सार्वजनिक सेवाका सकस

सार्वजनिक सेवा सरकार एवम् नागरिकबीच सम्बन्ध स्थापित गर्ने माध्यम हो । आफ्ना नागरिकप्रति राज्यको दायित्व हो । यो सरकारको औचित्यता एवम् प्रशासनको महŒव झल्काउने सूचक हो । जनताले सरकारको मूल्याङ्कन सार्वजनिक संयन्त्रहरूबाट प्रदान हुने सेवाका आधारमा गर्ने गर्दछन् । त्यसैले नागरिकलाई खुशी पार्दै सरकारप्रति जनविश्वास आर्जन गराउने संयन्त्र नै सार्वजनिक सेवा हो । तर यसका सकारात्मक पक्षका साथसाथै नकारात्मक पक्षहरू पनि उत्तिकै हावी छन् । सेवामा रहेका सकारात्मक पक्षलाई अझ बढाउँदै नकारात्मक पक्षलाई सरकार, नागरिक समाज, जनता सबै मिलेर हटाउनु लाग्नुपर्ने देखिन्छ ।

नेपालको सार्वजनिक सेवा प्रवाहको प्रक्रियाप्रति नागरिकका अनेक गुनासा छन् । जबकी जनमुखी, जवाफदेही, पारदर्शी, वैधानिक, अनुमानयोग्य मात्र होइन समानता र समतामूलक हुनुपर्छ भन्ने मान्यता रहेको छ । यो निष्पक्ष, निर्भिक, वितरणमुखी र पुनःवितरणमुखी हुनुपर्छ । सार्वजनिक सेवाको साध्य भनेको सेवाग्राहीको सन्तुष्टीको स्तर हो । यसलाई प्रशासकमैत्री होइन सेवाग्राहीमैत्री बनाउनुपर्छ । तर सेवाका लागि सार्वजनिक निकायमा पुगेका नागरिकले सास्ती भोग्नुपर्ने बाध्यतात्मक अवस्था रहीआएको छ । यसमा सुधार आवश्यक छ ।

सरकारी सेवा सहज हुनुपर्दछ । झन्झटमुक्त हुनु नै नागरिकमैत्री हुनु हो । तर झन्झटिला प्रक्रियाका कारण सरकारी सेवा प्रभावकारी हुन सकेको छैन । नागरिकमैत्री हुन सकेको छैन । सार्वजनिक सेवा कति सुस्त छ भन्ने उदाहरणका लागि आम नागरिकले भोगेका समस्या हेरे पुग्छ । नागरिकता र लालपूर्जामा नाम फरक परेपछि त्यसलाई सच्याउन मालपोत कार्यालय पुगेको सेवाग्राही त्यही कामका लागि एक हप्ता धाउन बाध्य हुन्छ । जबकी मालपोत कार्यालयमा झुण्डाइएको नागरिक बडापत्रले भन्छ– संशोधनका लागि प्रक्रिया पुगेको हकमा सोही दिन काम सम्पन्न हुन्छ । तर सेवाग्राही भने एक दिनमै सकिने कामका लागि सात दिन कार्यालय धाउनु परिरहेको हुन्छ । सार्वजनिक सेवा प्रवाहको अर्को दुःखद् कुरा के छ भने पहुँचवालाहरूले सरकारी निकायबाट सहजै सेवा पाउँछन् । तर आम नागरिकले मात्रै सकस बेहोर्नुपरिरहेको हुन्छ । यो आम गुनासो हो । जग्गा नामसारीको काम लिएर मालपोत गएका सेवाग्राहीले उक्त काम सक्काउन एघारौँ दिन लागेको गुनासो गर्नुले पनि हाम्रो सार्वजनिक सेवा प्रवाहको स्तर प्रष्ट्याउँछ ।

हरेक सार्वजनिक निकायमा नागरिक बडापत्र राखिनुपर्दछ । कतिपय कार्यालयमा नागरिक बडापत्र समेत राखिएको छैन । यदि नागरिक बडापत्र राखेकै भए पनि नदेखिने स्थान र मेटिएको अवस्थामा छन् । बडापत्रमा उल्लेख भएअनुसार काम भइरहेको हुँदैन । अधिकांश सार्वजनिक कार्यालयहरूले सेवाग्राहीका काम नागरिक बडापत्रमा उल्लेख भए बमोजिम गर्दैनन् । सेवाग्राहीलाई पनि नागरिक बडापत्रको विषयमा जानकारी नहुँदा उनीहरूलाई झनै काम गराउन मुस्किल हुने गरेको छ । कर्मचारीहरूले नागरिक बडापत्रमा तोकिएभन्दा बढी समय लगाएर आफ्नो अनुकूलमा काम गर्ने गरेको पाइन्छ । यसले सार्वजनिक सेवाप्रति नागरिकको गुनासो बढ्दै गएको छ । सार्वजनिक सेवा सुधारका लागि झण्झटिला प्रक्रियालाई सहज बनाउँदै सेवा प्रवाह नागरिकमैत्री बनाउन जरुरी छ ।

प्रकाशित मितिः   १५ मंसिर २०७७, सोमबार ०६:००