कोरोना बिर्सेर सडकमा
जोखिमको बेवास्ता, विद्यालय बन्द, दलका आमसभामा हजारौंको भेला
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण त्रासले कतिपय विद्यालय अझै सञ्चालनमा आएका छैनन् । स्थानीय प्रशासन र पालिकाहरूले जोखिमको आँकलन गरी भिडभाड हुने व्यवसायसमेत सञ्चालनमा रोक लगाउँदै आएका छन् । कोरोनाको जोखिम अहिले पनि उस्तै छ । दैनिक थपिने संक्रमितको तथ्याङ्कले त्यसलाई पुष्टि गर्छ ।
कोरोनाका कारण देशभर दैनिक ठूलो संख्यामा संक्रमितहरूको ज्यान गइरहेको छ । तर, पछिल्लो समय राजनीतिक घटनाक्रमले भने कोरोना बिर्साइदिएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विभाजनले हजारौं मानिसहरू सडकमा उत्रिएका छन् । विश्वलाई आक्रान्त पारेको कोभिड–१९ को बेवास्ता गर्दै सत्ता पक्ष र प्रतिपक्ष सबै यतिबेला सडकमा भेला र आमसभा गरिरहेका हुन् ।
प्रतिनिधिसभा विघटनपछि सत्ता पक्ष र प्रतिपक्ष दलहरू सडकमा पुगेका छन् । कोही सरकारको पक्षमा प्रदर्शन गरिरहेका छन् भने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका दलले केपी शर्मा ओली सरकारकाविरुद्ध प्रदर्शन जारी राखेका छन् । हजारौंको भिड हुने आन्दोलनमा भौतिक दूरीलगायतका स्वास्थ्य सावधानी अपनाउने छैन । समुदायस्तरमा संक्रमण व्यापक भएकाबेला दलहरूको गैरजिम्मेवारीले कोभिडले भयावह स्थिति लिन सक्ने चिकित्सकहरू बताउँछन् ।
लामो समय बन्द रहेका विद्यालय गएको मंसिर पहिलो सातादेखि खुलेका थिए । तर, विद्यालयमा नै संक्रमण देखिन थालेपछि केही विद्यालय अझै बन्द अवस्थामा छन् । धेरै विद्यालयको पठनपाठन अहिले पनि प्रभावित नै छ ।
मंसिर अन्तिम सातातिर सुर्खेतका तीन वटा विद्यालय बन्द भए । ती विद्यालय एकसातापछि मात्रै खुले । शिक्षक र कर्मचारीलाई संक्रमण देखिएपछि विद्यालय बन्द गरिएका थिए । हुम्लामा दुई वटा विद्यालयमा शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखियो । संक्रमणको जोखिम उच्च रहेको भन्दै जिल्लाभर नै विद्यालय बन्द गरिए । त्यहाँका कतिपय विद्यालय अहिले पनि खुलेका छैनन् ।
सैलुन, ब्यूूटीपार्लर र फिल्म हल लगायतका भिडभाड हुने र जोखिम बढी भएका स्थानहरू अहिले पनि पूर्ण रूपमा खुल्न सकेका छैनन् । न्यून परीक्षण हुँदा पनि नेपालमा दैनिक पाँच सयदेखि एक हजारसम्म कोरोना संक्रमित थपिने गरेका छन् । कर्णाली प्रदेशमा पछिल्ला दिनहरूमा दिनहुँजसो २५/३० जनाको हाराहारीमा संक्रमित थपिन्छन् । संक्रमणको जोखिम बढ्दो भए पनि परीक्षणलाई भने बढाइएको छैन । तर पछिल्लो राजनीतिक घटनाक्रमले कोभिड भुलेर भीड लाग्ने गरेको छ । जोखिमकै अवस्थामा सार्वजनिक स्थानमा यस्ता दृश्य देखिनु राम्रो नभएको जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।
केही दिनयता कोरोना बिर्साउने गरी सडकमा भीड लाग्ने गरेको छ । सुरक्षा सावधानीविना भिडभाड र आमसभा तथा भेलाहरूको आयोजना हुन थालेको हो । सरकारले यसको नियन्त्रण गर्न नसक्दा झन् जोखिम बढ्ने आँकलन चिकित्सकहरूको छ । प्रदेश अस्पतालमा कार्यरत डा. नवराज केसीले यतिबेला आन्दोलन र भेलाहरू गर्ने उपयुक्त समय नभएको बताए । सडकमा देखिएका अस्वाभाविक दृश्यले आगामी दिनमा जनस्वास्थ्यमा ठूलो समस्या निम्ताउन सक्ने उनले बताए । ‘अहिले नयाँ प्रकृतिको भाइरस भेटिएकाले पनि थप सचेत हुन आवश्यक छ,’ उनले भने, ‘कोरोनाको नयाँ भाइरस आयो भन्ने छ । पहिलेको तुलनामा ६ देखि १२ गुणासम्म भाइरस फैलिन सक्ने भनिएको छ ।’ यस्तो अवस्थामा भेला र आमसभा गरिनु मूर्खता हुने बताए ।
सडकमा भइरहेका भेला, आमसभाले विद्यालयहरूलाई पनि त्रसित बनाएको छ । पश्चिम सुर्खेतको सूर्यप्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश ढकालले बाहिर यसरी भीडभाड हुने भए विद्यालय बन्द गर्नुको औचित्य नहुने बताए । केही दिन पहिले उक्त विद्यालयका ११ जना शिक्षकलाई कोरोना संक्रमण देखिएको थियो । शिक्षकलाई संक्रमण देखिएपछि झण्डै २० दिन विद्यालय बन्द गर्नुपरेको उनले बताए । गएको आइतवारदेखि विद्यालयमा पुुनः पठनपाठन सुरू गरिएको छ । सडकमा हुने आमसभा, भेला र जमघटले आफूहरूलाई झनै त्रास भएको बताए । ‘सडकमा हजारौं मानिसहरू भेला भएको देख्छु । गाडीमा त्यस्तै कोचाकोच हुन्छ । सरकारी कार्यालय र सार्वजनिक स्थानमा त्यही अवस्था छ । यता बालबालिकाले पढ्न पाइरहेका छैनन्,’ उनले भने । उनले सरकारले जोखिमपूर्ण भेला र आमसभा नियन्त्रण गर्नुपर्ने बताए ।
अमरज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले सडकमा भइरहेका राजनीतिक दलका जुलुस र आमसभाले जोखिम बढाएको बताए । ‘विद्यालयबाट कोरोना संक्रमण फैलिने जोखिम उच्च छ भनिन्छ । हामीले सोही अनुसार सुुरक्षा सावधानी अपनाएर पढाइ सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘तर सडकमा भइरहेका गतिविधिले हामीलाई झस्काइरहेको छ ।’ प्रधानाध्यापक थापाले राजनीतिक दलले कोरोना महामारीको बेलामा जनताको जीवनसँग खेलवाड गरिरहेको बताए । विद्यालयहरूले कोरोना संक्रमणको डरले भिडभाड कम गराउन आलोपालो गरेर कक्षा सञ्चालन गर्दै आएका छन् ।
प्रकाशित मितिः १६ पुष २०७७, बिहीबार ०८:००
साझा बिसौनी ।