कोरोनाबाट सुर्खेतमा १५ जनाको मृत्यु
कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका २६ जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार मृत्यु हुनेमा सुर्खेतका मात्रै १५ जना हुन् । सुर्खेतमा कोरोना संक्रमण पुष्टि भएका थप एक जनाको आइतवार मृत्यु भएको हो ।
वीरेन्द्रनगर–६ की ८२ वर्षीया महिलाको कोरोनाका कारण ज्यान गएको महाशाखाले जनाएको छ । उनलाई सास फेर्न कठिनाइ र ज्वरोको समस्या देखिएपछि पुस १० गते प्रदेश अस्पतालमा भर्ना गरिएको थियो । महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले कोरोना परीक्षणको क्रममा संक्रमण देखिएको र स्वास्थ्यमा सुधार नभइ आइतवार बिहान मृत्यु भएको जानकारी दिए ।
हालसम्म कोरोना संक्रमणका कारण दैलेखका ६, कालीकोट, डोल्पा, रुकुम–पश्चिमका एक÷एक जना र अन्य प्रदेशका दुई जनाको ज्यान गएको छ ।
प्रदेशमा आइतवार कोरोना संक्रमणमुक्त हुनेको संख्या ८५ रहेको छ । सुर्खेतका ३३, सल्यानका ५०, डोल्पा र जुलाका एक÷एक जना संक्रमणमुक्त भएका हुन । योसँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ हजार नौ सय ३९ पुगेको छ । हालसम्म कर्णालीमा सात हजार दुुई सय ७७ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार देशभर कोरोना संक्रमितको संख्या दुई लाख ५८ हजार एक सय ८१ जना पुगेको छ । आइतवार थप चार सय ८१ जनामा संक्रमण पुष्टि भएको हो । त्यसमध्ये दुई लाख ४९ हजार आठ सय ६३ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा अब ६ हजार चार सय ९३ जना कोरोनाका सक्रिय संक्रमित छन् । संक्रमितमध्ये एक हजार आठ सय २५ जनाको मृत्यु भएको छ ।
प्रकाशित मितिः १३ पुष २०७७, सोमबार ०९:४६
साझा बिसौनी ।