स्थानीय तहलाई प्रदेशको साढे २२ करोड
स्थानीय तहमा सञ्चालित अधुरा आयोजना सम्पन्न गर्नका लागि कर्णाली प्रदेश सरकारले साढे २२ करोड रूपैयाँ दिने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले समपूरक र विशेष अनुदानबाट स्थानीय तहहरूमा सञ्चालित अधुरा आयोजनाहरूका लागि बजेट उपलब्ध गराउन लागेको हो । सरकारले विविध शीर्षकबाट २२ करोड ५७ लाख ८५ हजार रूपैयाँ सम्बन्धित स्थानीय तहहरूलाई हस्तान्तरण गर्ने भएको छ ।
बिहीवार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकका निर्णय शुक्रवार सार्वजनिक गरिएको हो । उक्त बैठकले अन्य नौ वटा निर्णय समेत गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ल्याएको सुरक्षा मापदण्ड २०७७, प्रदेशको सुरक्षा रणनीति २०७७ स्वीकृति प्रदान गर्ने र शान्ति, अध्ययन तथा घाइते अपाङ्ग पुनस्र्थापना केन्द्र स्थापना सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।
सल्यानको कुमाख गाउँपालिका र दैलेखको भगवतीमाई गाउँपालिकाको वडा संख्या र सीमाना हेरफेर सम्बन्धमा नेपाल सरकार समक्ष स्वीकृतीका लागि पठाउने निर्णयसमेत बैठकले गरेको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन् ।
प्रकाशित मितिः १३ मंसिर २०७७, शनिबार ०६:०२
साझा बिसौनी ।