पिपलबोट सहकारीद्धारा आठ करोड ऋण लगानी

सुर्खेत

वीरेन्द्रनगर–४ को पिपलबोट बचत तथा ऋण सहकारी संस्थाले झण्डै आठ करोड रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीले संस्थामा आवद्ध सदस्यहरूलाई सात करोड ८६ लाख ५९ हजार रुपैयाँ सहुलियत ब्याजमा ऋण परिचालन गरेको हो । कोरोना महामारीका कारण सावधानी अपनाउँदै साताब्यापी रुपमा १८औं वार्षिक साधारणसभा सम्पन्न गरेको सहकारीले सभामा ७० प्रतिशत सदस्यको सहभागितामा रहेको जनाएको छ । अल्पकालीन तथा दीर्घकालीन रणनीति अवलम्बन गर्दै आएको संस्थाले यस पटकको वार्षिक सभाबाट आगामी पाँच वर्षको व्यवसायिक रणनीतिक योजना निर्माण गर्ने निर्णय समेत गरेको छ ।

साधारणसभाको समापन कार्यक्रममा बोल्दै वीरेन्द्रनगर– ४ का वडा अध्यक्ष निलकण्ठ खनालले अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेका सहकारीहरूले प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताए । उनले सहकारी संस्थाहले अब डिजिटल माध्यमबाट कारोवार गर्न आवश्यक रहेको औंल्याएका हुन् । प्रविधिका माध्यमबाटै अन्तर सहकारी कारोबार सञ्चालन गर्न सके सदस्यहरूलाई बढीभन्दा बढी सुविधा प्रदान गर्न सकिने उनको भनाइ थियो । ‘एकबाट अर्को सहकारीमा रकम ट्रान्सफर गर्ने व्यवस्था गरी सदस्यलाई सहज र सर्वसुलभ सेवा प्रवाहको ब्यवस्था मिलाउनु पर्छ,’ समापन कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका खनालले भने ।

संस्थाले ७0 वर्ष उमेर पुगेका जेष्ठ शेयर सदस्यलाई मासिक दुई सयका दरले एक वर्षको जनही दुई हजार चार सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । सहकारीले जेष्ठ नागरिक सम्मान शिर्षकमा १४ जनालाई उक्त भत्ता वितरण गरेको हो । साधारणसभाका अवसरमा संस्थाको भवन निर्माण कार्यमा निःशुल्क प्राविधिक परामर्श दिने इन्जिनियरद्धय सागर लम्साल र छत्र बोहरालाई सम्मान पनि गरिएको छ ।

शेयर पूँजि एक करोड ४४ लाख रहेको संस्थामा हाल एक हजार सात सय ३५ जना शेयर सदस्य छन् । सहकारीको बचत र निक्षेप सात करोड ३२ लाख ४४ हजार रहेको छ । संस्थाका प्रबन्धक रमेश खनालले सहकारीको कुल सम्पत्ति ११ करोड तीन लाख ७१ हजार बराबर रहेको जानकारी दिए । साधारणसभामा संस्थाका अध्यक्ष टेकराज कोइरालाले प्रगति तथा प्रस्तावित नीति एवम् कार्यक्रम, कोषाध्यक्ष खेमराज रावतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मितिः   २८ मंसिर २०७७, आईतवार १३:२६