२५ जनामा संक्रमण

कर्णाली प्रदेशमा २५ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार शुक्रवार सो संख्यामा कोराना संक्रमित भेटिएका हुन् ।

सुर्खेतका आठ, डोल्पाका ६, सल्यानका चार, जाजरकोट र कालीकोटका दुई/दुई जना र अन्य प्रदेशका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार एक सय ६८ पुगेको छ ।

यस्तै, प्रदेशमा थप १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले योसँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ हजार सात सय २५ पुगेको बताए । अहिलेसम्म प्रदेशमा ९४ हजार आठ सय चार जनाको कोरोना परीक्षण गरिएको छ ।

यसैबीच, नेपालमा थप सात सय ८२ जनालाई कोरोना संक्रमण देखिएको छ । योसहित देशभर संक्रमितको संख्या दुई लाख ५२ हजार चार सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रवार एक हजार २९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या दुई लाख ४१ हजार तीन सय ९२ पुगेको छ ।

प्रकाशित मितिः   ४ पुष २०७७, शनिबार ०९:१६