बढ्दै पर्यटक, जुर्मुराउँदै पर्यटन

दुल्लू नगरपालिका–१३ दैलेखका गणेश शाही शनिवार दिउँसो बुलबुले पार्कमा भेटिए । शाही सुर्खेत झर्न बित्तिकै घुम्ने पहिलो गन्तव्य हो बुलबुले । यसपटक साथीहरूसँगै त्यहाँ पुगेका उनले भने, ‘आज साथीहरूसँग आएको छु । प्रायः एक्लै पनि आउँछु । बजारदेखि नजिकको स्थान भएकाले पनि वीरेन्द्रनगर आउनासाथ बुलबुले आउन मन लागिहाल्छ ।
कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । स्थानीय हुन वा केही दिनका लागि वीरेन्द्रनगर आउनेहरूको प्रमुख पर्यटकीय गन्तव्य बुलबुले नै हो । यहाँ आउने पर्यटक काँक्रेविहार घुम्न र देउतीबज्यै मन्दिर दर्शन गर्न पनि छुटाउँदैनन् । यी तीनवटै प्राकृतिक, धार्मिक र पुरातŒव क्षेत्रमा दैनिक पर्यटकको भीड लाग्ने गर्छ ।
वीरेन्द्रनगर बजारदेखि झण्डै ढाई÷तीन किलोमिटरको दूरीमा अवस्थित बुलबुले, काँक्रेविहार र देउतीबज्यै नगरकै प्रमुख पर्यटकीय क्षेत्र हुन् । बुलबुले ताल प्रदेशकै चर्चित पर्यटकीय स्थान हो । पछिल्लो समय उद्यानको विस्तार तथा भौतिक संरचनाको निर्माणले यो ताल थप आकर्षक बनेको छ । ‘हेर्न लायक बुलबुले बल्ल बनेछ,’ बुलबुले उद्यानमा एक वर्षपछि गएकी वीरेन्द्रनगर–८ की कल्पना पौडेलले भनिन्, ‘आजभोलि कोरोनाको उति डर पनि छैन । भिडभाड हुने भए पनि शनिवार मनाउन घुम्न आएकी हुँ ।’
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएपछि केही महिना सुस्ताएको यहाँको पर्यटन पुनः जुर्मुराउन थालेको छ । पहिले जसरी नै मानिसहरू पर्यटकीय क्षेत्रहरूमा भिड लाग्न थालेका हुन् । महाबु गाउँपालिका–२ दैलेखका टेकराज बडुवालको सुर्खेत झरेपछि घुम्ने ठाउँ बुलबुले, काँक्रेविहार र देउती बज्यै मन्दिर क्षेत्र नै हुन् । उनी पनि शनिवार सुर्खेतको आन्तरिक पर्यटकीय क्षेत्र काँक्रेविहार घुम्न निस्किए । ‘पहिलेभन्दा निकै भिड हुने रहेछ । कोरोना संक्रमणको जोखिम कायमै छ । स्वास्थ्य सावधानी भने कसैले नअपनाएको देखियो,’ उनले भने । भिडभाड हुने ठाउँमा नै कोरोना बिर्सेको जस्तो गरिँदा संक्रमणको जोखिम बढ्ने उनले बताए । आफू भने बिदाको दिन सदुपयोग गर्न स्वास्थ्य सुरक्षाका सावधानी अपनाएरै घुम्न निस्किएको बडुवाल बताउँछन् ।
मंसिर लागेयता नजिकका पर्यटकीय क्षेत्रमा घुम्न जानेको भिड निकै बढेको छ । वीरेन्द्रनगरका प्रमुख पर्यटकीय स्थानमा पहिलेभन्दा पर्यटकको संख्या निकै बढेको हो । लकडाउनका बेला सुनसान रहेका पर्यटकीय क्षेत्रमा पछिल्लो समय चहलपहल छ । सुर्खेतका प्रमुख पर्यटकीय क्षेत्रहरू बुलबुले, देउतीबज्यै, काँक्रेविहार र गोठीकाँडा लगायतका क्षेत्रमा आन्तरिक पर्यटकहरूको लर्को देख्न सकिन्छ । खासगरी बिदाको दिन यी स्थानमा आन्तरिक पर्यटकको अत्याधिक चाप रहन्छ । कोरोना संक्रमणको त्रासले बाह्य पर्यटक भने निकै कम आउने गरेका छन् ।
बुलबुले उद्यानमा आन्तरिक पर्यटकको भीड लाग्ने गरेको कर्मचारी डिल्ली न्यौपाने बताउँछन् । उनका अनुसार दैनिक झण्डै ६ सय जना बुलबुले पुग्छन् । शनिवार यो संख्या बढेर एक हजारसम्म पुग्ने गरेको उनले बताए । ‘बाहिरबाट घुम्न आउनेहरू अलि कम छन् । स्थानीय व्यक्तिहरू नै बढी आउँछन्,’ उनले भने । बुलबुले उद्यानमा प्रवेश गर्नलाई सामान्य शुल्क लिने गरिएको छ । नगरपालिकाको संरक्षणमा रहेको उद्यानमा जाने पर्यटकको रेकर्ड राख्ने, टिकट काट्ने र सरसफाइ तथा सुरक्षाका लागि कर्मचारी खटाइएको छ । बुलबुलेमा पिकनिक खान र नुहाउनका लागि पनि थुप्रै मानिसहरू जाने गरेका छन् ।
काँक्रेविहार संरक्षित क्षेत्र हेर्न दिनमा करिब तीन सयको हाराहारीमा पुग्ने गरेका छन् । त्यहाँ पनि आन्तरिक पर्यटकहरू नै बढी आउने गरेको कर्मचारी विष्णु कार्कीले बताए । यहाँ पनि बिदाको दिन पर्यटकको संख्या अन्य दिनको भन्दा दोब्बर हुने गर्छ । कोरोना जोखिमले बढी प्रभावित भएको क्षेत्रमध्ये पर्यटन पनि हो । झण्डै आठ महिना यस्ता क्षेत्र सुनसान मात्र भएनन् थुप्रैले रोजगारी समेत गुमाए ।

स्वास्थ्य सावधानी छैन
पर्यटकीय क्षेत्रमा भिडभाड बढेको छ । जहाँ स्वास्थ्य सावधानी भने अपनाइएको पाइँदैन । दैनिक सैयौं पर्यटक घुम्न जाने स्थानमा भिडभाडका कारण कोरोना संक्रमणको जोखिम भने उच्च छ । भौतिक दूरी, मास्क तथा सेनिटाइजरको प्रयोगविना पर्यटकहरू निर्बाध रूपमा घुमफिर गर्दा संक्रमणको जोखिम बढेको हो ।
सुर्खेत उपत्यका नगर विकास समितिका सदस्य सचिव तथा वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले पर्यटकीय क्षेत्रमा भिडभाड हुने खालका सामूहिक कार्यहरू रोकेको बताए । ‘व्यक्तिगत रूपमा सावधानी अपनाएर जान छुट गरिएको छ,’ उनले भने, ‘तर सामूहिक वनभोज र पिपलपानी हाल्ने कार्यका लागि भने निषेध छ ।’ उनले व्यक्तिगत रूपमा घुमफिर गर्न जानेलाई सावधानी अपनाउन आग्रह समेत गरे । ‘यस्ता स्थानमा जाँदा व्यक्ति आफैँले जोखिमको ख्याल राख्ने हो । सतर्कता अनाउने हो । हामीले जोखिम न्यूनीकरण गर्न सक्दो प्रयास गरेकै छौं’, उनले भने ।
प्रकाशित मितिः २१ मंसिर २०७७, आईतवार ०९:०६
साझा बिसौनी ।