पाँच सय बढी सक्रिय संक्रमित

कर्णालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढ्दो छ । शुक्रवारसम्म पाँच सय १५ जना सक्रिय संक्रमित रहेका छन् । शुक्रवार थप ७६ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेशभर हालसम्म संक्रमितको संख्या ६ हजार एक सय ३३ पुगेको छ ।

शुक्रवार कोरोना पुष्टि हुनेहरूमा सुर्खेतका ४०, जुम्लाका सात, दैलेखका ६, रुकुम–पश्चिमका तीन, कालीकोटका एक र अन्य प्रदेशका १९ जना रहेका छन् । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार संक्रमणमुक्त हुनेहरूको संख्या पाँच हजार चार सय ९३ पुगेको छ ।

महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले हालसम्म प्रदेशभर कोरोना संक्रमण भएका १६ जनाले ज्यान गुमाएको बताए । कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरूमा सुर्खेतका आठ, दैलेखका चार, डोल्पा, रुकुम–पश्चिम र कालीकोटका एक÷एक तथा अन्य प्रदेशका एक जना छन् । मृत्यु हुनेमा १० जना पुरुष र ६ जना महिला हुन् ।

यस्तै, देशभर थप दुई हजार नौ सय नौ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ८८ हजार आठ सय ८३ पुगेको छ भने सक्रिय संक्रमितको संख्या चार हजार नौ सय पाँच रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १५ लाख १७ हजार तीन सय ४३ जनामा कोरोना परीक्षण भएको छ । संक्रमणमुक्त हुनेको संख्या एक लाख ५२ हजार नौ सय आठ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः   २२ कार्तिक २०७७, शनिबार ०७:५९