विद्यालयमा छैन सावधानी

वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ स्थित झुप्राखोलामा रहेको नवजीवन प्राथमिक विद्यालयमा ७० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा आउने विद्यार्थी कसैले पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन सावधानी अपनाउने गरेका छैनन् । लामो समय बन्द रहेका विद्यालयहरू सरकारले महामारीकाबीच पुनः सञ्चालन गर्न सम्बन्धित स्थानीय तहलाई जिम्मेवारी दिइएको छ । जोखिमको मूल्याङ्कन गरी पालिकाहरूले आफ्नो क्षेत्रका विद्यालय सञ्चालनमा ल्याएका छन् ।

सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरेर मात्र विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई भनेको छ । तर झुप्राखोलास्थित यस विद्यालयमा विद्यार्थीका लागि हात धुने व्यवस्थासमेत गरिएको छैन । यहाँका विद्यार्थीले मास्क, सेनिटाइजरको प्रयोग तथा भौतिक दूरी कायम गर्ने गरेका छैनन् । विद्यालयको साँघुरो प्राङ्गणमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरू झुम्मिएर खेल्छन् । विद्यार्थी मात्र नभइ शिक्षकले पनि सावधानी अपनाएको पाइँदैन ।

वीरेन्द्रनगर–६ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा यो शैक्षिक सत्रमा करिब ६ सय विद्यार्थी भर्ना भएका छन् । उनीहरूमध्ये अधिकांशले मास्कको प्रयोग गरे पनि भौतिक दूरी भने कायम गर्दैनन् । सबै विद्यार्थीहरू पहिलेकै जसरी खुल्ला रूपमा हिँड्छन् । कोरोना कहरकाबीच विद्यालयहरूले पठन–पाठन कार्य सुरू गरे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेको पाइँदैन । विद्यालयकै लापरबाहीले विद्यार्थीहरू संक्रमणको जोखिममा रहेको अभिभावकहरूले बताउने गरेका छन् । अभिभावक छविलाल वादीले नवजीवन प्राथमिक विद्यालयमा पढ्ने विद्यार्थी सिमान्तकृत समुदायका भएकाले स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गर्न सक्ने अवस्था पनि नभएको बताए । उनका अनुसार केही दिन पहिले वडा कार्यालयले विद्यार्थीलाई मास्क र सेनिटाइजर दिएको थियो । उक्त सामग्री सकिएपछि अहिले विद्यार्थीहरू खाली विद्यालय जाने गरेका हुन् । विद्यालयले समेत विद्यार्थीको स्वास्थ्यमा चासो नदिएकाले जोखिम अधिक रहेको उनी बताउँछन् ।

नवजीवन प्राथमिक विद्यालयका सहायक प्रधानाध्यापक निर्मला चपाईंले विद्यार्थीलाई सावधानी अपनाउन बारम्बार भन्ने गरिएको बताइन् । ‘हामीले वडाबाट उपलब्ध मास्क र सेनिटाइजर वितरण गरिसकेका छौँ,’ उनले भनिन्, ‘यस विषयमा विद्यालयभन्दा पनि अभिभावक र स्थानीय सरकार सचेत हुनुपर्छ ।’ त्यस्तै, नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक गणेशकुमार न्यौपानेले दसैंतिहारपछि अपेक्षाभन्दा बढी विद्यार्थी विद्यालय आएकोले व्यवस्थापन गर्न समस्या भएको जनाए । उनका अनुसार अब सिफ्टअनुसार अध्यापन गर्ने तयारी गरिएको छ । स्थानीय तहहरूले अनुगमन नगर्दा विद्यालयमा लापरबाही हुने गरेको अभिभावकहरूको गुनासो छ । हेलचक्य्राइँ गरिँदा महामारीकाबीच सञ्चालन भएका विद्यालयमा संक्रमण फैलने जोखिम उच्च रहेको उनीहरूको भनाइ छ ।

प्रकाशित मितिः   १५ मंसिर २०७७, सोमबार ०६:००