१८ डेरी उद्योगलाई बिक्री–वितरणमा रोक
सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित अधिकांश डेरी उद्योग मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएको छ । डेरी उद्योगले मापदण्ड विपरीत दुग्धजन्य पदार्थको बिक्री– वितरण गरी जनस्वास्थ्यमाथि खेलावाड गरेका हुन् । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा वीरेन्द्रनगरमा सञ्चालित १८ वटा डेरी उद्योग मापदण्ड विपरीत सञ्चालन भएको पाइएको हो ।
वीरेन्द्रनगर बजार क्षेत्रमा मात्रै २६ वटाभन्दा बढी दुग्ध डेरी सञ्चालनमा छन् । जसमध्ये १८ वटा डेरीले दुग्ध पदार्थको स्वच्छतासम्बन्धी निर्देशिका पालना गरेका छैनन् । निर्देशिका अनुसार मापदण्ड पुरा नगरी सञ्चालन भइरहेका उद्योगलाई खुला दुध बिक्री वितरणमा रोक लगाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुुख भेषबहादुर थापाले बताए । उनले पछिल्लो समय ऐन, नियम तथा निर्देशिका कडाइ रूपमा पालना गराउँन अनुगमनलाई तीव्रता दिइएको जनाए ।
दुग्ध पदार्थको स्वच्छतासम्बन्धी निर्देशिका अनुसार डेरी उद्योगले खुला रूपमा दुध बिक्री वितरण गर्न पाउँदैनन् । यहाँका अधिकांश उद्योगले प्लाष्टिकमा रबरले बाँधेर दुध बिक्री गर्ने गरेका छन् । मापदण्ड पुरा गर्न लेबलिङ प्याकिङसहित मात्र दुध बिक्री–वितरण गर्न पाइने व्यवस्था छ ।
डेरी उद्योगहरूलाई पटक–पटक निर्देशिका अनुसार लेबलिङ प्याकिङ गरेर बिक्री– वितरणका लागि निर्देशन, चेतावनी र तालिम दिइए पनि अटेर गरी कार्यान्वयन नगरेकाले बिक्री वितरणमा नै रोक लगाइएको प्रमुख थापाले बताए । ‘यसअघि डेरी व्यवसायीलाई पटक–पटक सचेतसमेत गराएको थियो । उहाँहरूले अटेर गर्नुभयो,’ उनले भने ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकमा व्यवसायीहरूले गएको मंसिर २५ गतेसम्म मापदण्ड पुरा गर्ने प्रतिबद्धता समेत जनाएका थिए । तर मापदण्ड पुरा नभएपछि अहिले केही डेरी उद्योगको बिक्री–वितरणमा रोक लगाएको हो ।
सुर्खेतमा कति वटा डेरी उद्योगहरू छन् भन्ने एकिन नभए पनि सञ्चालनमा रहेका अधिकांशले भने मापदण्ड पुरा नगरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार निर्देशिकाले किसानदेखि डेरी व्यवसायीले के–के मापदण्ड पुरा गर्नुपर्छ भनेर उल्लेख गरेपनि पालना नभएको हो ।
यस्तै, दर्ताविनै चलेको एउटा वेकरी उद्योग शिल गरिएको छ । वीरेन्द्रनगर–३ मा रहेको पूजा वेकरी उद्योगले पटक–पटको निर्देशन अवज्ञा गरेपछि शिल गरिएको हो । उक्त उद्योग दर्ताविनै सञ्चालन गरिएको थियो । बिना लेवलका वस्तु उत्पादन गरी बिक्री–वितरण गरिरहेकोले उत्पादनमा रोक लगाइ उद्योग नै शिल गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।
प्रकाशित मितिः ७ पुष २०७७, मंगलवार ११:२२
साझा बिसौनी ।