गैरजिम्मेवार दल

कोरोना भाइरस (कोभिड–१९) को महामारीले मुलुक अझै आक्रान्त छ । हरेक दिन नयाँ संक्रमित थपिएका छन् । जोखिम घटेको छैन । कतिपय मुलुकमा नयाँ प्रकृतिको भाइरस भेटिएपछि थप त्रास बढेको छ । खोपको अनेक परीक्षण भइरहे पनि अपेक्षित सफलता हासिल हुन सकेको छैन । तर यस्तो जोखिमको अवस्थामा पनि नेपालमा भने आवश्यक सतर्कता अपनाइएको छैन । पछिल्लो समय दिनहुँ सडकमा आन्दोलन, आमसभा र भेला भइरहेका छन् । त्यो पनि जिम्मेवार राजनीतिक दलहरूबाटै । राजनीतिक विवाद सडकमा पोखिदा यसले कोरोना संक्रमण फैलाउनसक्ने जोखिमलाई पूर्ण रूपमा बेवास्ता गर्दै दलहरूले गैरजिम्मेवारीपन देखाएका छन् ।

कोरोना संक्रमणकै त्रासले सबै शैक्षिक संस्थाहरू नियमित सञ्चालन हुन सकिरहेका छन् । अन्य थुप्रै महŒवपूर्ण कार्यहरू अवरुद्ध भइरहेका छन् । सरकारले पनि अनावश्यक भेला नगर्न भनेको छ । स्वास्थ्यसँग सम्बन्धित निकाय र विज्ञहरूले समेत पटक–पटक सचेत गराइरहेका छन् । यद्यपि राजनीतिक दललाई त्यसको प्रवाह छैन । उनीहरू आफ्नो स्वार्थअनुसार भेला र सभा गर्दै हिँडिरहेका छन् । पछिल्लो समय सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवादका कारण देशभर ठूला–साना सभाहरू नियमित भइरहेका छन् । यस्ता गतिविधिले निम्त्याउने जोखिमलाई सम्बन्धित पक्षले ध्यान दिएको देखिदैन । राजनीतिक दलहरू यतिसम्म गैरजिम्मेवार बन्न मिल्छ ? उनीहरूका यिनै गतिविधिहरूका कारण कोरोनाको संक्रमण बढेमा त्यसको जिम्मेवारी कसले लिन्छ ?

कोरोनाको जोखिम अहिले पनि उस्तै छ । दैनिक थपिने संक्रमितको तथ्याङ्कले त्यसलाई पुष्टि गर्छ । तर, पछिल्लो समय राजनीतिक घटनाक्रमले भने कोरोना बिर्साइदिएको छ । विश्वलाई आक्रान्त पारेको कोभिड–१९ को बेवास्ता गर्दै सत्ता पक्ष र प्रतिपक्ष सबै यतिबेला सडकमा भेला र आमसभा गरिरहेका हुन् । प्रतिनिधिसभा विघटनपछि सत्ता पक्ष र प्रतिपक्ष दलहरू सडकमा पुगेका छन् । कोही सरकारको पक्षमा प्रदर्शन गरिरहेका छन् भने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका दलले केपी शर्मा ओली सरकारकाविरुद्ध प्रदर्शन जारी राखेका छन् । हजारौंको भिड हुने आन्दोलनमा भौतिक दूरीलगायतका स्वास्थ्य सावधानी अपनाउने छैन । समुदायस्तरमा संक्रमण व्यापक भएका बेला दलहरूको गैरजिम्मेवारीले कोभिडले भयावह स्थिति लिन सक्ने चिकित्सकहरू बताउँछन् ।

सैलुन, ब्यूटीपार्लर र फिल्म हल लगायतका भिडभाड हुने र जोखिम बढी भएका स्थानहरू अहिले पनि पूर्ण रूपमा खुल्न सकेका छैनन् । यसअघि सञ्चालनमा आएका थुप्रै शैक्षिक संस्था फेरि बन्द हुन पुगे । यस्तो अवस्थामा दलहरूलाई जोखिमयुक्त गतिविधि गर्न दिनु उपयुक्त होइन । राजनीतिक दल आफै जिम्मेवार हुन जरुरी छ । उनीहरूले गर्ने राजनीतिक नागरिक हितमा हो भने नागरिककै ज्यान जोखिममा पर्ने खालका गतिविधि सञ्चालन नगर्नु उनीहरूको दायित्व हो । आक्रोश पोख्ने र विरोध गर्ने माध्यम तथा त्यसको शैली परिवर्तन गर्न सकिन्छ । तर कुनै पनि हालतमा उपचारकै टुङ्गो नभएको कोरोना भाइरसको संक्रमणजस्तो महामारीसँग खेलवाड गर्नु हुँदैन । यसतर्फ सम्बन्धित सबैको ध्यान पुग्न जरुरी छ ।

प्रकाशित मितिः   १७ पुष २०७७, शुक्रबार १२:०६