नेवारी परिकारको प्रवद्र्धनमा उर्मिला
फिचर
नेवारी समुदायमा महिनैपच्छिे चाडवाड परिरहन्छन् । सायद चाडपर्व धैरै मनाउने भएर पनि होला यो समुदाय खानाका विभिन्न परिकार बनाउनमा पनि सिपालु मानिन्छ । नेवार समुदाय खानाका परिकार बनाउनमा अन्य समुदायको तुलनामा अगाडि नै छ । ‘हाम्रो समुदायमा विविध किसिमका परिकार बन्छन् । नेवारी परिकारमा राम्रै रेसिपी पाइन्छ । थरी थरीका परिकार छन्,’ मिसा द्य देबु (नेवारी महिला समूह) की अध्यक्ष उर्मिला श्रेष्ठ भन्छिन् ।
उर्मिला गुल्मीमा जन्मे हुर्केकी हुन् । उनको समुदायमा नेवार संस्कारको प्रभाव निकै थियो । उर्मिलाको परिवार व्यवसायका क्रममा सुर्खेत आयो । उनको विहेवारी यतै भयो, नेवार समुदायमै । सुर्खेतमा भने उनलाई नेवारी परम्परा र संस्कारलाई महŒव नदिएको भान भयो । न नेवारी पहिचान झल्काउने भेषभूषा न खाना र खाजाका परिकारहरू । सुर्खेतको नेवार समुदायमा यस्तो अवस्था देखिन उर्मिलाले ।
उनले नेवारहरूको संस्कार र संस्कृति जोगाउने निधि गरिन् । त्यसकै प्रवद्र्धनमा उनी अहिले लागिरहेकी छन् । उर्मिलाको नेवारी खाना–खाजा परिकारको व्यवसाय सञ्चालनमा छ । सुरुमा उनले रोटीका परिकार पकाउँदै बेच्न थालिन् । आफ्नै समुदायलाई रोटीका विभिन्न परिकार पकाउन सिकाइन् पनि ।
व्यावसायिक रूपमा नेवारी परिकारको उत्पान तथा बिक्री वितरणमा लागेकी उनले सिजनमा यही व्यवसायबाट राम्रो आम्दानी गर्दै आएको सुनाइन् । ‘गएको वर्ष साढे चार लाखको व्यापार भएछ,’ उनले भनिन् । उर्मिलाको उक्त व्यवसायले एकातिर नेवारी परम्परा जोगाउन मदत पुगेको छ भने अर्कोतिर स्वरोजगार पनि बनाएको छ । उनले आफ्नो हातमा भएको सीप बेचेरै लाखौं कमाएकी हुन् । ‘सुर्खेतमा रोटीको माग बढी छ,’ उनले भन्छिन्, ‘वर्षमा मैले चारदेखि पाँच लाखसम्म आम्दानी गर्छु ।’
उनका श्रीमान् र छोराको जागिर छ । बिहान बेलुकीको छाक टार्न समस्या थिएन । हातमा भएको सीपलाई सदुपयोग गर्न नेवारी परिकार बनाउन थालेको उनी बताउँछिन् । उनको काममा बुहारीले पनि सघाउँदै आएकी छन् । पैसाको लागिभन्दा पनि नेवारी संस्कृति बचाउन आफूले काम गरिहेको उनले बताइन् ।
सुर्खेतमा नेवार समुुदायको बाक्लै बस्ती छ । तर, नेवारी कला संस्कृति र परिकारको भने उत्तिसारो चर्चा हुँदैन । समुदायका बुढापाकाहरूले आफ्नो संस्कार र संस्कृति बचाउन प्रयास गरे पनि नयाँ पुस्ताको रुचि यसमा देखिदैंन । आफूहरूको संस्कृति र परम्परा विस्तारै लोप हुने हो कि भन्ने चिन्ता यो समुदायका अगुवाहरूमा छ ।
उर्मिला ५८ वर्षकी भइन् । ‘जति उमेर पाको हुँदै गयो उति नै आफ्नो कला–संस्कृतिको माया लाग्ने रहेछ,’ उनले भनिन् । उनले नेवारी परिकार बेच्न थालेको झण्डै १५ वर्ष भयो । व्यावसायिक रूपमै थालेको भने पाँच वर्ष पुगेको छ । ‘अन्य ठाउँमा नेवारी परिकारहरूको माग धेरै छ । खोजी–खोजी खाने गरिन्छ । सुर्खेतमा भने रोटीबाहेकका परिकार त्यति नचलेको उनको अनुभव छ ।
यहाँ सिजनमा मात्रै नेवारी परिकारको राम्रो व्यापार हुने गरेको छ । उर्मिला दशैं र तिहारको समयमा रोटीको निकै हुने गरेको बताउँछिन् । अरु समयमा भने विवाह र उत्सवहरूमा अर्डर आएको खण्डमा मात्रै परिकार तयार गर्ने गरिएको उनले बताइन् । श्रेष्ठले गत वर्ष मात्रै करिब चार क्वीण्टल सिन्कामारी रोटी बिक्री गरेकी थिइन् । फिनीरोटी, सेलरोटी, अनरसा रोटी, कागतेरोटी, बनारसेरोटी लगायतका रोटीका परिकारहरू उनले बनाउँछिन् । उर्मिलाले अर्डर अनुसार नेवारी खाजा–खानाका सबै परिकार, समयबजी (चिउरा, अण्डा, भटमास, माछा, मासु, लसुन, अदुवा), तरकारीको परिकारमा चुकाउनी, टमाटरको भ्यातल, आलु फ्राई, गेडागुडी बनाउने गरेकी छन् । त्यस्तै मासुको परिकारमा छोयला, कचिला, भुटुवा, रसमासु र उत्सवहरूमा योमरीसमेत बनाउने गरेको उनले सुनाइन् । चाकु, मास, खुवा वा मासु हालेर बनाइएको परिकारलाई योमरी भनिन्छ ।
नेवारी महिला समूहको अध्यक्ष भएकाले उनको संस्थाप्रति पनि उत्तिकै जिम्मेवारी छ । उक्त समूहले पनि नेवारी परिकार पकाउने तालिम दिने गरेको छ । ‘मैले धेरेलाई व्यक्तिगत रूपमा निःशुल्क सीप सिकाएकी छु । पछिल्लो समय व्यवसायमा लाग्न चाहनेहरूलाई सामूहिक रूपमा तालिम दिने गरेका हौं,’ उनले भनिन् । आफूले कुनै पनि तालिम नलिइकनै अग्रजहरूबाट नेवारी परिकार पकाउन सिकेकी उर्मिला पछिल्लो पुस्तालाई तालिम दिएरै भए पनि सीप सिकाउन लागेकी हुन् । नेवार जातीका परम्परा र पहिचान गुम्न लागेकोमा चिन्ता व्यक्त गर्दै उनले भनिन्, ‘नेवारी परम्परा र संस्कृति जोगाउनु हाम्रो कर्तव्य हो । यसका लागि सबै जुटौं ।’
– सीता वली
प्रकाशित मितिः १८ पुष २०७७, शनिबार ०९:४४
साझा बिसौनी ।