सहकारीको आगामी बाटो

सहकारी मुलुकको अर्थतन्त्रको बलियो एक खम्बा हो । यसको आफ्नै मूल्य, मान्यता र सिद्धान्त छन् । स्थानीयस्तरमा छरिएर रहेको पूँजी र स्रोतलाई उपयोग गर्नु यसको आधारभूत मूल्य हो । जसमार्फत आफ्ना सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नयनको ध्येय राखिएको हुन्छ । सहकारी समुदायमा आधारित संस्था हो । यसको प्रत्यक्ष प्रभाव आम नागरिकसँग जोडिएको हुन्छ । आर्थिक कारोबारमार्फत आम्दानी र खर्चको हिसाब त हुन्छ नै नागरिकको जीवनस्तर सुधार सामुदायिक विकासमा पनि टेवा पु¥याइरहेको हुन्छ । त्यसैले पनि सहकारीलाई राज्यले विशेष रूपले हेर्ने गर्दछ ।

पछिल्लो समय मुलुकभर सहकारीको संख्या तीव्र गतिमा बढे । कार्यक्षेत्र पनि विस्तार भयो । सहकारीको पहुँच नपुगेको ठाउँ सायदै होला । तर संख्यात्मक वृद्धि सँगसँगै सहकारीको आयामलाई अझ बृहत् बनाउनुपर्ने बहस पनि चल्न थालेको छ । बचत र ऋणको कारोबारमा अल्झिएका सहकारी संस्थाहरूको उद्देश्य र लगानीको क्षेत्र बढाउनुपर्ने छलफल भइरहेका छन् । संख्या बढ्ने तर सम्बन्धित सहकारीकै संस्थागत विकास हुन नसकेका कैयौं उदाहरण पनि छन् । तिनले संस्थालाई आत्मनिर्भर बनाउन त सकेका छैनन् नै सहकारीको मूल्य र मान्यतालाई समेत आत्मसात् गर्न सकिरहेका छैनन् । यद्यपि सहकारी सिद्धान्त बमोजिम उदाहरणीय कार्य गरिरहेका सहकारी संस्थाको संख्या पनि कम छैन । यहीबीच पछिल्लो समय छरिएर रहेका सहकारी संस्थाहरू एकीकरण हुन थालेका छन् । कार्यक्षेत्र फराकिलो गराउन, पूँजी र सदस्यता वृद्धि गर्न तथा भरपर्दो सेवा प्रवाह गर्ने उद्देश्यले संस्थाहरू धमाधम मर्ज गर्न थालिएको हो । एकै प्रकृतिका, सानो पूँजी र थोरै सेयर सदस्य रहेका सहकारीको एकीकरणमा आकर्षण बढेको छ । सरकारले समेत सहकारी संस्थाहरूको एकीकरणलाई जोड दिएपछि सुर्खेतमा सहकारी एकीकरणको लहर चलेको छ ।

कर्णाली प्रदेशमा पनि सहकारी एकीकरणको अभियान चलिरहेको छ । सहकारी रजिस्ट्रारको कार्यालय कर्णाली प्रदेशका अनुसार पछिल्लो समय सुर्खेतका ११ वटा सहकारी मर्ज भएका छन् । संस्थालाई बलियो, सुदृढ र दिगो गराउन एकीकरण अभियान प्रभावकारी भएको सहकारी अभियन्ताहरूको दाबी छ । एकीकरणले पूँजी वृद्धि गरी सदस्यहरूलाई थप सुविधा प्रदान गर्न सकिने अवसर पनि रहेको छ । छरिएर रहेका सहकारी एक भएर दीर्घकालीन रूपमा संस्थालाई बलियो बनाउने उद्देश्यले थालिएको मर्ज अभियान सकारात्मक छ । संख्या मात्रै बढाउनेभन्दा पनि सहकारीको उद्देश्य र योगदान बढाउनेतर्फ ध्यान दिनुपर्ने समय आएको छ । आज पनि सहकारीलाई आम्दानी केन्द्रित मात्रै भएको आरोप लाग्ने गरेको छ । समृद्ध मुलुक निर्माणको उद्देश्यका साथ राज्य नै अघि बढिरहेको बेला सहकारीहरूले त्यसमा योगदान पु¥याउन उद्दत हुनुपर्ने देखिएको छ । बचत र ऋण प्रवाहलाई संकुचित गर्नु हुँदैन । यसलाई व्यापक बनाउँदै उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न सक्नुपर्दछ । यसले सहकारी संस्थाकै विकास, नागरिकको जीवनस्तर सुधार र समग्र मुलुककै अर्थतन्त्र बलियो पार्न पनि सघाउ पु¥याउन सक्दछ । त्यसैले साना र छरिएका सहकारीहरूबीचको एकीकरण अभियान सँगसँगै उत्पादनमूलक क्षेत्रमा लगानीको वातावरण विकास गर्नु उत्तिकै जरुरी भइसकेको छ ।

प्रकाशित मितिः   ८ मंसिर २०७७, सोमबार ०६:०१