‘न्याय दिलाउने पक्ष नै स्पष्ट हुनुपर्छ’
पीडितलाई न्याय दिनका लागि न्यायिक समिति र मेलमिलापकर्ता स्पष्ट हुनुपर्ने सरोकारवालाले बताएका छन् । बुधवार वीरेन्द्रनगरमा भएको एक कार्यक्रमका सहभागीले पीडितलाई दबाब दिने र पीडकलाई प्रोत्साहन हुने गरी कुनै काम गर्नु नहुने बताएका हुन् ।
न्याय दिलाउने सवालमा न्यायिक समिति र मेलमिलापकर्ता नै पहिले स्पष्ट हुनुपर्ने वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बताइन् । नगरको न्यायिक समितिकी संयोजकसमेत रहेकी ढकालले मेलमिलाप गर्दा सकेसम्म दुवै पक्षलाई जित–जितको महशुस हुनेगरी काम गर्नुपर्ने औल्याइन् । कोही रिसाउँछ की भनेर काम गर्न छाड्ने हो भने पीडितले कहिल्यै न्याय नपाउने ढकालले बताइन् । उनले भनिन् ‘पीडितलाई दबाब दिने र पीडकलाई प्रोत्साहन हुने गरी कुनै काम गर्नुहुँदैन ।’ कानुनमा स्पष्ट उल्लेख भएअनुसार विवादको समाधान गरिनुपर्ने उनको भनाइ थियो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले आयोजना गरेको उक्त न्यायिक समितिका सदस्य तथा मेलमिलाकर्ताहरूसँगको सिकाइ आदान–प्रदान कार्यक्रममा बोल्दै मेलमिलापकर्ता खगिसरा वलीले मेलमिलापका क्रममा कुनै पनि विभेद नगरी दुवै पक्षको जित–जितको अवस्था गराउने गरेको बताइन् । उनले मेलमिलापका सबै प्रक्रिया पूरा गरेरै काम गर्ने गरेको अनुभव सुनाइन् । ‘हामीहरूले हिंसा पीडितलाई रोजगारीमा समेत जोडेका छौँ,’ वलीले भनिन्, ‘उनीहरूलाई आवश्यक पर्ने कानुनी सहायताका साथै आर्थिक सहयोग समेत भइरहेको छ ।’
मेलमिलापकर्ता लक्ष्मी शर्माले समेत न्यायमा पहुँच नभएकालाई निःशुल्क कानुनी परामर्श दिइएको जनाइन् । आर्थिक सहयोगका क्रममा भने पीडितहरू धेरै हुँदा छनोट प्रक्रियामा चुनौती हुने गरेको उनले बताइन् । युएसएआइडीको सहयोगमा सञ्चालित उक्त कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका न्यायिक समिति सदस्य तथा मेलमिलापकर्ताहरूको सहभागिता रहेको थियो ।
प्रकाशित मितिः २ पुष २०७७, बिहीबार ०८:४३
साझा बिसौनी ।