चामल ढुवानीबारे अनुगमन गर्न समिति

प्रदेश सरकारले कणर्ालीका जिल्लाहरूमा चामल ढुवानीमा हुने अनियमितता अध्ययन गर्न अनुगमन समिति गठन गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बुधवार बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले पाँच सदस्यीय अनुगमन समिति बनाएको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यको अध्यक्षतामा समिति गठन गरेको छ ।

समितिमा नेपाल प्रहरीका प्रदेश प्रमुख, मुख्यमन्त्री कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका एक/एक जना प्रतिनिधि र सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सदस्य छन् । समितिलाई ढुवानी अनुदानको चामल अन्यत्रै बिक्री हुने गरेको घटना छानविनका साथै समग्र ढुवानी व्यवस्थाको अनुगमन गर्न जिम्मेवारी दिइएको सरकारकी प्रवक्ता एवम् कृषिमन्त्री विमला केसीले बताइन् । उनका अनुसार यो समितिले प्रदेशका सबै जिल्लाको खाद्यान्न ढुवानीबारे अनुगमन गरी रिपोर्ट दिनेछ ।

बैठकमा मुगु लैजानुपर्ने चामल भक्तपुर लगिँदै गरेको घटनाबारे पनि छलफल भएको सरकारका प्रवक्ता केसीले बताइन् । कार्तिक १३ गते भक्तपुर लैजाने क्रममा सुर्खेत प्रहरीले सुब्बाकुनाबाट दुई सय ५० क्वीन्टल चामल नियन्त्रणमा लिएपछि अनुदानको चामल ढुवानीमा हुने गरेको बद्मासी बाहिर आएको थियो ।

प्रकाशित मितिः   २० कार्तिक २०७७, बिहीबार ०६:००