फेरि हेलचक्य्राइँ
कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएको लामै समय बितिसकेको छ । तर यो महामारीबाट मुक्त हुने संकेत भने अझै देखिएको छैन । कहर कायमै छ । अहिले पनि विश्व समुदाय यसविरुद्ध लडिरहेको छ । कोरोनाको संक्रमणबाट जोगिने उपायको टुङ्गो लागिसकेको छैन । यद्यपि विश्वविज्ञान यसको खोजमा निरन्तर सक्रिय छ । केही खोपहरूको विकास गरिए पनि त्यसको पूर्ण प्रभावकारिता पुष्टि नभइसकेकाले प्रयोगमा अझै संशय रहेको छ । उपचार र खोप पत्ता नलागिसकेको वर्तमान परिस्थितिमा आवश्यक सतर्कता अपनाएर जोखिम न्यूनीकरण गर्नुको अर्को विकल्प छैन । तर पछिल्लो समय हामी जोखिम न्यूनीकरणतर्फ केन्द्रित हुन छोडेर हेलचक्य्राइँ गरिरहेका छौं । जोखिम बढाइरहेका छौं ।
कर्णाली प्रदेशमा पनि संक्रमण दर घटेको छैन । समुदायस्तरमा व्यापक बनेको कोरोना संक्रमण नियन्त्रणमा नआउँदै परीक्षणदर भने ह्वातै घटेको छ । यो सुखद् संकेत होइन । मंसिर महिना लागेयता दैनिक सरदर एक÷डेढ सय जनाले मात्र कोरोना परीक्षण गर्ने गरेका छन् । अहिलेसम्म प्रदेशमा ९३ हजार चार सय १२ जनाको पीसीआर परीक्षण भएको छ । त्यसमध्ये मंसिर महिनाका पछिल्लो १६ दिनमा जम्मा दुई हजार ६ सय ११ जनाको मात्र परीक्षण भएको हो । प्रदेशमा कोरोना संक्रमणको जोखिम उच्च रहे पनि सोहीअनुसार परीक्षणको दायरा बढाइएको छैन । परीक्षण न्यून हुँदा पनि संक्रमणको दर भने उस्तै छ । सुरुवाती चरणमा दैनिक करिब दुई हजार जनाले कोरोना परीक्षण गर्दै आएका थिए । गएको असारदेखि असोजसम्म परीक्षणको चापका कारण प्रदेशका चार स्थानमा रहेका पीसीआर ल्याबमा स्वाब थन्किने अवस्था थियो । अहिले भने मुस्किलले दुई सय जनाको दैनिक परीक्षण भइरहेको छ ।
नेपालमा कोरोना संक्रमित फेला परेको निकै समयपछि मात्रै कर्णालीमा संक्रमण पुष्टि भएको थियो । गत जेठ ५ गते पहिलो संक्रमण पुष्टि भयो । त्यसयता प्रदेशमा उच्च गतिमा संक्रमित थपिदै गए । पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार नौ सय नाघिसकेको छ । त्यसमध्ये ६ हजार तीन सय बढी निको भएका छन् । संक्रमणमुक्त हुनेको संख्या ठूलो भए पनि कोरोनाका कारण १९ जनाको ज्यान गएको छ । त्यसैले बेवास्ता गर्न सकिने अवस्था अहिले होइन । अझै सतर्कता जरुरी छ । तर परीक्षणको दर घटाइनुले सरकारी बेवास्ता देखिन्छ । यो किन पनि भने यसबीचमा सरकारले स्वयम् व्यक्तिले पैसा तिरेर कोराना परीक्षण र उपचार गर्ने भन्यो । त्यसको चौतर्फी आलोचना भएपछि परीक्षण र उपचार निःशुल्क गर्न सरकार बाध्य भयो । तर पनि परीक्षणदर भने बढ्नुको साटो घट्दै गएको छ । पछिल्लो समय लक्षण देखिएका व्यक्तिहरूको मात्रै निःशुल्क परीक्षण गर्ने गरिएको छ । कन्ट्याक्ट टे«सिङ समेत प्रभावकारी नहुँदा परीक्षणमा कमी आएको हो । जोखिम रहुञ्जेल कोरोना परीक्षणसहितको सतर्कता अपनाउन सरकार र नागरिक स्वयम् सचेत हुनैपर्दछ ।
प्रकाशित मितिः १८ मंसिर २०७७, बिहीबार १२:२९
साझा बिसौनी ।