वर्षेनी जल्छन् बस्ती

गएको शनिवार बिहान कालीकोटको तिलागुफा नगरपालिका–४ राचुँली गाउँमा आगलागी भयो । तीन घर जलेर नष्ट भए । एउटा घरमा लागेको आगो अर्को घरमा सल्किँदा सँगै रहेका दुई घर जलेका हुन् । आगलागीले अन्य १८ घरमा क्षति पु¥यायो । १३ घरपरिवारका ४१ जना प्रभावित भए । उनीहरू अहिले खुला आकाशमुनी बसिरहेका छन् ।

खर र काठका फल्याकले छाएका घर भएकाले यो बस्तीमा आगलागीले बढी क्षति गरेको स्थानीयले बताएका छन् । कालीकोटकै पलाँता गाउँपालिका–१ को न्यौपाने बस्तीमा दुई वर्षअघि भएको आगलागीले सिङ्गो बस्तीनै जलेको थियो । त्यहाँ खरले छाएका ३० घर जलेका थिए । उक्त बस्तीमा पनि एउटा घरबाट आगो अरू घरमा सल्किँदै जाँदा ठूलो क्षति भएको थियो ।

यस्तै, गत असोजमा हुम्लाको सर्केगाड गाउँपालिका–७ को रोडीकोटमा आगलागी हुँदा एउटै बस्तीका ६ घर जले । अन्य नौ वटा घरमा पनि क्षति पुग्यो । बालबालिकाले मकै पोल्नलाई बालेको आगो खरले छाएको एउटा घरमा लागेपछि बस्ती नै आगलागीमा परेको हो । जुम्लामा केही दिन पहिले एउटा सामुुदायिक वन र एक घरमा आगलागी भएको थियो । चन्दननाथ नगरपालिका–१ महाताराबाडामा एउटा घरमा आगलागी हुँदा पाँच लाख ८७ हजार रूपैयाँ बराबरको धनमालको क्षति भएको छ । गएको मंगलवार मात्र चन्दननाथ नगरपालिकामा रहेको सिद्धि विनायक सामुदायिक वनमा आगलागी हुँदा डेढ हेक्टर वन सखाप भएको छ ।

कर्णालीमा बाढी पहिरो र चट्याङजस्ता प्राकृतिक विपद्ले मात्र नभइ खासगरी मानवीय कमजोरीले हुने आगलागीले समेत वर्षेनी ठूलो जनधनको क्षति हुने गरेको छ । आगलागीले बस्ती नै सखाप भएपछि नागरिकहरू घरबासविहीन हुने गरेका छन् । साविक कर्णालीका जिल्लाहरूमा अधिकांश बस्तीका घरहरू खरले छाएका र एकअर्कोसँग जोडिएर बनाइएका छन् । जसका कारण एउटा घरमा आगो लाग्ने बित्तिकै बस्तीमै ठूलो क्षति पुग्ने गरेको छ ।

कर्णाली प्रदेशमा आगलागीका कारण वर्षेनी ठूलो जनधनको क्षति हुँदै आएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार गएको पाँच वर्षयताको तथ्याङ्क हेर्दा यहाँ आगलागीका सात सय ९६ घटना भएका छन् । आगलागीमा परेर यस अवधिमा १८ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । यी घटनामा ४१ जना घाइते भएका छन् भने यस अवधिमा करिब एक अर्ब ७० करोड ३७ लाख बराबर धनमालको क्षति भएको छ ।

प्रदेश प्रहरीको तथ्याङ्क अनुसार प्रदेशमा आर्थिक वर्ष २०७३÷०७४ मा दुई सय २४ वटा आगलागीका घटना भएका थिए । आगलागीमा परेर चार जनाको मृत्युु र सात जना घाइते भएका हुन् । सोही वर्ष चार करोड ५० लाख ४४ हजार बराबरको सम्पत्ति जलेर नष्ट भएको थियो । आर्थिक वर्ष २०७४÷०७५ मा एक सय ९१ आगलागीका घटनामा पाँच जनाको मृत्यु भयो भने १२ जना घाइते भएका थिए । आठ करोड ६६ लाख ६४ हजार सात सय बराबरको धनमालको क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै, आर्थिक वर्ष २०७५÷०७६ मा एक सय ६० आगलागीका घटना भए । तीन जनाको मृत्युु भयो भने १० जना घाइते भए । चार करोड ६३ लाख ४२ हजार बराबरको भौतिक संरचनामा क्षति पुग्यो । २०७६÷०७७ मा दुई सय आठ आगलागीका घटनामा चार जनाको ज्यान गयो । ८९ पशुचौपाया मरे । आगलागीका कारण एक अर्ब ५१ करोड ५६ लाख ४८ हजार बराबरको सम्पत्ति क्षति भएको थियो ।

चालु आर्थिक वर्षको यो अवधिमा १३ वटा आगलागीका घटना भएका छन् । झण्डै एक करोड रूपैयाँ बराबरको धनमालमा क्षति पुगेको र तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुख्खायाम सुरू भएपछि पछिल्लो समय आगलागीका घटना बढेका छन् । आगलागीको अवस्था हेर्दा खाना पकाउँदा, बालबालिकाले जथाभावी आगो बाल्दा र चुरोट खाएर सामुदायिक वनहरूमा फाल्दा आगो लाग्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रदेश प्रहरी कार्यालयका सह–प्रवक्ता ‐एसपी) माधव श्रेष्ठले ग्रामीण भेगमा कमजोर संरचना, कच्ची घरहरू हुुँदा र भौगोलिक विकटताका कारण आगलागीले बढी क्षति गर्ने बताए । ‘खरले छाएका, काठले बनाएका कच्ची घरहरू छन् । आगो लाग्न बित्तिकै तत्काल नियन्त्रणमा लिन सम्भव हुँदैन । भौगोलिक विकटता र स्रोधसाधनको अभाव छ,’ उनी भन्छन्, ‘जसले गर्दा बस्ती नै जल्ने अवस्था छ ।’

खरका छाना हटाइएन

कर्णालीमा आगलागीबाट वर्षेनी ठूलो जनधनको क्षति हुन थालेपछि खरका छाना हटाएर बस्ती सुरक्षित बनाउने नीति तीनै तहका सरकारले लिए पनि प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन । खरका छाना हटाएर टिनका छाना लगाउने नीति सरकारको छ । कार्यान्वयनको अभावमा अधिकांश बस्ती असुरक्षित बनिरहेका छन् । सरकारको नीति तथा कार्यक्रम अधिकांश बस्तीमा नपुगेको हो । प्रदेश सरकारले पनि टिनका छाना लगाउने नीतिलाई कार्यान्वयन गर्न सकेको छैन । प्रदेशले अघिल्लो वर्ष यसका लागि केही बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा उक्त बजेट शीर्षक नै हटाइएको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले अघिल्लो वर्ष बजेट कार्यान्वयन नभएकाले यस वर्ष कुनै कार्यक्रम नराखिएको बताए ।

हुम्लाको सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायले खर र काठका फल्याकले छाएका घर हुने भएकाले आगलागीको जोखिम धेरै भएको बताउँछन् । ‘घर जोडिएका छन् । खाना पकाउने ठाउँ खुुला हुन्छ । आगोको सानो भिल्को खरमा पुग्यो भने बस्ती नैै सखाप हुन्छ,’ उनले भने । आगो लागिहाल्यो भने नियन्त्रणमा लिन समेत गाह्रो हुने उनी बताउँछन् । खरको छानो हटाउने पालिकाले नीति लिए पनि बजेट अभावमा कार्यान्वयन हुन नसकेको जनाए । आगलागी भएका घरको पुनर्निर्माणका लागि भने प्रदेश सरकारलाई भन्ने गरेको उनले बताए ।

कालीकोटको तिलागुफा नगरपालिका र दैलेखको नारायण नगरपालिकाले खरका छाना हटाएर टिनका छाना बनाइदिने काम भइरहेको बताएका छन् । केही बस्तीहरूमा सञ्चालित उक्त कार्यक्रमलाई पालिकाका सबै स्थानमा पु¥याइने जनाइएको छ ।

प्रकाशित मितिः   १५ मंसिर २०७७, सोमबार ०६:००