स्कुल नगइ सिकाइको विकल्पै छैन
सरकारले वैकल्पिक शिक्षण सिकाइलाई प्रोत्साहन गरिरहेका बेला कर्णाली प्रदेशमा भने २७ प्रतिशत बालबालिका कुनै पनि सञ्चार साधनको पहुँचमा नभएको पाइएको छ । कोरोना महामारीका कारण भौतिक उपस्थितिमा पठनपाठन गरिँदा संक्रमणको जोखिम हुने भन्दै झण्डै नौ महिना विद्यालयहरू बन्द गरिएका थिए । उक्त अवधिमा कर्णालीका ठूलो संख्यामा बालबालिकाहरू रेडियो, टेलिभिजन, पत्रपत्रिका र इन्टरनेटको पहुँच बाहिर रहेको खुलेको हो ।
प्रदेशमा प्रारम्भिक बाल विकास उमेर समूहका र कक्षा एकदेखि पाँचसम्मका गरी तीन लाख ३६ हजार ६ सय ९० बालबालिका छन् । तीमध्ये बाल विकास उमेर समूहका बालबालिकाको संख्या ५८ हजार एक सय ५८ छ भने दुई लाख ७८ हजार पाँच सय ३२ जना बालबालिका कक्षा एकदेखि पाँचसम्मका छन् । जसमध्ये ९० हजार एक सय ८८ बालबालिका कुनै पनि सञ्चार माध्यमको पहुँचमा छैनन् ।
सामाजिक विकास मन्त्रालयको नेतृत्वमा शिक्षासँग सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि सम्मिलित शिक्षा समूह कर्णाली प्रदेशले गरेको सर्वेक्षणबाट यस्तो तथ्य खुलेको हो । शिक्षा समूहका सह–संयोजक एवम् सेभ द चिल्ड्रेनका शिक्षा व्यवस्थापक आत्मराम भट्टराईका अनुसार जाजरकोटमा धेरै बालबालिका सञ्चारको पहुँच बाहिर छन् । जाजरकोटमा रेडियो, टेलिभिजन र इन्टरनेटको पहुँचमा नभएका बालबालिकाको संख्या ३१ हजार सात सय ३५ रहेको छ ।
यस्तै, कालीकोटमा १७ हजार चार सय ८९, सल्यानमा चार हजार सात सय ७७, जुम्लामा एक हजार एक सय ६३ र डोल्पामा नौ हजार पाँच सय ८१ बालबालिका सञ्चार माध्यमको प्रयोगबाट वञ्चित छन् । दैलेखमा चार हजार छ सय ८४, रुकुम–पश्चिममा सात हजार आठ सय ८७, मुगुमा १० हजार नौ सय ७५, सुर्खेतमा एक हजार चार सय ४७ र हुम्लामा चार सय ५० जना बालबालिकाले सञ्चारमाध्यमको प्रयोग गर्न नपाएका हुन् । कुनै पनि सञ्चार साधन नभएकाले यी बालबालिकाको सिकाइ प्रभावित भएको शिक्षा समूहले जनाएको छ ।
सञ्चार साधनको पहुँचमा नभएका बालबालिका कोरोनाका कारण लामो समय विद्यालय बन्द रहँदा बढी प्रभावित भएका छन् । यो अवधिमा सञ्चारको पहुँचमा भएका विद्यार्थीलाई रेडियो, टेलिभिजन र अनलाइनजस्ता वैकल्पिक माध्यमबाट सिकाइमा सहजीकरण गरिएको थियो । तर, पहुँचमा नभएका विद्यार्थी भने उक्त सुविधा लिनबाट वञ्चित भएका थिए ।
सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रशासन तथा योजना अनुगमन महाशाखाका प्रमुख विष्णुप्रसाद अधिकारीले केही विद्यार्थीहरूलाई घरमै आधारित शिक्षण सिकाइका सामग्री उपलब्ध गराइएको बताए । स्थानीय तह, शिक्षासँग सम्बन्धित संघ–संस्थाले सिकाइका साधन वितरण गरेको उनले जनाए । प्रदेश सरकारले १० करोड रूपैयाँ कोरोना शिक्षा विशेष कार्यक्रमका लागि खर्चिएको उनले बताए ।
मंसिरदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय खोल्न थालिएको छ । विद्यार्थीलाई भौतिक रूपमै विद्यालयमा उपस्थित गराएर पठनपाठन गर्न थालिएको हो । यद्यपि सबै विद्यालयमा भने पठनपाठन अझै पनि सुरू हुन सकिरहेको छैन । कोरोनाका कारण देशभरका शैक्षिक संस्था बन्द हुँदा वैकल्पिक सिकाइका लागि अनलाइन तथा भर्चूअल कक्षामा चासो बढेको थियो । विद्यालयहरूमा पठनपाठन ठप्प भएपछि अनलाइनलगायतका वैकल्पिक सिकाइमा कर्णालीका धेरै विद्यार्थी सहभागी हुन पाएका थिएनन् । इन्टरनेट, रेडियो, टेलिभिजनको पहुँचमा नभएका विद्यार्थीहरूलाई घरमै अभिभावकको सहयोगमा पढ्ने सामग्री उपलब्ध गराउने गरिए पनि ती साधनसमेत सबैको पहुँचमा पुगेका थिएनन् । सञ्चार माध्यमको पहुँचमा नभएका ५७ हजार चार जना बालबालिकालाई घरमै आधारित सिकाइ सामग्री वितरण गरिएको सरकारी अधिकारीहरूको दाबी छ ।
१८ प्रतिशत विद्यालयमा मात्रै इन्टरनेट
सरकारले सूचना प्रविधिमा आधारित शिक्षा दिने भनिरहँदा पनि कर्णालीका अधिकांश विद्यालयमै इन्टरनेट र सञ्चारको पहुँच पुगेको छैन । शिक्षा समूहले यसअघि गरेको सर्वेक्षणमा प्रदेशका १८ प्रतिशत सामुदायिक विद्यालय मात्र इन्टरनेटको पहुँचमा रहेको पाइएको थियो । यहाँका कुल सामुदायिक विद्यालयमध्ये १८ दशमलव ४० प्रतिशत विद्यालयमा इन्टरनेटको सुुविधा पुगेको छ । सर्वेक्षणमा समूहले प्रदेशका दुई हजार नौ सय ४२ विद्यालयको अध्ययन गरेको थियो ।
शिक्षा समूहका अनुसार यतिबेला भने प्रदेशका अधिकांश विद्यालय पुनः सञ्चालनमा आएका छन् । डोल्पामा दुई वटा स्थानीय तहका सबै विद्यालय खुलेका छन् । एउटा स्थानीय तहमा भोलि ‐आइतवार) देखि विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ । जिल्लाका तीन वटा स्थानीय तहमा हिउँदे बिदा भइसकेको छ ।
यस्तै रुकुम–पश्चिममा तीन वटा विद्यालयबाहेक सबै विद्यालय खुलेका छन् । सल्यानमा एक स्थानीय तहमा मात्रै विद्यालय खुलेका छैनन् । शिक्षा समूहका सह–संयोजक भट्टराईका अनुसार दैलेखमा सबै विद्यालय सञ्चालनमा आएका छन् । जाजरकोटमा एक स्थानीय तहबाहेक सबै विद्यालय खुलेको उनले बताए । कालिकोटमा पनि अधिकांश विद्यालयले पठनपाठन सुरू गरेका छन् । जुम्लामा एक स्थानीय तहबाहेक सबै विद्यालय खुलिसकेका छन् । सुर्खेतमा पनि सबै विद्यालय सञ्चालनमा आइसकेको जनाइएको छ । मुगुमा भने विद्यालय खुलेका छैनन् । यहाँ विद्यालय सञ्चालनको तयारी भइरहेको बताइएको छ । त्यस्तै, हुम्लामा विद्यार्थीहरूमा कोरोना संक्रमण देखिएपछि सबै विद्यालय बन्द छन् ।
सरकारले विद्यालय पुनः संचालन सम्बन्धी कार्यढाँचा तयार गरेर विद्यालय सञ्चालन र बन्द गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएपछि अधिकांश विद्यालय खुलेका हुन् । अहिले भिडभाड नहुनेगरि जोर बिजोर, आलोपालो र सिफ्ट अनुसार कक्षा सञ्चालन भइरहेका छन् ।
प्रकाशित मितिः १३ मंसिर २०७७, शनिबार ०६:०१
साझा बिसौनी ।