मुलुकी संहिताबारे प्रशिक्षण

मुलुकी संहिताबारे सरोकारवालालाई प्रशिक्षण दिइएको छ । मुलुकी देवानी र मुलुकी फौजदारी संहितामा भएका व्यवस्थाबारे एकदिने प्रशिक्षण कार्यक्रम गरिएको हो । नवज्योति केन्द्र सुर्खेतको आयोजनामा जिल्ला न्यायाधीस डा. राजेन्द्रकुमार आचार्यले प्रशिक्षण दिएका हुन् । नवज्योति केन्द्रको सञ्जालमा आवद्ध महिला तथा सञ्जालमा आवद्ध बालिकाहरूलाई प्रशिक्षण दिइएको हो । घरेलुहिंसा, सम्बन्धविच्छेद, बालविवाह, खानाखर्च लगायतका विषयमा पुरानो ऐनमा भएको कानुनी व्यवस्था र नयाँ कानुनी व्यवस्थाका विषयमा प्रशिक्षण दिइएको अधिवक्ता गीता कोइरालाले जानकारी दिइन् ।

प्रशिक्षण कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश आचार्यले महिलाहरू कम्तीमा पनि कानुनी व्यवस्थाको बारे जानकार हुनुपर्ने बताए । आफूलाई अन्याय परेको खण्डमा कानुनी बाटो कसरी अपनाउने भन्ने विषयमा जानकारी भए न्यायिक प्रक्रियामा सहज हुने उनले जनाए । पछिल्लो समय महिलाहरू मात्रै नभइ पुरुषहरू समेत पीडित भएको भन्दै कानुनी सचेतना सबैको लागि आवश्यक रहेको न्यायाधीश आचार्यको भनाइ थियो ।

अधिवक्ता गीता कोइरालाले अधिकांश पीडितहरू कानुनी उपचार खोज्ने प्रक्रियामै अलमल पर्ने गरेको बताइन् । ‘कहाँ जाने र कसरी न्याय पाइन्छ भन्ने कुराको जानकारी नै हुँदैन,’ उनले भनिन्, ‘अरुको सहारामा सम्बन्धित निकायसम्म आउँदा घटना मोडिन्छ ।’ उनले वास्तविक पीडितलाई न्याय दिनको लागि कानुनी सचेतनाका कार्यक्रम आवश्यक रहेको औंल्याइन् ।

नवज्योति केन्द्र प्रमुख सिस्टर रोसिटाले विभिन्न खाले हिंसाबाट पुरुषहरू पनि पीडामा रहेको र कानुनी उपचार खोजिरहेको बताइन् । ‘अब कानुनी सचेतना लैङ्गिक हिसाबले होइन आवश्यकताको आधारमा दिनुपर्छ,’ उनले भनिन् । बालविवाह, बहुविवाह र घरेलु हिंसालगायतका मुद्दामा महिला र पुरुष दुवै सचेत हुनुपर्ने उनको भनाइ थियो । उक्त प्रशिक्षण कार्यक्रममा ३० जनाको सहभागिता थियो ।

प्रकाशित मितिः   १२ पुष २०७७, आईतवार ०६:००