गाइज

छुई छौ क्या ?

महेश नेपाली

‘ओइ आइते, सुन न । आज तँ, म र दिदी मात्र जुममा छलफल गरौं न । जरूरी बात छ’ रहिनाको फोन ।

‘किन र ? के त्यस्तो जरूरी प¥यो ?’ आइते प्रश्न गर्छ ।

‘भनेको मान न यार । तिमीहरूसँग कुरा गरेर पछि सबैलाई भन्छु क्या । मैले दिदीलाई जुम मिटिङको लागि रेडी हुन भनिसकेको छु । ल चाँडो गर है डियर ।’

‘ल ल फोन राख । जुम चला’ आइते प्राविधिक काम सुरु गर्छ ।

‘हेलो दिदी नमस्कार । के छ खबर ?’ आइते झुमाको खबर सोध्छ ।

‘हाइ आइते । ठीक छ मेरो । रहिनाले तिमीलाई पनि तताईछ है । ऊ आफै आउन ढिलो गरिरहेकी छ । जरुरी बात छ रे । खास कुरा के रहेछ ? तिमीलाई थाहा छ ?’

‘नाई मलाई पनि त्यसैरी भनेर कर गरेकी हो । खुल्दुली लागिरहेको छ । अब एक छिन कुरौं न । के रहेछ थाहा पाइहालिन्छ नी ।’

‘लौ धेरै पछि पो मुख देख्न पाइयो त । तिहारका चिल्ला रोटी खाएर अनुहार त क्या चिल्लो बनाइछस् हो आइते, सोल्टी । अनि दिदी । हजुरले त रोटी हाल्ने र खुवाउने मात्र गर्नुभयो क्या हो ? जीउ त ‘हाड माला, करङ र छाला’ मात्र देख्छु त । हेहे ।’ देख्नुभयो ? अनुहार देख्नेबित्तिकै उस्तै कमेन्ट ।

‘हेर न कति जानेकी कुरा गर्न । तिम्रो पनि देखियो नी जीउ लागेको त । तिमीलाई त यतै ल्याएर काममा जोताउनु पर्छ जस्तो छ । जीउ चाहीँ साइजमै आउँथ्यो होला है, आइते ?’

‘हो भन्या । अनि बल्ल यसको स्लिम हुने सपना पूरा हुने थियो । किस्मतमा के पो लेखेको छ ? हेरौं ।’

‘ओइ ठिस केटा । किस्मतको कुरा नगर है । म किस्मतमा विश्वास गर्दिनँ । जाने बुझेको एक, अनि बोली फरक नगर है । बरू सुन म सपनामा जुम्ला आएको कुरा । त्यही सुनाउनलाई हो तिमीहरूसँग मात्र बात मार्न खोजेको ।’

‘भनेपछि केटी जुम्ला आई । कसरी आइस् यार ? बिहे–सिहे पो गरिस कि क्या हो ? सुना न कस्तो आतुरी लागिसक्यो ।’

‘हो भन्या म त बिहे गरेर जुम्ला पुगिछु । कसरी पुगे त्यो त मलाई पनि थाहा भएन । तर मेरो बिहे भइसकेको थियो ।’

‘हो र ! क्या सक बनाइरहेकी छस् त ? भोजै नखाई तेरो बिहे ? सुना–सुना तेरो दुलाह को रहेछ ? अनि के–के गरिछस्, यता आएर ?’ आइते उत्सुक हुँदै जान्छ ।

‘भनेँ त । बिहे कसरी भएछ मलाई पनि पत्तो भएन । तर सपनामा मेरो बिहे भइसकेको थियो । म गृहणी भएर काम गरिरहेकी थिएँ । बिहान–बेलुका सार्वजनिक धारामा गएर पानी ल्याउने । दिउँसो कहिलेकाहीँ खोलाको धारामा गएर कपडा धुने यस्तै चलिरहेको थियो ।

मान्छे सब ठिकै थिए । आ–आफ्नो कर्म गरिरहेका थिए । धेरैलाई चालचलनबारे ज्ञान थिएन । उनीहरूको बुझाइ नै सबथोक थियो । असल र खराब बारेको चेतना गाउँमा पुगेको थिएन । खराब चालचलन पनि मज्जाले पचाएका थिए ।

मलाई यी सब देखेर रिस उठिरहेको हुन्थ्यो । तर म निरीह थिएँ । म केही बोल्न र गर्न सकिरहेकी थिइनँ । मलाई दिउँसै ऐठन परेजस्तो भइरहेको थियो । तनावबाहेक केही हात लागेको थिएन ।

आफ्नो पढाइ, बुझाइ र भोगेको व्यवहारमा नमिलेको तालमेल र गाउँको रितिथिति, चालचलन एउटै लागिरहेको थियो ।

मैले भाषा सिकिसकेकी थिएँ । मेरो लवजमा जुम्ली भाषाले फरक श्रृङ्गार पाएको थियो । एक हिसाबले भाषा रिमिक्स गीतजस्तो भएको लाग्थ्यो । तैपनि आफैलाई आनन्द लागिरहेको हुन्थ्यो ।

तर, जब म धारामा जान्थँे, त्यहाँ आउने हरेक महिलाको प्रश्न हरेक दिनजसो उस्तै हुन्थ्यो, ‘छुई छौ क्या ?’ कसैले छुई छु भन्दियो भने उनीहरू पानी नखाई गइहाल्थे ।

मैले कहिले पनि छुई बारिनँ । छुई भए–नभएको कसैलाई जानकारी दिन परेको पनि थिएन । न कसैको प्रश्नको उत्तर नै दिन प¥यो । तर धारामा हरेक दिन एउटै प्रश्न आउँदा अनौंठो लाग्यो ।

मैले कति महिलालाई सोधे पनि  । किन यस्तो भनेर । त्यसमा उनीहरूको रेडिमेड उत्तर थियो, चलिआएको चलन मान्नै पड्यो । देउता रिसाए भने सत्यानास हुन्छ ।

मलाई एकदम रिस उठेर आउँथ्यो । हामीले जन्माएका सन्तानले नै हो देउता मान्ने । देउता मान्ने सन्तान जन्माउन हामी छुई हुनुपर्छ । अनि किन रिसाउनु देउता ? यदि देउता छन् भने ल्याउनुहोस् सिधै बात मारौं, भन्थेँ । उनीहरू अटेर गर्थे । उल्टो मलाई नै अटेरी भन्थे ।

मेरो दिमागमा सधैँ यही प्रश्न गुञ्जिरहन्थ्यो । मेरो भाषाको रिमिक्स फ्लेवर जस्तै ।

त्यही भएर नै हो मैले कुरा गरौं भन्न खोजेको । अघिल्लो वर्ष छाउगोठ भत्किएको, देउताका धामी डाँग्रीले छुई मान्न छोडेको, महिलाहरू आत्मविश्वासी भएको लगायतका कुरा सुनिएका थिए । मेरो सपनामा यस्तो किन भयो मलाई अचम्म लाग्यो । के छुई प्रथा कायमै छ, गाउँघरमा ?’

‘कस्तो जेन्युन कुरा ग¥यौ रहिना । म खासै यस्ता कुरा ख्याल गर्दिनथें ।’

हो सरकारी अधिकारी र कागज पत्रमा छुई मान्ने चलन हटेको छ । एनजीओका डकुमेन्टहरू विदेशसम्म पुगेका छन् । गाउँघरमा कोही व्यवहारमा छुई मान्दैनन्, पनि । तर बहुसंख्यक महिलाको मनोविज्ञानमा देउता बसेका छन् । डर बसेको छ । धर्मले राज गरेको छ । विशेषगरी हिन्दु धर्मका अनुयायीहरूले अति गरेका छन् ।

केही सहरियाहरू पनि छुई नमानेको नाटक गरिरहेका छन् । तर, भान्सा र पानी छुन मानिरहेका छैनन् । पानी र भान्साले गरेको छ के ? यही विषयले चेतानको उज्यालो फैलाउन सकेको छैन । समस्या यहीनेर छ ।

पोहर सरकारी अभियानको बेला समाज सफा हुन खोजे पनि छुई प्रथाको मामलामा समाज फोहोरी बन्दै गाएको छ ।

रहिना, तिम्रो सपनाले क्या गज्जबको मुद्दा उठायो नी है । वास्तवमा सरकारले केही महिना गरेको कार्यक्रम सधैँभर गरिदिएको भए, न महिलाले दुःख पाउँथे न तिमीले सपनामै भएपनि ‘छुई छौ क्या’ प्रश्नको जवाफ दिनुपर्ने थियो ।’

‘ओहो ! जुम्ला गएपछि छुई बार्नु पर्छ होला भनी डराइसकिस् कि के हो ? हामीसँग सल्लाह लिन खोजेजस्तो गरि जुम मिटिङ आयोजना भयो त ?’ आइतेको जिज्ञासा मेटिएको छैन, सायद । त्यसैले जिस्कन खोजिरहेको छ ।

‘जुम्ला आउँला–नआउँला अलग कुरा हो । तर सिङ्गो देशले मानिरहेको छुई प्रथा अलग हो, प्रिय । बुझिराख यसले मन्द विष बनेर महिलाहरूलाई मारिरहेको छ । अझ पनि मार्ने दाउ कुरी बसेको छ । तिमीहरू केही गर न यार । यो त ज्यादती नै हो नी’ रहिना पट्किन्छे ।
‘ठीक छ । हामी सकेको गरौंला । तैले सहि समयमा कुरा उठाएकी छेस् । फेरि यो वर्ष कुनै महिलाले छुई गोठमा ज्यान गुमाउनु परेको खबर हामीले सुन्न नपरोस् ।

बरु भन, समय सकिन लाग्यो तेरो दुलाह चाहिँ को रहेछ ?’

‘हेहे तैँ होस् भनेर भन्दिन म ।’

प्रकाशित मितिः   ६ मंसिर २०७७, शनिबार ०६:०६