विद्यालयमा फैलियो कोरोना
शिक्षकलाई संक्रमण, पठनपाठन बन्द
शिक्षकलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिन थालेपछि विद्यालयहरू धमाधम बन्द भएका छन् । विद्यालयमा संक्रमणको जोखिम बढेपछि लामो समयपछि भौतिक उपस्थितिमै पठनपाठन सुरू गरेका विद्यालय पुनः बन्द भएका हुन् । जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले आइतवार मात्रै चार वटा विद्यालयमा शिक्षकलाई कोरोना संक्रमण देखिएको पुष्टि गरे । पञ्चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिका र वीरेन्द्रनगर नगरपालिकामा गरी १७ जना शिक्षकलाई संक्रमण देखिएको उनले बताए ।
पञ्चपुरी नगरपालिकामा रहेको सूर्यप्रकाश माध्यमिक विद्यालय पलैँटेका १० जना शिक्षक र विद्याज्योति माध्यमिक विद्यालका चार जना शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण समुदाय र विद्यार्थीमा सर्न सक्ने भन्दै केही समयका लागि विद्यालय बन्द गरेको बताएका छन् । सूर्यप्रकाश मावि पलैंटेका निमित्त प्रधानाध्यापक यामबहादुर बिसीले शिक्षकमा संक्रमण देखिए केही दिनका लागि पठनपाठन बन्द गरिएको जनाए ।
यस्तै गुर्भाकोट नगरपालिकाको नेरा माध्यमिक विद्यालय ज्यामिरेमा दुई जना शिक्षकलाई कोरोना संक्रमण देखिएको छ । विद्यालय निरीक्षक पदमबहादुर विकले शिक्षक नै संक्रमित भएपछि विद्यालयहरू बन्द गरिएको बताए । सबै विद्यार्थी र शिक्षक कर्मचारीहरूको परीक्षण गर्न सम्भव नहुने भएकाले सुरक्षित भएर होम क्वारेन्टाइनमा बस्न र केही अप्ठेरो परेको खण्डमा विद्यालयमा सम्पर्क गर्न भनिएको उनले बताए । यसअघि पनि गुर्भाकोटमा रहेको जनसेवा आधारभूत विद्यालयमा दुई जना शिक्षकलाई कोरोना संक्रमण देखिएको थियो ।
यस्तै, वीरेन्द्रनगरमा पनि एक जना शिक्षकमा कोरोना संक्रमण देखिएको छ । यसअघि नगरपालिकामा रहेका विभिन्न विद्यालयका तीन जना शिक्षकमा संक्रमण देखिएको नगरपालिकाका सूचना अधिकारी उत्तमप्रसाद आचार्यले बताए । संघीय सरकारले विद्यालय सञ्चालन गर्ने र बन्द गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । स्थानीय तहमा विद्यालय अधिकांश सञ्चालनमा आएका छन् । तर कोरोना संक्रमणको जोखिम रहिरहेकाले विद्यालयमै संक्रमित देखिने क्रम बढेको छ ।
यसैबीच, आइतवार प्रदेशमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतका १८, रुकुम–पश्चिमका आठ, दैलेख र सल्यानका ६÷६, कालीकोटका दुई र अन्य प्रदेशका चार जनामा संक्रमण देखिएको हो । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार एक सय ६ पुगेको छ । आइतवार २५ जना संक्रमणमुक्त भएका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ हजार ६ सय ३२ पुगेको छ । प्रदेशमा कोरोना संक्रमण देखिएका २१ जनाको मृत्यु भएको छ ।
प्रकाशित मितिः २९ मंसिर २०७७, सोमबार ०६:०२
साझा बिसौनी ।