सामूहिक कर्ममा महिला नेतृत्व

वीरेन्द्रनगर–११ मा शिवशक्ति सामुदायिक वन उपभोक्ता समिति छ । समितिको कार्यसमितिमा पनि ११ जना महिलाहरू छन् । विगत १५ वर्षदेखि पुरुषहरूले नेतृत्व गर्दै आएको सामुदायिक वनमा तीन वर्षयता महिला छन् । उनीहरूले पाएको जिम्मेवारी कुशलतापूर्वक हाँकेका छन् । वन जंगलको संरक्षण सँगसँगै उनीहरू यतिबेला सामूहिक तरकारी खेतीमा जुटेका हुन् । एक विगाहा जमिनमा तरकारी खेती छ । सामूहिक खेतीमा आलु, काउली, प्याज, लसुन र च्याउ लगाइएको छ । वन क्षेत्रमा अम्रिसो लगाइ त्यसबाट समेत समितिको आम्दानी बढाइएको छ ।

वन उपभोक्ता समितिमा रहेर जंगल संरक्षणका लागि काम गरिरहेका उनीहरू व्यावसायिक खेतीतर्फ पनि आकर्षित भएका हुन् । शिवशक्तिको नेतृत्व कृषि समूह बनाइ सामूहिक तरकारी खेतीमा लागेको हो । महिलाहरूलाई आर्थिक उपार्जनसँग जोड्न जमिन भाडामा लिएर सामूहिक खेतीमा लागेको वन उपभोक्ता समितिकी अध्यक्ष मीना आचार्य बताउँछिन् । उक्त कृषि समूहमा करिब दुई सय महिलाहरू आवद्ध छन् । ‘यो सुरुवाती चरण हो । एक विगाहा जमिनमा कृषि समूहका बोर्ड सदस्यहरूले तरकारी खेती गर्दै आएका छौं,’ अध्यक्ष आचार्यले भनिन्, ‘विस्तारै समूहका सबै दिदीबहिनीलाई सहभागी गराउने लक्ष्य छ ।’

उपभोक्ता समितिमा महिलाहरूको नेतृत्व आएपछि विगतमा हुने गरेका बेथिति रोकिएको स्थानीयले बताएका छन् । उनीहरूले जंगल क्षेत्र हराभरा बनाउन विभिन्न अभियान तथा समितिका भौतिक संरचना निर्माणमा समेत थुप्रै काम गरेको स्थानीयको भनाइ छ । पुरुषले महिलालाई नपत्याउँदा जबरजस्ती नेतृत्व लिनुपरेको अध्यक्ष आचार्यले बताइन् । उनका अनुसार समितिले हाल करिब दुई सय ९० हेक्टर वनक्षेत्रको संरक्षण गर्दै आएको छ । समिति सामाजिक काममा पनि उत्तिकै सक्रिय रहेको आचार्यले बताइन् । त्योबाहेक समितिको विधान निर्माण, हरेक वर्ष वृक्षारोपण, दैनिक वन गस्ती लगायतका काम समितिले गरेको छ ।

आफूहरू नेतृत्वमा जाँदा सुरूवाती दिनहरूमा समुदाय र परिवारले विश्वास नगरेको सम्झदै समितिकी उपाध्यक्ष गीता सुनारले अहिले जंगलको संरक्षणसँगै आर्थिक रूपमा समेत सशक्त भएको सुनाइन् । ‘म पहिले गृहिणी मात्रै थिएँ,’ उनले भनिन् ‘वन समितिको नेतृत्व लिएपछि आत्मविश्वास बढेको छ । हामीले समितिलाई आर्थिक र भौतिक रूपमा सवल बनाएका छौं ।’ वन समितिमा आवद्ध सात सय ५० घरधुरी उपभोक्ता सबैलाई व्यावसायिक कृषिमा जोड्ने आफूहरूको लक्ष्य रहेको उनले बताइन् ।

समितिमार्फत तरकारी खेती गर्न थालेको ६ महिना भएको छ । तरकारी उत्पादन राम्रो भएकाले आम्दानीको चरणमा पुगेको समितिका पदाधिकारी बताउँछन् । कृषि समूहका समस्यहरूले नै आलोपालो गरेर तरकारी बारीमा काम गर्ने गरेका छन् । तरकारी खेतीमा भएको खर्च र आएको आम्दानी समूहमा बराबर वितरण गरिने उनीहरूले बताए ।

वीरेन्द्रनगर–११ का स्थानीय दुर्गा थापाले आफू वन उपभोक्ता समितिमा नभए पनि कृषि समूहमा आवद्ध भइ सामूहिक तरकारी खेती गर्दै आएको बताइन् । सामूहिक तरकारी खेती र वन संरक्षणबाहेक उपभोक्ता समितिले हरेक वर्ष स्थानीय चार वटा बालविकास केन्द्रहरूलाई २४ हजार रूपैयाँ आर्थिक सहयोग गर्दै आएको छ । त्यस्तै, शिव माध्यमिक विद्यालय धुलियाविटमा कृषि विषय पढाइ हुन थालेपछि आवश्यक डेस्क, बेन्चको समेत प्रबन्ध समितिले गरेको छ ।

प्रकाशित मितिः   १३ पुष २०७७, सोमबार ०९:५२