कोरोना परीक्षणमा ‘एन्टिजेन’ विधि

पहिलो चरणमा सुर्खेतको वीरेन्द्रनगर र दैलेखको दुल्लू नगरपालिकामा परीक्षण गरिने

पहिलो चरणमा सुर्खेतको वीरेन्द्रनगर र दैलेखको दुल्लू नगरपालिकामा परीक्षण गरिने


समुदायमा कोरोना भाइरस ‐कोभिड–१९) संक्रमणको अवस्था एकिन गर्न एन्टिजेन विधिबाट परीक्षण गरिने भएको छ । कर्णाली प्रदेशमा पहिलो चरणमा सुर्खेतको वीरेन्द्रनगर र दैलेखको दुल्लू नगरपालिकामा एन्टिजेन परीक्षण गर्न लागिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले संघीय सरकारको समन्वयमा यी दुई पालिकाको संक्रमणको अवस्था एकिन गर्न परीक्षण गर्ने तयारी थालेको जनाएको हो ।

पीसीआर परीक्षणका लागि नमुना दिएपछि त्यसको नतिजा आउन लामो समय लाग्ने गरेको छ । जसले गर्दा संक्रमण झनै फैलने जोखिम रहन्छ । एन्टिजेन विधिबाट गरिने परीक्षण सहज र नतिजा पनि छिटो आउने बताइएको छ । चिकित्सकहरूका अनुसार समुदायमै गएर स्वाब संकलन गर्न सकिने र आधा घण्टामै रिपोर्ट आउने भएकाले यो विधि समुदायमा बढी प्रभावकारी हुने ठानिएको छ । एन्टिजेन परीक्षण भाइरसको प्रकृतिअनुसार प्रभावकारी रहने उनीहरू बताउँछन् ।

सरकारले संक्रमणको अवस्था समुदायस्तरमा कस्तो छ भनेर यकिन गर्न एन्टिजेन परीक्षणलाई अघि सारेको छ । कम खर्चिलो र परीक्षण पनि छरितो हुने भन्दै उक्त परीक्षणलाई प्राथमिकता दिइएको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पहिलो चरणमा सुर्खेत र दैलेखमा करिब पाँच हजार जनाको एन्टिजेन परीक्षण गरिनेछ । बढी जनसंख्या भएको, कोरोनाको जाखिम उच्च रहेको र संक्रमित बढी भएका ठाउँ छनोट गरेर परीक्षण गर्न लागिएको निर्देशनालयका किटजन्य रोग नियन्त्रक अधिकृत श्याम आचार्यले बताए । ‘अहिले हामीले कोरोना संक्रमणको जोखिम बढ्यो त भनेका छौँ । तर कति बढेको छ र कुन अवस्थामा छ भनेर निक्र्यौल गर्न सकिएको छैन,’ उनले भने, ‘एन्टिजेनबाट परीक्षण गरेपछि समुदायको पछिल्लो अवस्था आउँनेछ ।’ दुई ठाउँमा परीक्षण गरिसकेपछि अन्य जिल्लामा पनि विस्तार गर्ने तयारी रहेको उनले बताए । त्यसका लागि स्थानीय तह र सम्बन्धित सरोकारवालाहरूसँग छलफल भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिजेन विधिबाट परीक्षण गर्ने जिम्मा इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखालाई दिएको छ । महाशाखाले सुरूमा हटस्पटको रूपमा देखिएका देशका विभिन्न ठाउँबाट एन्टिजेन परीक्षण थालनी गरेको छ । एन्टिजेन पोजेटिभ देखिएका व्यक्तिको भने पुनः पीसीआर विधिबाट परीक्षण गरिने जनाइएको छ । पोजेटिभ आउनेबित्तिकै आइसोलेसनमा लाने र पुनः पीसीआर गर्ने भनिएको छ । एन्टिजेनले ३० देखि माथिको सिटी भ्यालू भए भाइरसलाई समात्न नसक्ने चिकित्सकहरूले बताएका छन् । तर, सरकारले तय गरेको निर्देशिकामा एन्टिजेन परीक्षणबाट पोजेटिभ आएको नतिजालाई पनि पोजेटिभ नै मान्ने भनिएको छ ।

संकलन गरिएका नमुनामा यस्ता भाइरल एन्टिजेनको पहिचान गर्न सके उक्त नमुनामा कोरोना भाइरस छ भन्ने संकेत गर्छ । यसरी गरिने परीक्षणलाई एन्टिजेन टेस्ट भनिन्छ । यस परीक्षणका लागि पीसीआर टेस्टमा जस्तै नेजोफ्यारेन्जियल स्वाब र ओरोफ्यारेन्जियल स्वाबलाई नमुनाको रूपमा संकलन गरिन्छ । तर पीसीआर र एन्टिजेन टेस्टमा भने केही भिन्नता छन् । पीसीआर विधिमा कोरोना भाइरसको आनुवंशिक तत्व (आरएनए) को उपस्थिति पत्ता लगाइन्छ भने एन्टिजेन टेस्टमा कोरोना भाइरसको प्रोटिनको टुक्राको पहिचान गरिन्छ ।

कर्णालीमा कोरोना संक्रमणको दर घटेको छैन । यहाँ दैनिकजसो लक्षणसहितका संक्रमित भेटिने गरेका हुन् । पछिल्लो समय स्वास्थ्य सुरक्षा सावधानी अपनाउन छोडेपछि संक्रमणको जोखिम झनै बढ्दै गएको हो । जमघट, आमसभा तथा भेलाहरू हुुने र विद्यालय सञ्चालनमा आएसँगै त्यहाँ पनि संक्रमणको जोखिम उच्च छ । कतिपय विद्यालयमा संक्रमण फैलिएपछि पठनपाठन नै बन्द गर्नु परेको छ ।

प्रदेशमा कोरोना परीक्षणको दायरा साँघुुरो छ । चार स्थानबाट मात्र पीसीआर परीक्षण हुँदै आएको छ । प्रदेशमा अहिलेसम्म ९५ हजार पाँच सय ८० जनाको कोरोना परीक्षण गरिएको छ । हाल दैनिक एक/डेढ सय जनाको हाराहारीमा परीक्षण हुने गरेको हो । लक्षण देखिएकाहरूको मात्रै परीक्षण गरिँदा संख्या न्यून देखिएको स्वास्थ्यकर्मीहरूको भनाइ छ । पीसीआर परीक्षण कम भएको बेला समुदायको अवस्था थाहा पाउन एन्टिजेन विधि उपयुक्त हुने र त्यसले दिने रिजल्टका आधारमा रोकथाम तथा नियन्त्रणका योजना बनाउन सहज हुने सरकारी अधिकारीहरूले बताएका छन् ।

हाल प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमित सुर्खेतमा छन् । यहाँ संक्रमितको संख्या तीन हजार एक सय ४४ पुगेको छ । पछिल्ला दिनमा भेटिएका अधिकांश संक्रमित सुर्खेतका हुन् । दैनिक पुष्टि संख्यामध्ये झण्डै आधाभन्दा बढी सुर्खेतका संक्रमित हुने गरेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जनाए । प्रदेश राजधानी र बढी चहलपहल हुने भएकाले अन्य ठाउँको तुलनामा वीरेन्द्रनगरमा संक्रमित बढी रहेको उनले बताए । सुर्खेतमा स्वाब संकलन भएकामध्ये करिब ७० प्रतिशत पोजेटिभ केस आउने गरेको छ । प्रदेशभर २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमध्ये १४ जना सुर्खेतका हुन् । त्यस्तै, दैलेखका ६, डोल्पा, कालीकोट, रुकुुम–पश्चिमका एक÷एक जना र अन्य प्रदेशका दुई जनाको मृत्यु भएको छ । वाग्लेले अब वीरेन्द्रनगरमा एन्टिजेन परीक्षण गर्ने तयारी भइरहेकाले यहाँको अवस्था कस्तो छ भनेर स्पष्ट हुने बताए ।

यसैबीच, प्रदेशमा शनिवार थप आठ जनामा कोरोना देखिएको छ । योसहित संक्रमितको संख्या सात हजार दुई सय ७७ पुगेको छ । अहिलेसम्म ६ हजार आठ सय बढी कारोना संक्रमणमुक्त भएका छन् । तीन सय ९८ जना सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । स्वास्थ्य महाशाखाका प्रमुुख बृषबहादुर शाहीले लक्षणसहितका संक्रमित बढेको बताए । उनका अनुसार १५ देखि २० प्रतिशतसम्म लक्षणसहितका संक्रमित भेटिने गरेका हुन् । तीमध्ये दुई प्रतिशत संक्रमित गम्भीर प्रकृतिका छन् ।

प्रकाशित मितिः   १२ पुष २०७७, आईतवार ०६:०४