सानोमा हामी आफैंले पनि प्रयोग गरेको याद छ । हाम्रो हात फुटे भने दुई चार दिन हातमा सल्लाको खोटो लगाउँथ्यौं । पछि तातोपानीले हात धोयो भने सफाचट । खुट्टामा पनि खोटो लागाएमा फाटेको ठिक हुने ।
सल्लाको खोटो आज पनि नेपालबाट भारत निकासी भइरहेको देखिन्छ । त्यसबाट धेरै प्रकारका औषधि बन्ने गरेको पनि सुनेका छौं । एक पटक हामीलाई स्वास्थ्य पढाउने शिक्षकले सल्लाको खोटोबाट एक सय पाँच प्रकारका औषधि बन्ने र बाँकी भएको अलकत्रा बन्छ भनी पढाएको याद छ । सरले भनेकै जति प्रकारका औषधि बन्ला, नबन्ला तर हामी आफैंले प्रयोग गर्दा भने गज्जबको औषधि हो रहेछ भन्ने बुझेका छौं ।
नभए घरमा भएको तोरीको तेल लगाए पनि हुने । अनुहार, जीउ, हात, खुट्टामा तोरीको तेल लगायो भने त मान्छे आजको जस्तो गोरो र सुन्दर हुन लगाउनुपर्ने क्रिम फ्लप हुने । त्यसका अलावा गाई, भैंसीको घ्यू वा भेडाको बोसोले पनि हात खुट्टा कोमल हुने ।’
‘आहा ! आज त जाडोको विषयमा छलफल होला जस्तो छ है । आइते जिन्दावाद ! केही भन न यार जाडोको बारे अरु थाहा पाएका कुरा’ रहिनाले बहसको विषय पहिल्याई ।
‘ठीक छ त आजको विषय विज्ञ आइतेलाई नै बनाउँ । उसको स्टोरी टेलिङ गज्जबको छ ।’
‘दिदी पनि आफ्नो भारी मलाई बोकाउनु हुन्छ के । यो विषयमा तपाईं भन्दा बढी म कसरी भन्न सकुला ? सुरु हजुर नै गर्नुस् । अरु म थपौंला बरु ।’
‘उसो भए केही म भन्छु । कुही तिमी भन । बाँकी सबै सुन्ने त होला नि हेहे ।’
‘किन चिन्ता हो दिदी । कवि, साहित्यकारहरू स्रोता पाउँदैनन् । सुन्ने मान्छे नभएर हैरान छ । यस्तो बेला सुन्ने मान्छे देखि पनि गुन मान्नुपर्ने हो नि खासमा । आजको कफी हजुरकै नामको भयो ।’ रहिनाले चौका मारी ।
‘ल ल अरु पनि खाउँला नि के फरक पर्छ र ? मगाउ न त । बाँकी जाडोबारे नै है ।
हिउँदमास जीउ सुरक्षाको लागि परम्परागत उपचार पद्धति छ । गाउँमा बुढापाकाहरूले आफूले सकेसम्म परम्परा थामेका छन् । सहरको पहुँचमा भएका सबै उमेरकाहरू भने बहुराष्ट्रिय कम्पनीका माल उपभोग गरिरहेका छन् ।
बुढापाकाहरूको सीप र स्थानीय प्रविधिको प्रयोग गरेर जाडोको सुरक्षा गर्नेगरी अपनाउनुपर्ने उपचार पद्धतिलाई विकास गर्ने र हाम्रो आयुर्वेद विज्ञानलाई आधुनिकीकरण गर्ने विषयमा सोच्न सकेको खण्डमा हामीले बहुराष्ट्रिय कम्पनीको भर पर्नुपर्ने थिएन । जाडोदेखि यति बिघ्न डराउनुपर्ने पनि थिएन ।
जुम्ला हिमाली जिल्ला भन्ने वित्तिकै साउनको महिना पनि हिउँ पर्छ भनेर सोच्नेहरू धेरै छन् । तर हिउँ पाँच हजार मिटरभन्दा माथि मात्र सधैं जम्छ । त्यो भन्दा तल सधैं हिउँ पर्दैन । जुम्ला उपत्यका समुद्र सतहदेखि ११ सय मिटरको न्युनतम उचाइमा रहेको छ । त्यसैले जाडो मौसम मंसिरदेखि फागुनसम्म अन्त पानी पर्दा जुम्लामा हिउँ पर्छ ।
तर कहिलेकाहीँ जाडो निकै बढ्यो भने कार्तिक र जेठको पहिलो हप्तासम्म पनि हिउँ देख्न पाइन्छ । बाहिरकालाई हिउ सुन्दर लागेपनि सँधै भोग्नेलाई कठिन हुन्छ । त्यसैले हिउँ सधैं सुन्दर लाग्दैन रहेछ । हिमालमा बस्ने भोटेहरूले घरको छतमा, नजिकको गुम्बा र देवलहरूमा फरफ फरक रंगका पतकाहरू राख्नुको कारण पनि उही हो । तर आजाभोली भोटेहरूका लागि यो संस्कार भएको छ । तराईमा बस्ने भोटेले पनि घरको छतमा पतका राखेको हुन्छ । जे होस वातावरणलाई थप सुन्दर बनाउन मान्छेले गर्ने प्रयत्नको समाजशास्त्र पनि गज्जबको छ ।
मुस्लिमहरू सबैले बुर्का लगाउँछन् । उनीहरूको सुरुको बासस्थान अरव हो । अरव मरुभूमि बढी भएको ठाउँमा हिँड्दा आँखामा, मुखमा बालुवा पस्ने भएकाले त्यसबाट बच्न बुर्का लगाउन थालिएको बुझ्न सकिन्छ । तर पछि मुस्लिमहरू जहाँ–जहाँ पुगे त्यहाँ–त्यहाँ बुर्का पुग्यो । महिलाहरू बुर्का लगाउन थाले । पछि यसैलाई महिलाहरूले लगाउनुपर्ने धार्मिक मान्यता स्थापित भयो ।
तापक्रम घट्दै माइसन पुग्दा आइलाग्ने कठिनाइको हिसाब प्लसमा गर्न सकिदैन । सानो भन्दा सानो पानीको मुहान भएको ठाउँमा पनि ठूलो भन्दा ठूलो बरफ जमेको हुन्छ ।
नदीको पानी भने जम्न सकेको हुन्न । तर अत्यधिक जाडोले पानीको वेग निकै कम भएको हुन्छ । बिहान नदी किनारमा पुग्यो भने बरफका टुक्राहरू तैरिँदै बगेको दृश्य फेला पर्छ । सल्लो, धुपी, झुलो, गोव्रे, खर्सु लगायत कोणधारी पतझर जंगलका रुखहरू बाहेक अरु सबै रुखका पातहरू झरेर रुख पुरै नांगिएका हुन्छन् । जनजीवन कष्टकर हुन्छ । यत्ति हो यसैभित्र पनि सुन्दरताको खोजी गर्न सकिन्छ । यस्तो कुरा आइतेको मुखबाट सुन्न पाए कान पवित्र हुने थिए ।’
‘ल ल जो ले भन्ने भए पनि छिटो है । यस्तो एकाग्र ध्यान भइरहेको बेला भङ्ग गर्ने कोसिस नगरौं त प्लिज ।’ रहिना रिसाई ।
‘कथा भन्ने सीप आइतेको पनि कमजोर कहाँ छ त । तँ उसै रिसइहाल्छेस् । एउटा कथामा दुईजना वाचक पनि त मिठै फ्लेवर हो नि । ल चाँडो सुरु गर है डियर आइते ।’ महाशंकरको आग्रह ।
‘पात झरेर नांगिएको रुखमा पनि एक सुन्दर दृश्य देख्न सकिने रहेछ । सुन्दरता सधैं बसन्त ऋतुमा मात्र हुँदैन रहेछ । सुन्दरता खोज्नको लागि बसन्त नै कुर्नुपर्छ भन्ने हुँदैन रहेछ ।
पात झरेर नांगा भएका मेहेल, रुइस, चुम्लाया, झिल्लेटी, भत्कुँडो, अैरि, कुँइएसी लगायतका अनेकौं जंगली बोट विरुवाहरूका नांगै हुन्छन् । वरीपरीका सल्ला, झुलो लगायतका रुखहरूले तिनलाई गिज्याइरहेका हुँदा हुन सायद । त्यस्तै जुम्लीहरूले ठूलो लाभ लिने आरु, ओखर, स्याउ नास्पाती लगायतका रुखहरूका पात पनि झरेकै हुन्छन् । तिनीहरू पनि नांगै उभिएका हुन्छन्, लाजै नमानी ।
तीनलाई पनि तीनै हरिया रुखहरूले गिज्याइरहेका नै हुँदा हुन, सायद । तर नांगौ भएका रुखहरूको मज्जाको जवाफ हुँदो होला । उनीहरू मुस्कुराउँदै भन्दा होलान, ‘हेर हामी नयाँ कोपिलाको तयारी गरिरहेको छौं अब हामी सबैले देख्नेगरी झन् ठूला हुन्छौं ।’ हरिया सबैले नारायणगोपालको ‘झरेको पात झैं भयो उदास मेरो जिन्दगी’ भन्ने गीत सम्झदै गिज्याउँदा हुन । फागुनसम्म सहँदै बसेका बोट बिरुवाहरू भने चैतमा जवाफ दिइहाल्दा हुन्, ‘विचारा नारायणगोपालले गीतै गतल गाएछन ।’ त्यसपछि तीनै बोट विरुवाहरू फेरी देखाउँदा हुन, आफूले लाज नमान्नुको कारण यो हो भनेर । अब उनीहरू पनि नारायणगोपालकै गितबाटै जवाफ दिदा हुन, ’म त लाली गुराँस भएछु, वनैभरि फूलीदिन्छु, मनैभरी फुलीदिन्छु ।’ त्यसपछि तीनै बिरुवाहरू सबैका प्यारा जसलाई हरियाले हेला गरेका थिए ।
पात झरेका बिरुवाहरूलाई बिछोडको बिम्वको रूपमा प्रयोग गरिएको पाइन्छ । सम्बन्ध चुँडिएको मन जस्तो हुन्छ, त्यस्तै पात झरेको विरुवा सम्झने चलन छ, नारायणगोपालको गीत जस्तो । तर तीनै पतझर जंगलहरूको चक्रलाई नियालेर हेर्ने हो भने भन्न सकिन्छ नारायणगोपालको उक्त गीतको बिम्व जुम्लाको जाडोमा गतल छ ।
कुरूपताभित्र पनि सुन्दरता हुँदो रहेछ । विश्वसुन्दरी प्रतियोगिता जस्तो केवल छालाको रंगमात्र हेर्ने हो भने मात्र जाडो र त्यससँग जोडिएको वातावरण कुरूप लाग्ने हो । यदि गहिरिएर हेर्ने हो भने जाडो पनि सुन्दर हुन्छ, जनजीवन कष्टकर भएर के भो त ? आखिर मान्छे जस्तोसुकै ठाउँलाई पनि अनुकुल बनाउन सक्छ केरे । जसरी हामी पारिजात, झमककुमारी घिमिरे, अरुणा रायलाई सुन्दर देख्छौं, त्यसरी जाडो पनि सुन्दर नै हुन्छ ।
साहित्यकारहरू बसन्त ऋतुलाई सुन्दर मान्दछन् । धेरैले बसन्त ऋतुलाई प्रेमसँग जोडेका छन् भने पात झर्ने जाडो समयलाई बिछोडको बिम्व मानेका छन् । तर हामी जाडो हुने ठाउँका मान्छेहरूका लागि त प्रेमको मौसम भनेकै जाडो हो । अधिकांशले विहे गर्ने समय पनि जाडो मौसम हुन्छ ।
कार्तिक पूर्णिमाको उज्यालो अनि चिसो रातमा मन साँट्नेहरू मंसिरमा बिहे गर्छन् । यदि कसैको प्रेम सम्बन्ध बिग्रियो भने झरेको पात जस्तो उजाड मन भनेर बिरह गाउने चलन छैन । बरु बिरहको देउडा गीत फरक खालको गाइन्छ । देउडा यस्तो हुन्छः–
नक्कल पाड्न्या ऐना छियो, उई पुनि फुटिगो ।
नआयै पुनीका (पूर्णिमा) रात, मायाजाल छुटिगो ।।
रित्तो पुसमा प्रेम गर्नेहरू पुनः माघ, फागुनमा बिहे गर्दछन् । जाडोमा यता हरेकको मन प्रेमिल हुन्छ । त्यसैले त जाडोमा यस्तो देउडा गाइन्छः–
झमक्क तरकारी होइजा, चम्डेइलो भात होइजा ।
तिम्रो मेरो भेट होइजा, पुसको रात होइजा ।।
जमेको बरफ, परेको हिउँ, बिहान मोति झैं टल्कने तुसारो, सुख्खा हावा, शरीर चिस्याउने तापक्रम, पात झरेका बिरुवाहरू पनि सुन्दर हुन्छन् । बाहिरी आवरण मात्र सुन्दर मान्नेहरूको लागि गतिलो जवाफ हो यो । यस्तै गर्दै जाडो पनि गइहाल्छ ।
चिसो हुँदै माघ बाईगयो, घाम हुँदै जेठ गयो ।
मैले भेट होइनला सोचेँ, मौकाले भेट भयो ।।
सोचाई आफ्नो आफ्नो मैले यत्ति जाने । बाँकी साथीहरूको मत ।’
‘साथीले आज दमदार दियो । क्या मन छोयो यार । दिदी हजुरको भन्दा राम्रो र रोचक स्टोरी टेलिङ स्टाईल है । दुःख नमान्नु होला ।’ बक्राम ।
‘आइतेले आगो बाल्छ भनेरै जिम्मा दिएको त हो नी । के को दुःख होला ? झन् खुशी पो भइन्छ नी ।’ झुमालै कफिको अन्तिम सर्काेमा कुरा सकाई । केटाकेटीले टेबल नम्बर सातलाई ब्रेकअप दिए ।
प्रकाशित मितिः १८ पुष २०७७, शनिबार ०९:४७
साझा बिसौनी ।