विभाजनको कोपभाजनमा कार्यकर्ता

केन्द्रदेखि स्थानीय तहसम्म नेता तानातान, कोही गुट बदल्दै, केही भने ‘पर्ख र हेर’को मनस्थितिमा

औपचारिक घोषणा नभए पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको अन्तिम संघारमा छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) पक्षका रूपमा विभाजित पार्टीमा यतिबेला केन्द्रदेखि स्थानीय तहसम्मका नेता तथा कार्यकर्ताहरू पनि दुई समूहमा बाँडिएका छन् ।

पार्टी विभाजनपछि सबैभन्दा बढी स्थानीय नेता तथा कार्यकर्ता कोपभाजनमा परेका छन् । उनीहरूमा विभाजनपछिको कुन समूहमा लाग्ने भन्ने अन्योल देखिएको छ । प्रष्ट दुई कित्तामा विभाजित पार्टीमा आ–आफ्नो समूहमा नेता–कार्यकर्ता तान्न शीर्ष नेतृत्व नै लागेका छन् । पहिले गुट मात्रै हुँदा नखुलेका तल्लो कमिटीका नेताहरूलाई यतिबेला पार्टी विभाजनले सकस पारेको हो । दुवै समूहबीच नेता तानातान चलेको छ । राष्ट्रिय राजनीतिमा आएको बदलाबले प्रदेशदेखि स्थानीय तहसम्मै प्रभाव परेको हो । प्रदेश र जिल्ला तहमा जिम्मेवारीमा रहेका र चिनिएका कतिपय नेताहरू कुन समूहमा लाग्ने भनेर दोधारमा छन् । कतिपयले समूह र आफ्नो राजनीतिक भविष्य आँकलन गरेर ‘कित्ता क्लियर’ गरिसकेको अवस्था छ ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपामा पहिले नै विभिन्न गुट–उपगुट थिए । गुटगत राजनीतिको अभ्यासमा पोख्त यी दुई पार्टी एक हुँदा नेताहरूले गुटको राजनीतिकै सहारा लिए । एकतापछि पूर्व एमाले र माओवादी केन्द्रका फरक–फरक गुटहरू बनिनै रहे । लामो समय चलेको पार्टीको आन्तरिक विवादले फुटको अवस्थासम्म पुग्दा गुटगत राजनीति नेकपामा थप झाँगिदै गयो । गुटगत राजनीतिकै सिकार बनेको नेकपामा अहिले नेता कार्यकर्ता फकाउने होडबाजी चलेको छ ।

यतिबेला नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एक समूहको नेतृत्व गरेका छन् भने अर्को समूहमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल छन् । भावनात्मक रूपमा पार्टी विभाजन भइसकेको भए पनि कुन समूह पार्टीको आधिकारिक धार भन्नेमा कानुनी लडाइँ चलिरहेको छ । यद्यपि दुवै समूहले आफूहरू नै आधिकारिक नेकपा भएको दाबी गर्दै आएका छन् ।

पार्टी विभाजनको तरङ्गले माथिदेखि तलसम्मका कमिटीमा असर देखिएको छ । पूर्व एमालेको एक समूह नै प्रचण्ड पक्षमा उभिएपछि खासगरी तत्कालीन एमालेका नेताहरूलाई कुन कित्तामा उभिने भन्ने अन्योल छ । पार्टी विभाजनले कर्णाली प्रदेश सरकारमा समेत हलचल ल्याइदिएको छ । पूर्व माओवादीबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई जना प्रदेशसभा सदस्य ओली नेतृत्वको नेकपामा गएसँगै प्रदेश सरकारमा सत्ता समीकरणको जोड–घटाउ थालिएको छ । प्रदेशसभा सदस्यद्वय धर्मराज रेग्मी र ठम्मर विष्ट ओली नेतृत्वको नेकपा केन्द्रीय सदस्य बनेका हुन् ।

त्यस्तै, जिल्ला तहका नेताहरू पनि समूह अदल–बदलमा लागेका छन् । कतिपय प्रष्ट देखिने गरी विरोध र समर्थनमा जुटेका छन् भने केही ‘पर्ख र हेर’को स्थितिमा छन् । नेकपा सुर्खेतका जिल्ला कमिटी सदस्य कविन्द्रकुमार केसी प्रचण्ड–नेपाल समूहमा पुगेका छन् । उनी यसअघि सुर्खेतमा ओली समूहका भरपर्दो नेताका रूपमा चिनिन्थे । सिम्ता गाउँपालिकाका अध्यक्षसमेत रहेका केसीले प्रचण्ड–नेपाल पक्षको बैठकमा सहभागी भइ आफू यहीँ समूहमा रहेको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । उनको निर्णयले सुर्खेत क्षेत्र नम्बर १ को नेकपा राजनीतिमा निकै प्रभाव पर्ने ठानिएको छ ।

स्थानीय र जिल्लास्तरका केही नेताहरू भने अहिले पनि पार्टी आधिकारिकताको पर्खाइमा छन् । उनीहरूले जुन पक्षले आधिकारिकता पाउँछ उतै लाग्ने अभिव्यक्ति दिएका छन् । प्रचण्ड–माधव समूहका जिल्ला तहकै कतिपय नेताहरू नखुलेका हुन् । उनीहरू दुवै पक्षका विरोध तथा समर्थन सभाहरूमा पनि सहभागी भएका छैनन् । जुन समूहले कमिटीका जिम्मेवारी दिन्छ र पदमा लिन्छ उसैमा लाग्ने दाउ कतिपयको छ । त्यसका लागि उनीहरू शीर्ष नेतृत्वसँगको छलफलमा छन् ।

लामो कलहपछि विभाजित नेकपाको मूल नेतृत्व मात्रै होइन पेसागत र शुभेच्छुक संगठनहरूमा समेत फुटको अवस्था आएको छ । केन्द्रदेखि स्थानीय कमिटीसम्म आ–आफ्नो समूहका नेता चयन गर्नेदेखि कार्यविभाजन समेत भइसकेको छ । पछिल्ला केही दिनयता दुवै समूहले विभिन्न जिल्लाहरूमा आफ्नो समूहको शक्ति प्रदर्शनसमेत गरिसकेका छन् भने दुवै समूहले स्थानीय तहसम्म गुटगत भेला र प्रशिक्षण लगायतका गतिविधि पनि सञ्चालन गरिरहेका छन् ।

प्रकाशित मितिः   १७ पुष २०७७, शुक्रबार १२:०९