राज्यको गैरजिम्मेवारीपन

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणमा आएको छैन । विश्वभर यसको प्रभाव कायमै छ । कतिपय मुलुकमा त पछिल्लो समय नयाँ प्रकृतिको भाइरस संक्रमण फैलिन थालेको छ । यसले अर्को त्रास बढाएको छ । सामान्य बन्दै गएको जीवनयापन फेरि संकटउन्मुख हुन थालेको देखिन्छ । तर यस्तो संकटबाट बच्न गम्भिरतापूर्वक कुनै तयारी गरिएको छैन । बेवास्ता र हेलचक्य्राइँ बढ्दै छ । सरकारले पनि आवश्यक सतर्कताका योजना कार्यान्वयन गरिरहेको छैन । पूर्वाधार विकास र स्वास्थ्य संरचना विकासमा ध्यान पुगेको छैन । सार्वजनिक गरिएका योजना नै अलपत्र परेका छन् । जसमध्ये एक हो, अक्सिजन जेनेरेटर प्लान्ट निर्माण गर्ने योजना ।

कर्णाली प्रदेश सरकारले प्रदेशका १० वटै जिल्लामा अक्सिजन जेनेरेटर प्लान्ट बनाउने निर्णय गरेको थियो । निर्णय भएको झण्डै ६ महिना पुगिसक्दा पनि अक्सिजन प्लान्ट निर्माणको कामले गति लिएको छैन । सबै खाले उपचारमा आवश्यक पर्ने अक्सिजन कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि झनै तत्काल आवश्यक रहेको भन्दै गरिएको निर्णय कार्यान्वयनमा ढिलाइ भएको हो । लक्षणसहितका कोरोना संक्रमित भेटिन थालेपछि प्रदेश सरकारले सबै जिल्लामा अक्सिजन प्लान्ट बनाउने तयारी गरेको थियो । गएको साउनदेखि नै अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरे पनि कुनै पनि जिल्लामा उक्त कामले गति लिएको छैन । अक्सिजन प्लान्ट नहुँदा हुम्ला, जुम्लाबाहेकका जिल्लास्थित अस्पतालहरूले सिलिण्डरमा अक्सिजन खरिद गरेर उपचार गर्दै आएका छन् ।

अक्सिजन प्लान्टका लागि सामाजिक विकास मन्त्रालयले सबै जिल्लामा ४०र४० लाखका दरले बजेट पठाइसकेको छ । बजेट ढिलागरी निकासा हुँदा प्लान्ट निर्माणको काम सुस्त भएको जिल्ला अस्पतालहरूले जनाएका छन् । अहिले कर्णाली प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ठूलो क्षमताको अक्सिजन प्लान्ट छ । सल्यानमा अक्सिजन प्लान्ट नहुँदा भेन्टिलेटर सञ्चालनमा आएको छैन । सिलिण्डरले काम नगर्ने हुँदा भेन्टिलेटर सञ्चालनमा समस्या भएको हो । दैलेखमा पनि अक्सिजन प्लान्ट बनाइएको छैन । रुकुम–पश्चिममा प्लान्ट निर्माणको काम सुरू हुन सकेको छैन । अक्सिजन प्लान्ट निर्माणका लागि ठेकेदार कम्पनीसँग सम्झौताको काम भर्खर अघि बढेको छ । मुगु र कालीकोटमा प्लान्ट निर्माणको काम डेण्डर प्रक्रियामै छ ।

प्रदेशका बाँकी जिल्लामा ४० लिटर परमिटर क्षमताको अक्सिजन प्लान्ट बनाउने काम अघि बढाउने गरी मेशिन खरिदका लागि रकम पठाइएको छ तर काम अघि बढेको छैन । जसका कारण स्वास्थ्य उपचारमा अनेक सममस्या देखिएका छन् । प्रदेश अस्पतालमा एउटा मात्र अक्सिजन प्लान्ट छ । प्लान्ट एउटा मात्रै हुँदा अक्सिजन अभाव हुँदै आएको छ । कर्णाली प्रदेश अहिले पनि कोरोनाको उच्च जोखिममा छ । दैनिक कोरोना संक्रमित भेटिने क्रम जारी छ । पछिल्लो समय परीक्षण घटे पनि संक्रमितको दर भने घटेको छैन । लक्षणसहितका संक्रमितको संख्या बढ्दो छ । यस्तो समयमा पर्याप्त मात्रामा अक्सिजन प्लान्टकै व्यवस्थापन नहुनु सरकारी निकायको गैरजिम्मेवारीपन हो ।

प्रकाशित मितिः   ९ पुष २०७७, बिहीबार १३:४४