जोखिमलाई बेवास्ता

दिनदिनै कोरोना भाइरस (कोभिड–१९) का संक्रमितहरू फेला परिरहेका छन् । पछिल्लो समय त लक्षणसहितका संक्रमितहरूको संख्या पनि बढ्दो छ । आइसीयू र भेण्टिलेटरमा राखेर उपचार गर्नुपर्ने संक्रमितहरू पनि बढ्दै छन् । अर्थात कोरोनाको जोखिम अझ बढी छ । घटेको छैन । थप सतर्कता अपनाउनुपर्ने आवश्यकता छ । तर कर्णाली प्रदेशमा भने उपचारमा नै समस्या भएको छ ।

कर्णालीमा कोरोना संक्रमितको संख्या ६ हजार नाघिसकेको छ । गम्भीर लक्षणसहितका कतिपय संक्रमित अहिले पनि उपचाररत छन् । तर प्रदेशमा ‘प्लाज्मा थेरापी’ समेत सुरु गरिएको छैन । चिकित्सकहरूका अनुसार कन्भालेसेन्ट प्लाज्मा थेरापी एक प्रकारको ‘प्यासिभ एन्टीबडी थेरापी’ हो, प्यासिभ एन्टीबडी थेरापी भनेको एक व्यक्तिमा बनिसकेको एन्टीबडी अर्को व्यक्तिलाई दिनु हो । अरू रोगमा पनि तत्काल उपचार गर्ने क्रममा यो विधि अपनाइन्छ । निको भएका व्यक्तिबाट एन्टीबडी झिकेर आईसीयूमा बस्नुपर्ने र गम्भीर प्रकृतिका बिरामीलाई दिइन्छ । प्लाज्मा भनेको रगतको अंश हो । रगतमा रहेका सेता, राता रक्तकोष, प्लेटलेस छुट्याएर बाँकी रहेको चिप्लो तरल पदार्थमा रोगसँग लड्न सक्ने क्षमता हुन्छ । त्यसको प्रयोगबाट गरिने उपचार विधि प्लाज्मा थेरापी हो ।

त्यति मात्रै होइन कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको ‘रेमडीसिभिर’ नामक औषधि नहुँदा गम्भीर प्रकृतिका बिरामीहरूको उपचारमा चुनौती देखिएको छ । बजेट अभावका कारण प्लाज्मा थेरापी र औषधि खरिद गर्न नसकिएको प्रदेश अस्पतालले जनाएको छ । कर्णाली प्रदेश अस्पतालमै प्लाज्मा थेरापी विधिबाट उपचार सम्भव भए पनि सामग्री अभावमा उपचार विधि सुरू गर्न नसकिएको हो । बजेट अभावले गर्दा आवश्यक सामग्री खरिद हुन सकेको छैन । त्यसो त अस्प्तालले गत साउनदेखि नै प्रदेश सरकारसँग बजेट माग गरेको थियो । अहिलेसम्म सरकारले दिएको छैन । सरोकारवाला निकायको उदासीनता र हेलचक्य्राइँले गम्भीर संक्रमितको उपचारमा खेलाँची भएको हो । अस्पतालमा औषधि नहुँदा बिरामीले आफै किनेर ल्याउने गरेका छन् । सरकारले औषधि खरिदमा ढिलाइ गरेकाले बिरामी आफैले भारतबाट औषधि मगाएर उपचार गरिरहेका छन् ।

प्रदेश अस्पतालमा हाल १५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । त्यसमध्ये ६ जना गम्भीर प्रकृतिका बिरामी छन् । प्रदेशका अन्य जिल्लाबाट समेत गम्भीर प्रकृतिका बिरामी प्रदेश अस्पतालमा रिफर हुन्छन् । त्यस्ता संक्रमितलाई प्लाज्मा थेरापी र ‘रेमडीसिभिर’ नामको औषधि प्रयोग गर्ने गरिएको छ । तर यहाँ यो सुविधा नहुँदा बिरामीलाई बाहिर रिफर गर्नुपर्ने बाध्यता छ । विशेषज्ञहरूका अनुसार गम्भीर प्रकृतिका बिरामीलाई उल्लेखित पद्धतीमार्फत उपचार गर्न सकिएन भने बचाउन गाह्रो हुन्छ । प्रदेश सरकारसँग बजेट नै नभएको पनि होइन । तर बेवास्ता र हेलचक्य्राइँका कारण ढिलाइ भएको हो । प्रदेशमा कोरोनाको संक्रमण दर दैनिकजसो बढ्दो छ । यस्तो अवस्थामा आवश्यक सतर्कता अपनाइएन भने अवस्था भयावह हुनसक्दछ । त्यसैले सरकार समयमै सजग हुन अपरिहार्य छ ।

प्रकाशित मितिः   २४ कार्तिक २०७७, सोमबार ०६:००