सावधानीसहित विद्यालय सञ्चालन
कोरोना भाइरस (कोभिड-१९) को महामारीले सबै क्षेत्र प्रभावित बने । अहिले पनि प्रभावित नै छन् । संक्रमणको दर घटेको छैन । बरु परीक्षणको दर घटाइएको छ । अर्कोतर्फ मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । तथापि पछिल्लो समय विगतकोभन्दा सामान्य अवस्था छ । जनजीवन सहजता उन्मुख भएको छ । बन्द रहेका क्षेत्र खुल्दै गएका छन् । व्यापार व्यवसायले गति लिँदैछ । अन्य विकास निर्माणका गतिविधि बढ्दैछन् । यति हुँदाहुँदै पनि शैक्षिक संस्थाहरू सबैभन्दा बढी मारमा परेका छन् । अन्य सबै क्षेत्र सञ्चालनमा आइसक्दा पनि शैक्षिक संस्थाहरू भने पूणर् रूपमा सञ्चालन भइसकेका छैनन् । केही रूपमा भने गतिविधि बढ्न थालेका छन् ।
संक्रमण बढ्दै गएपछि झण्डै आठ महिनादेखि बन्द रहेका शैक्षिक संस्थाहरूका शैक्षिक गतिविधि विस्तारै सञ्चालनमा आउन थालेका छन् । कतिपय विद्यालय तथा क्याम्पसहरूले भर्चूअल माध्यमबाट पठनपाठन र परीक्षा सञ्चालन गरिरहेका छन् भने कुनै तहको परीक्षा भने भौतिक रूपमै उपस्थित भएर विद्यालयमै लिन थालिएको छ । लामो बन्दाबन्दी र त्यसपछि पनि देखिएको बढ्दो संक्रमणले सबै तहका शैक्षिक कार्यतालिका प्रभावित हुँदै आएका थिए । अहिले कक्षा ११ को वार्षिक परीक्षा विद्यालयमै उपस्थित भएर दिने व्यवस्था मिलाइएको छ । राष्ट्रिय परीक्षा बोर्डले परिस्थिति हेरेर विद्यालयले नै सञ्चालन गर्ने गरी जिम्मेवारी दिएपछि धमाधम परीक्षा सञ्चालन भइरहेका हुन् । स्वास्थ्य मापदण्ड अपनाउँदै विद्यार्थीलाई विद्यालयमै उपस्थित गराएर परीक्षा लिन थालिएको छ । कोरोनाका कारण रोकिएको कक्षा-११ को परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी सरकारले सम्बन्धित विद्यालयलाई नै दिएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर परीक्षा लिइरहेको विद्यालयहरूले बताएका छन् । कणर्ाली प्रदेशमा अधिकांश विद्यालयले सम्बन्धित स्थानीय तहको अनुमति तथा समन्वयमा परीक्षा लिन थालेका हुन् । केही विद्यालयहरूमा परीक्षा चलिरहेको छ भने कतिपयले सञ्चालनको तयारी गरेका छन् । सुस्त गतिमा भए पनि शैक्षिक गतिविधि अघि बढ्न थालेका छन् । तर चुनौती पनि उत्तिकै छ । जोखिम घटेको छैन । अर्कोतर्फ प्राविधिक समस्याहरूले पनि सताइरहेको अवस्था छ । हाल सञ्चालन भइरहेको ११ कक्षाको परीक्षा दिनबाट कतिपय विद्यार्थी वञ्चित भएका छन् । विद्यालय बन्द भएपछि घर फर्किएका दुर्गमका विद्यार्थी परीक्षामा उपस्थित हुन नसकेका हुन् ।
सामान्य अवस्थामा भएको भए अहिले विद्यार्थीहरू नयाँ शैक्षिक सत्रको आधाभन्दा बढी पढाइ सकिसकेका हुने थिए । तर अघिल्लै शैक्षिक सत्र नसकिँदै बन्द भएका शैक्षिक संस्था पूणर् रूपमा सञ्चालन नहुँदा पढ्नै पाएका छैनन् । वर्तमान संकटपूणर् समयमा सावधानी अपरिहार्य छ । सँगसँगै सावधानी अपनाएर गर्न सकिने कार्यहरू गर्नुपर्ने बाध्यता पनि छ । शैक्षिक संस्था धेरै समय बन्द राखीराख्न उपयुक्त पक्कै हुँदैन । त्यसैले अब सरकारले बनाएको मापदण्ड पालना गर्दै विद्यालयहरू सञ्चालन गर्नेतर्फ ध्यान दिनु जरुरी भइसकेको छ ।
प्रकाशित मितिः २० कार्तिक २०७७, बिहीबार ०६:००
साझा बिसौनी ।