कांग्रेसले मनायो मेलमिलाप दिवस
सुर्खेत: नेपाली कांग्रेसले बिहीवार राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ । वि.सं. २०३३ पुस १६ गते तत्कालीन कांग्रेस सभापति वीपी कोइराला र नेता गणेशमान सिंह मेलमिलापको नीति लिएर भारतबाट नेपाल फर्किएको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष मेलमिलाप दिवस मनाउँदै आएको छ ।
दिवसको अवसरमा नेपाली कांग्रेस सुर्खेतले वीरेन्द्रनगरमा राष्ट्रिय एकता तथा मेलमिलापको महŒव र औचित्य’का विषयमा कार्यकर्तासँग छलफल गरेको छ । कार्यक्रममा सहभागीहरूले दलहरूले मेलमिलापको नीति अंगिकार गर्न नसक्दा मुलुक संकटमा फसेका बताएका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री हृदयराम थानीले पाँच वर्ष शासन चलाउने भनी नेकपाको दुई तिहाईको सरकार मेलमिलापको नीति कार्यान्वयन गर्न नसक्दा दुर्घटनामा परेको बताए । उनले मेलमिलापको अभावले पार्टी मात्र होइन सिंगो देश नै दुर्घटनामा परेकोले अब कांग्रेसले मात्रै मुलुकको संकट पार गर्नसक्ने दावी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर असंवैधानिक काम गरेको आरोप लगाउँदै उनले मेलमिलापको नीति अंगिकार गर्न आग्रह गरे । वीपी कोइरालाले नेपाली जनतालाई केन्द्रमा राखेर काम गरेको स्मरण गर्दै उनले वीपीले प्रतिपादन गरेको मेलमिलापको नीतिकै बाटोबाट देशमा शान्ति सम्झौतादेखि संविधान निर्माण समेत बताए ।
पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालले वीपीले लिएको नीतिमा कांग्रेस हिँड्न नसकेको आरोप लगाए । अब नेतृत्वकर्ताले यसबारे सचेत हुनुपर्ने समय आएको उनको भनाइ थियो । नेकपाको सरकारले जनताको अभिमतलाई अपमान गरेको गुनासो गरेका बस्यालले लोकतन्त्रको रक्षा गर्न कांग्रेसको आवश्यकता खड्किएको धारणा राखे ।
कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व डीन पीताम्बर ढकाल, कांग्रेसका क्षेत्रीय सहसभापति नारायण कोइराला, सचिव भुपेन्द्र खत्री, कांग्रेसका पूर्व उपसभापति कालीप्रसाद शाक्य, पूर्व सचिव नरेन्द्र कोइराला, महिला संघका अध्यक्ष पार्वती गिरी, जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देल लगायतले अहिले पनि राष्ट्रिय एकता र मेलमिलापको नीति सान्दर्भिक भएको र व्यवहारमा लागू गर्न आग्रह गरेका थिए ।
प्रकाशित मितिः १७ पुष २०७७, शुक्रबार ०६:०१
साझा बिसौनी ।