सरकारबीच समन्वय अभाव

मुलुक संघीय संरचनामा गइ तीन तहका सरकार गठन भएको लामो समय बितिसक्दा पनि एकअर्कामा आवश्यक समन्वय हुन सकेको छैन । सरकारबीच बजेट निर्माण र कार्यान्वयनमा समन्वय नहुँदा विकास निमार्णलगायतका गतिविधि प्रभावित हुने गरेका छन् । दलित महिला केन्द्रले शनिवार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रमका सहभागिले यस्तो औंल्याएका हुन् ।

केन्द्रले प्रदेश र स्थानीय सरकारबीच लैङ्गिक एवम् समावेशी बजेट तर्जूमा, कार्यान्वयनका लागि समन्वय तथा सहकार्यको अवस्था विषयक जनप्रतिनिधिसँग छलफल गरेको थियो । प्रदेश र संघीय सरकारले बजेट निर्माण गर्दा स्थानीय तहसँग समन्वय र सहकार्य नै नगरेको स्थानीय तहका जनप्रतिनिधिहरूको आरोप छ ।

सल्यानको त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुुर डाँगीले बजेट तयार पार्दा र कार्यान्वयन गर्दा माथिल्लो तहका सरकारले स्थानीय तहसँग समन्वय नै नगर्ने गरेको बताए । उनले भने, ‘स्थानीय तहमा बस्ती स्तरबाट बजेट निर्माण हुने तर प्रदेश र संघले हामीसँग समन्वय नै नगर्दा समस्या भएको छ ।’

यस्तै, कालीकोटको नरहरीनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले तीन तहको सरकारबीच बजेट निर्माण र कार्यान्वयनको लागि संयन्त्रको अभाव रहेको औंल्याए । उनले ठोस संयन्त्र बनाउन आवश्यक रहेको सुझाए । ‘हामीले सात चरण पार गरेर बजेट निर्माण गर्छौँ । तर प्रदेश र संघीय सरकारले हामीसँग समन्वय नै नगरी बजेट निर्माण गर्छ । कार्यान्वयनमा समेत हामीसँग समन्वय गरिँदैन’, उनले भने । जसका कारण योजनामा दोहोरोपना हुने समस्या रहेको उनले जनाए ।

स्थानीय तहसँग समन्वय नहुँदा प्रदेश र संघका योजना अलपत्र पर्ने, सम्पन्न नहुँदै भुक्तानी गर्ने बेथिति रहेको पालिकाका जनप्रतिनिधिहरूले बताएका छन् । जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष शिवा बस्नेतले सहकार्य नहुँदा बजेट कार्यान्वयनमा चुनौति रहेको बताइन् ।

प्रकाशित मितिः   ७ मंसिर २०७७, आईतवार ०६:०३