कोरोना बिमाको भुक्तानी पाउनै मुस्किल

बराहताल गाउँपालिका–८ दमारका एक युवकले असोज ७ गते कोरोना बिमा भुक्तानीका लागि बिमा कम्पनीमा कागजात बुझाए । संक्रमण भइहाले उपचार तथा चेकजाँचमा लाग्ने खर्च जुटाउन सहज हुने आशमा उनले राष्ट्रिय बिमा संस्थानमा कोरोना बिमा गरेका थिए । कोरोना पोजेटिभ भइ निको भइसकेका उनले भुक्तानी लिन लामो समयदेखि बारम्बार धाए पनि बिमावापतको रकम पाउन सकेका छैनन् ।

‘कोरोना चेकचाँज र उपचारमा थुप्रै रकम खर्च भयो । ऋण सापट गरेर तिरियो । आवश्यक पर्ने सबै कागजात कम्पनीमा बुझाएको छु । अहिलेसम्म भुक्तानी पाएको छैन,’ उनले भने । सुरूमा तत्काल भुक्तानी हुन्छ भनेको बिमा कम्पनीले अहिले गौतमलाई छिट्टै सम्भव छैन भन्ने गरेको छ ।

चौकुने गाउँपालिका–८ का एक दम्पत्तिले कोरोना बिमा गरेका थिए । उनीहरू दुवै संक्रमित भए । बिमा भुक्तानीका लागि बिमा कम्पनीमा कागजात पेश गरेको झण्डै दुई महिना भयो । बिमावापतको रकम पाएका छैनन् । उनीहरूले असोज २६ गते बिमा रकम भुक्तानीका लागि आवश्यक कागजात दिएको बताए । ‘अहिलेसम्म रकम पाइएको छैन । कम्पनीका कर्मचारीले एक साताभित्र खबर गर्छाैं भनेका थिए । खबर पनि गरेनन्,’ ती दम्पत्तिले भने । अहिले आगामी चैत महिना अघि बिमा रकम भुक्तानी हुन नसक्ने कम्पनीका कर्मचारीहरूले बताएको उनीहरूले सुनाए ।

मापदण्ड पुगेका बिमितले महिनौंसम्म पनि दाबी भुक्तानी नपाएको गुनासो गरेका छन् । बिमा रकम भुक्तानीमा सर्वसाधारणलाई मात्र नभइ कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खटिने कर्मचारीलाई पनि उत्तिकै सास्ती खेप्नु परेको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले कोरोना संक्रमण देखिएका सबै कर्मचारीले बिमा रकम नपाएको बताए । कार्यालयका चार जनामध्ये अहिलेसम्म एक जनाले मात्र रकम पाएको उनी बताउँछन् ।

देशभर विभिन्न २० वटा कम्पनीले कोरोना बिमा गर्दै आएका छन् । बिमा गरेका व्यक्तिलाई कोरोना संक्रमण देखिए कम्पनीले एक लाख रूपैयाँ भुक्तानी दिनुपर्ने व्यवस्था छ । कर्णालीमा कतिले कोरोना बिमा गरेका छन् भन्ने एकिन तथ्याङ्क नभए पनि बिमा गरेका अधिकांशले भुक्तानी भने पाएका छैनन् । कोरोना बिमा मापदण्ड २०७७ का अनुसार सबै कागजातसहित बिमा भुक्तानी दावी पेश गरेको सात दिनभित्र भुक्तानी दिनुपर्ने व्यवस्था छ । तर कम्पनीहरूले भुक्तानीका लागि कागजात पेश गरेको दुई महिनासम्म पनि भुक्तानी नदिएको पाइएकोे हो । सरकारले पटक–पटक समय नै तोकेर बिमा रकम भुक्तानी गर्न निर्देशन दिए पनि बिमा कम्पनीले अटेर गरिरहेका हुन् ।

सुरूमा कागजपत्र नपुगेर र पछि बिमा समितिमा धेरै फाइलहरू भएकाले बिमा समितिले स्वीकृत नगर्दा ढिलाइ हुन गएको कम्पनीहरूको भनाइ छ । भुक्तानीमा ढिलाइ हुँदा अधिकांशले बिमावापतको रकम पाउन नसकेका हुन् । बिमाको लागि सबै कम्पनीको नेतृत्व शिखर इन्स्योरेन्स कम्पनीले लिएको छ । बिमा भुक्तानीका लागि आवश्यक कागजात उक्त कम्पनीले संकलन गरेर राष्ट्रिय बिमा समितिमा पठाउने गरेको छ । कागजात हेरेर समितिले स्वीकृत गरेपछि मात्र भुक्तानी हुन्छ ।

शिखर इन्स्योरेन्स कम्पनी शाखा सुर्खेतका प्रमुुख नवराज ढुङ्गानाले सबैको कागजात राष्ट्रिय बिमा समितिमै पठाउने गरिएको र त्यहाँबाट स्वीकृत भएर आउँदा ढिला हुने गरेको बताए । स्वीकृत भएर आएका फाइलहरूको भुक्तानीको काम सम्बन्धित कम्पनीबाट भइरहेको उनले दाबी गरे । अहिलेसम्म सुर्खेत शाखाबाट ३० जनाभन्दा बढीको कोरोना बिमा रकम भुक्तानी गरिएको उनले जनाए । ‘बिमा दावी भुक्तानीका लागि बिमा समितिमा फाइल पु¥याएपछि त्यहाँबाट स्वीकृत पश्चात मात्रै बिमा पाउने हो । आवश्यक कागजात पुगे नपुगेको समितिले हेर्छ,’ उनले भने, ‘समितिबाट भुक्तानीका लागि स्वीकृत भएपछि भुक्तानी हुन्छ ।’

कोरोना बिमाको दाबी भुक्तानी तीन दिनभित्र गर्न अर्थ मन्त्रालयले गत साता बिमा समितिलाई निर्देशन दिइसकेको छ । सात दिनभित्र दाबी भुक्तानी गर्न यसअघि दिइएको निर्देशन पालना नभएपछि मन्त्रालयले अर्को निर्देशन गरेको छ । सात दिनभित्र दाबी भुक्तानी दिने निर्देशन पालना नभएको र धेरै संख्यामा दाबी भुक्तानी बाँकी रहेको भन्दै मन्त्रालयले कडाइ गरेको हो । सरकारको निर्देशनपछि पनि बिमितले दाबी भुक्तानी रकम सहज रूपमा पाउन सकेका छैनन् ।

प्रकाशित मितिः   २४ मंसिर २०७७, बुधबार ११:४८