बसपार्क आजदेखि सञ्चालन

वीरेन्द्रनगरको बहुप्रतिक्षित सिटी बसपार्क आज (सोमवार) देखि सञ्चालनमा आउने भएको छ । निर्माण सम्पन्न भएको डेढ वर्षपछि बसपार्क प्रयोगमा ल्याउन लागिएको हो । २०६८ सालदेखि बसपार्क निर्माणको काम सुरू गरिएको थियो । निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि व्यवसायी र नगरपालिकाबीचको विवादका कारण सञ्चालन हुन सकेको थिएन ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुुख देवकुमार सुवेदीले आजदेखि बसपार्क सञ्चालनमा आउने जानकारी दिए । उनले सञ्चालनका लागि सबै तयारी पुरा भएको बताए । उनका अनुसार प्रशासन, यातायात व्यवसायी र नगरपालिकाको सर्वपक्षीय छलफलबाट बसपार्क सञ्चालन हुन लागेको हो ।

सात करोड ४४ लाख लागतमा निर्मित बसपार्कमा व्यापारिक प्रयोजनका लागि ५४ वटा सटर, ग्यारेज, टिकट काउण्टर, शौचालय, पार्किङ्गस्थललगायतका संरचना निर्माण गरिएको छ । बसपार्कमा साना–ठूला गरी एक सय १० वटासम्म बस अट्न सक्ने नगरपालिकाले जनाएको छ । बसपार्क सञ्चालनको जिम्मेवारी टेण्डर प्रक्रियामार्फत पीआर कन्स्ट्रक्सनलाई दिइएको छ ।

प्रकाशित मितिः   १५ मंसिर २०७७, सोमबार ०६:००