ट्राफिक नियम उल्लंघन बढ्दो

सवारी कारबाहीबाट सुर्खेतमा मात्र वार्षिक एक करोड राजस्व

सवारी कारबाहीबाट सुर्खेतमा मात्र वार्षिक एक करोड राजस्व


जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले चार आर्थिक वर्षमा सवारी कारबाहीबाट चार करोड राजस्व संकलन गरेको छ । जिल्लामा सवारी कारबाहीबाट प्रत्येक वर्ष एक करोड हाराहारीमा राजस्व संकलन हुने गरेको हो । दिन प्रतिदिन सवारी चाप बढेसँगै ट्राफिक नियमको बेवास्ता गर्नेहरू पनि बढेका छन् । प्रहरीले सवारी कारबाहीबाट वर्षेनी संकलन गर्ने राजस्वले सडकमा सवारी नियमको उल्लंघन बढ्दै गएको देखिएको हो ।
बढ्दो सवारी नियम उल्लंघनले सडक दुर्घटना समेत निम्तिने गरेको छ । सडकमा हुने अधिकांश दुर्घटना मानवीय कमजोरीका कारण हुने गरेका छन् । चार वर्षको यो अवधिमा सुर्खेतमा मात्रै दुई सय १३ सवारी दुर्घटनामा एक सय ४२ जनाले ज्यान गुमाएका छन् ।

चार वर्षको अवधिमा साना ठूला गरेर ७२ हजार तीन सय ६९ सवारीलाई कारबाही गरिएको छ । जसबाट चार करोड पाँच लाख १८ हजार तीन सय रूपैयाँ राजस्व संकलन भएको छ । विभिन्न समयमा ट्राफिक नियमको उल्लघंन गर्नेलाई कारबाही गर्दा उक्त राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मालवाहक, निजी र यात्रुवाहक सवारी साधन लगायतका साना र ठूला सवारी साधनलाई कारबाहीमा परेका हुन् । सडकमा लापरवाही तरिकाले सवारी चलाउने, लेन क्रस गर्नेलगायत ट्राफिक नियम उल्लंघन गर्ने चालक तथा सवारीलाई प्रहरीले कारबाही गर्ने गरेको छ ।

आर्थिक वर्ष २०७३/०७४ मा १५ हजार नौ सय ८५ सवारी साधनलाई कारबाही गर्दा ५० लाख ९५ हजार पाँच सय राजस्व संकलन भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख (प्रहरी निरीक्षक) उपेन्द्रप्रसाद आचार्यले नम्बर प्लेट नभएका, मादकपदार्थ सेवन गरेर सवारी चलाएका, नो पार्किङ्गमा सवारी रोकेका, हेल्मेट नलगाएका तथा क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई कारबाही गरिएको बताए । उनका अनुसार सवारी कागजात नवीकरण नगरेका र सवारी चालक अनुमति–पत्र नभएकालाई पनि कारबाही हुने गरेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७४/०७५ मा १४ हजार नौ सय ९४ सवारी साधनहरूलाई प्रहरीले कारबाही गरेको छ । उक्त कारबाहीबाट ८७ लाख ८९ हजार रूपैयाँ राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा २८ हजार तीन सय ५० सवारी साधनले जरिवाना स्वरूप एक करोड ६४ लाख ५८ हजार पाँच सय जरिवाना तिरेका छन् । ट्राफिक नियम मिच्ने ती सवारी र चालकबाट सो रकम राजस्व उठेको हो ।

यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा आठ हजार नौ सय ५९ सवारी साधन कारबाहीमा परे । जसबाट ७२ लाख ९३ हजार तीन सय राजस्व संकलन भयो । चालु आर्थिक वर्षको मंसिर ३० गतेसम्म चार हजार ८१ वटा सवारी साधनलाई कारबाही गरिएको छ । ट्राफिक नियम उल्लंघन गर्ने ती सवारीबाट २८ लाख ८२ हजार राजस्व संकलन भएको छ । ट्राफिक नियमको जानकारी हुँदाहुँदै पनि त्यसलाई नियतवश पालना नगर्दा सवारी दुर्घटनासमेत निम्तिने गरेको प्रहरी निरीक्षक आचार्य बताउँछन् । उनले राजस्व धेरै उठ्नुले ट्राफिक नियमको बढी उल्लघंन भएको देखाउने बताए । ‘प्रहरीको सक्रियताले पनि कारबाहीको संख्या बढेको हो,’ उनले भने, ‘सवारी चाप बढेसँगै सवारी नियम पालना नगर्नेहरू पनि बढिरहेका छन् ।’

कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकामा बढ्दो जनसंख्या र ट्राफिक नियमको उल्लंघनले दुर्घटनाको जोखिम उच्च छ । प्रहरी निरीक्षक आचार्य भन्छन्, ‘थाहा नभएर नियमको पालना नगर्नेले दोस्रो पटक सुधार गर्छ । जानाजान अटेर गर्नेहरूका कारण अधिकांश दुर्घटना हुने गरेका छन् ।’ उनले राजधानीमा ट्राफिक व्यवस्थापनको लागि विभिन्न समयमा सवारी चालक तथा पैदल यात्रीलाई सचेतनामूलक कार्यक्रम गरिँदै आएको बताए । ट्राफिक नियमको जानकारी र लामो दूरीको सडकमा छड्के चेकजाँच दैनिक हुने गरेको जनाए ।

घुस दिन खोजेको आरोपमा पक्राउ

डियूटीमा खटिएका ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६ जना सवारी चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले चेकजाँचका क्रममा चालकहरूले घुस रकम दिन खोजेको दाबी गरेको छ ।

नेपालगन्जबाट सुर्खेत आउने क्रममा रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिकाबाट ६ जनालाई पक्राउ गरिएको हो । उनीहरूले प्रहरीलाई घुस रकम दिन खाजेपछि पक्राउ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख ‐प्रहरी निरीक्षक) उपेन्द्रप्रसाद आचार्यले बताए ।

प्रहरीका अनुसार पक्राउ परेका ६ जनामध्ये चार जना ट्रक चालक हुन् भने दुई जना बसका सहचालक हुन् । सवारी साधनका कागजात चेक गर्न खोज्दा चालकहरूले घुस रकम दिन खोजेको प्रहरीको आरोप छ । प्रहरीलाई पैसाको प्रलोभन देखाउन खोज्ने चालकलाई पक्राउ गरिएको दाबी गरिएको छ  । पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   ९ पुष २०७७, बिहीबार १३:४६