विकराल आत्महत्या

महिनामा सरदर १८ घटना, तीन वर्षमा ६ सय ८१ ले ज्यान गुमाए

महिनामा सरदर १८ घटना, तीन वर्षमा ६ सय ८१ ले ज्यान गुमाए

कर्णाली प्रदेशमा आत्महत्याको स्थिति भयावह देखिएको छ । प्रदेशमा तीन वर्षको अवधिमा ६ सय ८१ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७५/०७६ देखि २०७७/०७८ को यो अवधिसम्म झुण्डिएर, विष सेवन गरेर तथा नदीमा हामफालेर यति ठूलो संख्याले जीवन नै त्याग गरेका हुन् । प्रहरीको तथ्याङ्क केलाउँदा कर्णालीमा वर्षमा सरदर दुई सय २७ जना र महिनामा १८ जनाले आत्महत्या गर्ने गरेको देखिएको हो ।

प्रदेशमा प्राकृतिक प्रकोप, सवारी दुर्घटनालगायतका भवितव्यमा परी ज्यान गुमाउनेको भन्दा आत्महत्याका कारण मृत्यु हुनेको संख्या धेरै छ । आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशका दश जिल्लामा दुई सय ५० जनाले आत्महत्या गरेका थिए । जसमा विष सेवन गरी सुर्खेतमा ३५, सल्यानमा १५, दैलेखमा दुई, रुकुम–पश्चिममा चार, जुम्लामा तीन, हुम्लामा एक, मुगुमा दुई र कालीकोटमा दुई जनाले आत्महत्याको बाटो रोजेका हुन् ।

त्यस्तै, सोही आर्थिक वर्षमा झुण्डिएर सुर्खेतमा ६३, दैलेखमा ३६, जाजरकोटमा ६, रुकुम–पश्चिममा २७, सल्यानमा ३५, जुम्लामा सात, मुगुमा चार र कालीकोटमा ६ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । त्यही वर्ष हामफालेर कालीकोटमा एक र पानीमा डुबेर रुकुम–पश्चिममा एक जनाले आत्महत्या गरेका थिए । उक्त वर्ष आत्महत्या गर्नेमा बढी पुरूष छन् । एक सय १६ पुरुष, ९९ महिला, १३ बालक र २२ जना बालिकाले आत्महत्या गरेका हुन् ।

आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशमा दुई सय ८६ जनाले आत्महत्या गरेका थिए । जसमा विष खाएर सुर्खेत र सल्यानमा १९/१९ जना, दैलेखमा सात, रुकुम–पश्चिम र कालीकोटमा तीन/तीन र जुम्लामा एक जनाले आत्महत्या रोजेका हुन् । त्यस्तै, झुण्डिएर सुर्खेतमा एक सय सात, सल्यानमा ४६, रुकुम–पश्चिममा २३, जुम्लामा नौ, दैलेखमा ३६, जाजरकोटमा पाँच, हुम्लामा दुई, कालीकोट र डोल्पामा एक/एक गरी दुई सय ३० जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ ।

सोही आर्थिक वर्षमा नदीमा हामफालेर जुम्लामा एक र हातहतियार प्रयोग गरी सुर्खेतमा दुई तथा जाजरकोटमा एक जनाले आत्महत्या गरे । उक्त वर्षमा पनि आत्महत्या गर्नेमा पुरुषकै संख्या बढी छ । एक सय ६६ पुरुष र ८७ महिलाले आत्महत्या गरेका थिए भने बालक १८ र बालिका १७ जना थिए ।

प्रहरीका अनुसार अधिकांशले झुण्डिएर आत्महत्या गर्ने गरेका छन् । चालु आर्थिक वर्ष २०७७÷/०७८ को मंसिर पहिलो सातासम्म प्रदेशका १० जिल्लामा एक सय ४५ जनाले आत्महत्या गरेका छन् । पुरुष ६१, महिला ५५, बालक १४ र बालिका १५ जनाले यो अवधिमा आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधव श्रेष्ठले आत्महत्या गर्ने थुप्रै कारणहरू भएको बताए । अधिकांश घटना आर्थिक अवस्था, कमजोर आत्मबल, घरेलुहिंसा लगायतका कारण घट्ने गरेको पाइएको उनी बताउँछन् । ‘कर्णालीमा लकडाउनको समयमा समेत आत्महत्या गर्नेको संख्या अत्याधिक देखियो,’ उनले भने, ‘यो बेला धेरैलाई मनोवैज्ञानिक असर परेकाले पनि घटना बढेको हुनसक्छ ।’

कर्णालीमा मात्र नभइ देशैभर आत्महत्याको दर उच्च छ । पछिल्ला वर्षहरूमा आत्महत्याका घटना बढ्दै गएका हुन् । आत्महत्या विगतदेखि नै जनस्वास्थ्यको ठूलो समस्या र चुनौतिका रूपमा देखा पर्दै आएको छ । नेपालमा आत्महत्या गर्नेको दर प्रत्येक वर्ष ८–१० प्रतिशतले वृद्धि हुँदै गइरहेको प्रहरीको तथ्याङ्क छ ।

आर्थिक अवस्थामा सुधार नआएको र सामाजिक असुरक्षाका कारण बढेको चरम निराशाले मानिसहरूले आत्महत्याको बाटो रोज्ने गरेको पाइएको छ । प्रेम सम्बन्धमा आएको जटिलता, जटिल रोगको उपचार गर्न नसक्दा, महŒवाकांक्षा पूरा नहुँदा, सामाजिक मूल्य–मान्यता विपरीतका काममा संलग्न भएका व्यक्तिले गोपनीयता भङ्ग हुने डरले आत्महत्या गर्ने गरेको देखिएको प्रहरीको भनाइ छ ।

आत्महत्या गर्नुको करिब ९० प्रतिशत कारण मानसिक समस्या नै भएको चिकित्सकहरूले बताउने गरेका छन् । त्यसमा पनि डिप्रेसन मुख्य कारण मानिन्छ । क्षणिक आवेगले निर्णय लिने क्षमता गुमाउँदा वा लागूपदार्थको सेवनजस्ता कारणले पनि आत्महत्याका घटना हुने गरेको प्रहरी अनुसन्धानबाट खुल्ने गरेको छ ।

१५ प्रतिशत बालबालिका

आत्महत्या गर्नेमा बालबालिकाको संख्या पनि अधिक छ । प्रदेशमा तीन आर्थिक वर्षमा भएका कुल आत्महत्याका घटनामा १५ प्रतिशत बालबालिका छन् । आत्महत्या गर्ने ६ सय ८१ जनामध्ये ९९ जना बालबालिका हुन् । आर्थिक २०७५/०७६ मा आत्महत्या गर्ने दुई सय ५० जनामध्ये ३५ जना बालबालिका थिए । पछिल्लो आर्थिक वर्ष २०७६/०७७ मा पनि ३५ जना बालबालिकाले आत्महत्या गरेका थिए । दुई सय ८६ घटनामा बालक १८ र बालिका १७ जनाले आत्महत्या गरेका हुन् । चालु आर्थिक वर्षको यो अवधिमा एक सय ४५ घटनामा १४ बालक र १५ जना बालिकाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ ।

प्रकाशित मितिः   १६ मंसिर २०७७, मंगलवार ०६:००